आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024 Search
FLASH NEWS

नेपाल राष्ट्रिय अभिभावक संघद्वारा संघीय शिक्षा नियमावली जारी गर्न माग

    प्रकाशित २०८० जेष्ठ ५, शुक्रबार (११ महिना अघि)


पोखरा । नेपाल राष्ट्रिय अभिभावक संघले संघीय शिक्षा नियमावली जारी गरी शिक्षा क्षेत्रको अन्योललाई अन्त्य गर्न सरकारसँग माग गरेको छ । संघको गण्डकी प्रदेशको हालै सम्पन्न प्रथम प्रदेश सम्मेलनले ९ बुँदे घोषणापत्र जारी गर्दै संघीय शिक्षा ऐन जारी गर्न माग गरेको हो । मुलुकले संघीय शासन प्रणालीको अभ्यास गरेको पहिलो कार्यकाल पूरा गरी दोस्रो कार्यकाल सुरु भइसक्दा पनि संघीय शिक्षा ऐन जारी नभएको भन्दै शिक्षक अभिभावक लगायतका विभिन्न संघ संस्थाहरू आन्दोलित छन् ।

पोखरा घोषणापत्रमा देशभरिका सामुदायिक तथा संस्थागत विद्यालयहरूका व्यवस्थापन समितिमा वास्तविक अभिभावकको प्रतिनिधित्व गर्न सरकार र सम्बन्धित स्थानीय निकायहरूसँग माग गरिएको छ । संस्थागत विद्यालयहरूमा आफूखुसी विभिन्न शीर्षकमा शुल्क लिन बन्द गर्न तथा शिक्षा ऐनअनुसार घोषित १० प्रतिशत छात्रवृत्ति प्रदान गर्ने गराउने विषयमा पनि अभिभावक संघले स्थानीय, प्रदेश तथा सरकारसँग माग गरेको छ ।

त्यस्तै, नेपाल राष्ट्रिय अभिभावक संघको शनिबार पोखरामा सम्पन्न प्रथम राष्ट्रिय सम्मेलनले कलाधर भट्टको अध्यक्षतामा १९ सदस्य गण्डकी प्रदेश समिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा प्रेमनारायण न्यौपाने र बुद्धिशोभा तामाङ, सचिव राजुराज अधिकारी, सहसचिव नारायणप्रसाद तिमिल्सिना, कोषाध्यक्ष भीमलाल तिवारी र सहकोषाध्यक्ष पतिराम थनेत निर्वाचित भएको संघका उपाध्यक्ष एवम् गण्डकी प्रदेश इन्चार्ज श्याम शर्मा भुसालले जानकारी दिए ।

Write your Comment