आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024 Search
FLASH NEWS

देवचुलीमा क्षमता अभिवृद्धि तथा नेतृत्व विकास तालिम सुरु

    प्रकाशित २०८० जेष्ठ ६, शनिबार (११ महिना अघि)


देवचुली। देवचुली नगरपालिकामा वनका उपभोक्ताहरुका लागि क्षमता अभिवृद्धि तथा नेतृत्व विकास तालिम सुरु भएको छ। देवचुली नगरपालिकामा रहेको एकता सामुदायिक वन उपभोक्ता समुहद्वारा आफ्ना उपभोक्ताका लागि शुक्रबारदेखि आइतबारसम्म ३ दिने तालिमको आयोजना गरिएको हो।


उपभोक्ताहरुको क्षमता अभिवृद्धि तथा नेतृत्व विकासका सीपहरु सिकाउनका तालिमको आयोजना गरिएको आयोजक सामुदायिक वन समुहका अध्यक्ष हुमाकान्त सुबेदीले बताउनुभयो । तालिममा वनको वार्षिक कार्ययोजना अनुसार तालिमको आयोजना गरिएको उहाँले बताउनुभयो । तिनदिनसम्म सामुदायिक वन परिचय ,वनका ऐन,नियम तथा कानुनहरु,सामुदायिक वनको विकासक्रम,सामुदायिक वनको परिचालन,नेतृत्व विकास,प्रभावकारी संचार तथा कार्यक्रम संचालन गर्न सक्ने सीप लगायत विषयमा सहजीकरण गरिने सुबेदीले बताउनुभयो ।

एकता सामुदायिक वनका अध्यक्ष हुमाकान्त सुबेदीको अध्यक्षतामा भएको तालिमको उदघाटन कार्यक्रममा देवचुली नगरपालिकाका प्रवक्ता तिलप्रसाद काफ्लेको प्रमुख आतिथ्यता रहेको थियो। त्यसै गरि कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ नवलपुर अध्यक्ष ठाकुरप्रसाद पाण्डे,फेकोफोन नवलपुर सचिव सीता भुसाल,देवचुली बुलिङटार सव डिभिजन सहायक वन अधिकृत वसन्त दाहाल ,फेकोफोन नवलपुर सदस्य कमलप्रसाद बाचे,स्थानीय महासंघ देवचुलीका अध्यक्ष कृष्णप्रसाद तिवारी,वनका सल्लाहकार खिमानन्द भुसाल,वनमा रहेका विभिन्न उपसमितिका संयोजक सदस्यहरू लगायत उपभोक्ताहरुको उपस्थिति रहेको थियो।


उदघाटन सत्रमा बोल्दै नगर प्रवक्ता तिलप्रसाद काफ्लेले नगरपालिकाले स्थानीय वन ऐन निर्माण गरि कार्यान्वयन गरेको बताउनुभयो । वन समुहले उपभोक्ताका हितमा हुने गरि काम गर्नुपर्ने र सो कार्यको प्रत्यक्ष फाइदा उपभोक्तालाई नै हुनुपर्ने कुरामा उहाँले जोड दिनुभयो । सामुदायिक वनको संरक्षण उपभोक्ता नै गर्नुपर्ने भएकाले वनको प्रयोग सँगै संरक्षणमा पनि ध्यान दिनुपर्ने देवचुली बुलिङटार सव डिभिजन कार्यलयका सहायक वन अधिकृत वसन्त दाहालले बताउनुभयो ।

तालिममा वनका सल्लाहकार खिमानन्द भुसाल,सामुदायिक वन उपभोक्ता महासंघ नवलपुर अध्यक्ष ठाकुरप्रसाद पाण्डे, खेमनारायण महतोलगायतले सहजीकरण गर्ने वनले जनाएको छ। सामुदायिक वनका उपाध्यक्ष यमप्रसाद भुसालले स्वागत मन्तव्य राख्नुभएको थियो भने वनका सचिव गीता सुबेदीले कार्यक्रम संचालन गर्नुभएको थियो । तालिममा ३० जना उपभोक्ता सहभागिता रहेको छ। एकता सामुदायिक वनमा देवचुली ११,१२ र १४ का उपभोक्ताहरु रहेका छन् ।

Write your Comment