आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024 Search
FLASH NEWS

बुटवल-वसन्तपुर केबलकार सञ्चालनको तयारीमा

    प्रकाशित २०८० जेष्ठ १०, बुधबार (११ महिना अघि)


पाल्पा । बुटवल र पाल्पाको तिनाउ गाउँपालिका वडा नं.३ मा पर्ने ऐतिहासिक तथा पुरातात्त्विक क्षेत्र वसन्तपुर जोड्ने लुम्बिनी केबलकार निर्माण सम्पन्न भई हाल प्राविधिक परीक्षण सुरु गरिएको छ ।यही जेठको १५ गतेदेखि नियमित सञ्चालन गर्ने लक्ष्यका साथ तयारी भइरहेको कम्पनीका आयोजना व्यवस्थापक गोकुल साउदले जानकारी दिए । उनका अनुसार वसन्तपुरमा निर्माण गरिएको कामाख्या देवी मन्दिरमा जेठ १२ गतेदेखि १८ सम्म महायज्ञ सञ्चालन गरिने भएको छ ।केबुलकारको आधार स्टेसन बुटवलको वडा नं. ३ बमघाटमा र माथिल्लो स्टेसन वसन्तपुरमा रहनेछ । केबलकारको लम्बाई २ दशमलव छ किलोमिटरको हुनेछ ।

केबलकारमा २५ वटा गोण्डुला रहनेछन् भने एउटा गोण्डुलामा एकैपटक आठ जनाले यात्रा गर्न सक्नेछन् । साथै प्रतिघण्टा अधिकतम छ सय यात्रुलाई सेवा दिन सकिने छ भने केबलकार पूर्ण क्षमतामा सञ्चालन हुँदा दैनिक पाँच हजार यात्रु आवतजावत गर्न सक्ने कम्पनीको भनाइ छ ।व्यवस्थापक साउदका अनुसार यस आयोजनामा करिब रु पाँच अर्ब लगानी भएको छ । जसमा केबलकार, क्यासिनोसहितको एक सय ५० कोठाको पाँच तारे होटल,कामाख्या देवीको मन्दिर, रेष्टुराँ तथा बार र पार्क निर्माण गरिनेछ ।

वसन्तपुरलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गरी भारतीय पर्यटक भित्र्याउने लक्ष्यसहित केवलकार निर्माण गरिएको हो । केवलकार सञ्चालनमा आएसँगै यस आसपासका क्षेत्रमा पर्यटन विकाससँगै आर्थिक गतिविधि चलायमान हुने उनको भनाइ छ । केवलकारको शिलन्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन १ गते गरेका थिए ।

Write your Comment