आज:  २०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024 Search
FLASH NEWS

छोटो दूरीको आकर्षक गन्तव्य मौलाकालिका मन्दिर

    प्रकाशित २०८० बैशाख १७, आईतबार (११ महिना अघि)


नवलपुर । चितवन, नवलपरासी र तनहुँको दृश्यावलोकन गर्न बनाइएको ‘भ्यूटावर’ जस्तै गरी नारायणगढको काखमा रहेको गैँडाकोटको शिर मौलाकालिका मन्दिरमा यतिबेला पर्यटकको चहलपहल बढेको छ । नयाँवर्षसँगै यहाँ सञ्चालनमा आएको केबलकारले यहाँको पर्यटकीय गतिविधि बढाएको हो ।

मौलाकालिकाको फेदीबाट छोटो दूरीको केबलकार चढेर मन्दिरसम्म पुग्नसक्ने भएपछि मन्दिरको दर्शनमा जाने भक्तजनलाई सहज भएको छ । यसका साथै सहरको रमझम र प्राकृतिक दृश्यावलोकनमा रमाउन चाहनेका लागिसमेत मौलाकालिका एक उत्कृष्ट गन्तव्य भएको छ ।

यहाँबाट नवलपरासी, चितवन, तनहुँ, गोर्खाका अग्ला डाँडा, भञ्ज्याङ, भिरपाखा र हिमशृङ्खलाका साथै सुप्रसिद्ध तीर्थस्थल देवघाटधाम, चितवनको समथर भूमि, राष्ट्रिय निकुञ्जको जङ्गल तथा मौलाकालिकालाई दाहिने पारेर सलल बगेको नारायणी नदी अवलोकन गर्न सकिन्छ ।

देशकै तेस्रो पर्यटकीय गन्तव्य चितवन आउने पर्यटकका लागि मौलाकालिका पनि एक धार्मिक पर्यटकीय गन्तव्य बनेको यहाँका स्थानीय पर्यटन व्यवसायी बताउँछन् । स्वदेशी एवं विदेशी पर्यटक पुग्ने चितवनका पर्यटकीय गन्तव्यमा केबलकारको सञ्चालनसँगै अर्को एक गन्तव्य पनि थपिएको स्थानीय पर्यटन व्यवसायीको भनाइ छ ।

यहाँ जङ्गल सफारीका लागि आउने पर्यटकका लागि थप गन्तव्य बनेको क्षेत्रीय होटल सङ्घ सौराहाका पूर्वअध्यक्ष सुमन घिमिरे बताउँछन् । उनले भने, ‘यसले चितवनको पर्यटन प्रवद्र्धनका लागि निकै सहयोग पुग्ने हामीले ठानेका छौँ । हामीले यहाँ आउने पर्यटकलाई घुमाउने गन्तव्यमा अब मौलाकालिका पनि थपिएको छ । त्यसैले यहाँ आउने पर्यटकको बसाई लम्ब्याउन यसले थप सहयोग गर्छ भन्ने हाम्रो बुझाइ छ ।’ केबलकार चढ्न आउने जङ्गल सफारी जाने र सफारी गर्न आउने केबलकार चढ्नसक्ने भएकाले चितवन आउने पर्यटकको बसाई लम्ब्याउन सहयोग पुग्ने उनको भनाई छ । रासस

Write your Comment