आज:  २०८१ आश्विन २, बुधबार | Wed, 18, Sep, 2024 Search
FLASH NEWS

‘आत्मरक्षा तालिमले आत्मविश्वास बढायो’

    प्रकाशित २०८० बैशाख १७, आईतबार (१ साल अघि)


देवचुली । ‘म आफू यसरी आज सम्म कँही बोलेको छैन, आज बोल्ने प्रयास गरेको छु , यति मात्रै हैन कुनै दुर्व्यवहार हुन लागे त्यसको प्रतिवाद कसरी गर्ने र त्यसबाट आफूलाई कसरी सुरक्षित बनाउने भन्ने बारेमा प्राप्त ज्ञानले म मा आत्मविश्वास समेत बढेको छ’ नवलपुरको देवचुली नगरपालिका -१६ बाह्रकोलकी किशोरी ज्योति मश्राङ्गीले भनिन् ।

नगरपालिकाको पहाडी क्षेत्रमा पर्ने बाह्रकोलमा तीन दिनसम्म सञ्चालित किशोरी आत्मरक्षा तालिममा सहभागि अर्की किशोरी कल्पना सोमैले भनिन् बालबालिका र किशोरीका अधिकार के के छन् भन्ने साथै हिंसा र दुर्व्यवहारका घटना कस्ता क्षेत्रमा हुनसक्छन् र त्यसबाट बच्न सावधानी कस्तो अपनाउने बारेमा ज्ञान प्राप्त भयो, यसले भोलिका दिनमा कुनै अप्ठ्यारो परिस्थिति आए सहज रुपमा समाधानमा सहयोग पुग्ने विश्वास छ ।’

कसैलाई दुर्व्यवहार भएको लागेमा नलुकाई नजिकका साथीभाइ तथा परिवार लाई भन्ने, वा न्यायिक निकायमा कानुनी उपचारका लागि जान सकिन्छ भन्ने कुरा सहित कुनै हिंसा वा दुर्व्यवहारमा पर्न लागे कसरी सामना गर्न भन्ने बारेमा विभिन्न विधिका बारेमा जानकारी प्राप्त भयो, यो निक्कै प्रभावकारी लागेको छ, यस्ता कार्यक्रम पालिकाले थप गर्दै जाओस् अर्की सहभागि किशोरी बिनु पुलामीले भनिन् ।

नगरपालिकाको वडा नम्बर १६ अन्तरगत बाह्रकोल र बेलस्वाराका गरि ३० जना किशोरीलाई बालबालिका , किशोरीका सवाल सहित आत्मरक्षा सम्बन्धी तालिम प्रदान गरिएको हो । देवचुली नगरपालिकाको आर्थिक सहयोग तथा परिवर्तनका लागि युवा नेपालको संयोजनमा तालिमको आयोजना गरिएको हो ।

तालिमको समापन गर्दै नगर उप प्रमुख पार्वता तिवारीले बालबालिका र किशोरीको क्षेत्रमा गरिएको लगानी खेर नजाने बताउनुभयो । बालबालिका तथा किशोरी भोलिको समाजका लागि जग भएकाले नगरपालिकाले यस कुरालाई मध्यनजर गरि तालिम सञ्चालन गरेको बताउनुभयो । महिला तथा किशोरीहरू विभिन्न समयमा हिंसामा पर्ने गरेका घटनाहरू आउने गरेकाले यस्तो परिस्थिती आए कसरी त्यसबाट आफू जोगिने ,के गर्ने आदिको ज्ञान तथा सिप प्रदान गर्न किशोरीका लागि आत्मरक्षा तालिम प्रदान गरिएको उहाँले बताउनुभयो । सिकेका सीप जीवनभर रहने हुँदा यसले भोलिका दिनमा कुनैपनि दुर्व्यवहार , हिंसाबाट जोगाउन सहयोग गर्ने उप प्रमुख तिवारीले बताउनुभयो ।

विकास भनेको पूर्वाधारमात्रै नभएर सामाजिक रुपमा आउने सकारात्मक परिवर्तन समेत विकासको सूचक भएको उहाँले बताउनुभयो । यसकारण नगरपालिकाले सामाजिक उत्थान, महिला ,बालबालिका ,किशोरीको क्षेत्रमा समेत लगानी गरिरहेको उप प्रमुख तिवारीले बताउनुभयो ।

देवचुली १६ का वडा अध्यक्ष केशवराज गौतमले बालबालिका ,किशोरीका क्षेत्रमा थप लगानी गरि उनिहरुलाई समक्ष बनाउन वडा तयार रहेको बताउनुभयो । देवचुली नगरपालिका महिला ,बालबालिका शाखा प्रमुख विमला लम्सालले नगरपालिकाले महिला ,बालबालिका ,किशोरीको क्षेत्रमा विभिन्न योजना निर्माण गरि उनिहरुको क्षमता विकास,सिप विकासमा काम गरिरहेको बताउनुभयो ।

तालिमको समापन कार्यक्रममा बोल्दै प्रभात जनता आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष प्रेमबहादुर सोमैले तालिम प्रभावकारी भएको र भोलिका दिनमा समेत थप यस्ताका खालका कार्यक्रम पहाडी क्षेत्रलाई लक्षित गरि नगरपालिकाले गरोस् भन्ने भनाई राख्नुभयो ।

तीन दिनसम्म सञ्चालित आत्मरक्षा तालिममा देवचुली नगरपालिकाका बालमैत्री परामर्शदाता खिमानन्द भुसाल, सूचना प्रविधि शाखा प्रमुख कृष्णहरि सापकोटा,किशोरी अभियन्ता सविता पंगेनी र रेजिना घर्ती लगायतले किशोरीहरुलाई प्रशिक्षण प्रदान गर्नुभएको थियो । तालिम समापन कार्यक्रममा ,वडा सदस्य रामबहादुर सोमै, विद्यालयका सहायक प्रअ सावित्रा भण्डारी, देवचुली नगरपालिका महिला तथा बालबालिका शाखा कर्मचारी सिता पौडेल, जागृती बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्मा,राधा बोटे सहित विभिन्न व्यक्तिहरुको सहभागिता रहेको थियो । समापन सत्रको सञ्चालन समन्वय संस्था परिवर्तनका लागि युवा नेपालका अध्यक्ष राजु चापागाईंले गर्नुभएको थियो ।

Write your Comment