आज:  २०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024 Search
FLASH NEWS

कावासोतीको केरुङ्गे खोलामा निर्माणधीन पुल अलपत्र पारेर ठेकेदार बेपत्ता

    प्रकाशित २०८० जेष्ठ १०, बुधबार (११ महिना अघि)


दयाराम आचार्य,नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती स्थित केरुङ्गे खोलामा निर्माणधीन पुल अलपत्र पारेर ठेकेदार सम्पर्क विहीन भएको छ । कावासोती नगरपालिका वडा नम्बर ३ र ४ लाई जोड्ने गरि केरुङ्गे खोलामा निर्माणाधीन पुल अलपत्र पारेर ठेकेदार सम्पर्क विहीन भएको हो ।

विसं. २०७७ साल असार सम्ममा पुल निर्माणको काम सम्पन्न गर्नुपर्नेमा यसै अलपत्र पारि ठेकेदार सम्पर्क विहीन भएपछि समस्या भएको कावासोती नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नारायणप्रसाद लोहनीले बताउनुभयो । पुल निर्माणको काम विसंस २०७५ सालमा सुरु भएको थियो ।

पुलको केही भाग निर्माण सकिएको छ । बिच खण्डमा ढलानका लागि तयारी गरिएको छ । तर वर्षा सुरु हुन लाग्दा समेत काम अघि नबढ्दा बिचको खण्ड फेरी बाढीले बगाउने वडा अध्यक्ष लोहनीले बताउनुभयो । आफूले समेत पटक पटक फोन गर्दा ठेकेदार सम्पर्कमा नआएको उहाँले बताउनुभयो । गत वर्ष समेत खोलाको बिचमा ढलानका लागि ठिक्क पारि राखेको अवस्थामा बाढीले बगाएको वडा अध्यक्ष लोहनीले बताउनुभयो । अहिले पनि यसै गरि राखिएकोमा ठेकेदारको काममा शंका उत्पन्न भएको उहाँले बताउनुभयो । ‘गत वर्ष समेत बाढीले केहि संरचना बगायो, अहिले पनि छ महिना अघि ढलानका तयारी गरेको थियो तर वर्षा लाग्न थाल्यो अझै काम भएन , अहिले पनि बगाउने भयो’ वडा अध्यक्ष लोहनीले भन्नुभयो ।

करिब १ सय ४० मिटर लम्बाइको पुल साढे १० करोडमा निर्माण सम्पन्न गर्ने गरि एडभेन्चर कन्स्ट्रक्सन कम्पनीले ठेक्का पाएको थियो । तर पटक पटक म्याद थप गर्दा समेत निर्माणको कामले पूर्णता पाउन सकेको छैन । पछिल्लो पटक विसं. २०८० असारसम्म पुल निर्माण गर्नेगरि म्याद थप भएको छ । सो कम्पनीका सञ्चालन कमल भट्ट अहिले सम्पर्कमा नआएको वडा अध्यक्ष लोहनीले बताउनुभयो ।

कावासोती नगरपालिका ३ र ४ लाई जोड्ने मात्रै नभएर हुप्सेकोट गाउँपालिकालाई सहज रुपमा सदरमुकाम कावासोती आउने सडक खण्डको पुल समेत भएकाले यसको निर्माणमा ढिलाई हुँदा जनताले धेरै सास्ती खेप्नु परेको वडा अध्यक्ष लोहनीले बताउनुभयो ।

निर्माणधीन पुल अलपत्र पारेर ठेकेदार बेपत्ता भएपछि कावासोती नगरपालिकाले जिल्ला प्रशासन कार्यालय नवलपुरलाई पत्राचार गरि ठेकेदारलाई झिकाई आवश्यक कारवाही र निर्माणको काम वर्षा अघिनै सम्पन्न गराउन पहल गरिदिन भनेको छ । नगरपालिका मेयर विष्णुप्रसाद भुसालले प्रशासनलाई पत्राचार गरि ठेकेदार झिकाई आवश्यक कारवाही र निर्माणको काम अघि बढाउनु आग्रह गर्नुभएको हो ।

पुल निर्माण अलपत्र पारी ठेकेदार सम्पर्क विहीन भएको विषयमा उठेको र आफूले यसका विषयमा समन्वय गरिरहेको नवलपुरका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले बताउनुभयो । बुधबार सडक डिभिजन कार्यालय भरतपुरसँग थप जानकारी लिने कार्यक्रम रहेको तत् पश्चात विषय बुझी आवश्यक कदम चाल्ने प्रजिअ लम्सालले बताउनुभयो ।

Write your Comment