आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024 Search
FLASH NEWS

कावासोती १२ मा बाल अधिकार, कर्तव्य र बालमैत्री स्थानीय शासन सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

    प्रकाशित २०८० बैशाख १६, शनिबार (११ महिना अघि)


कावासोती।कावासोती नगरपालिका वडा नम्बर १२ मा बाल अधिकार, कर्तव्य र बालमैत्री स्थानीय शासन सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।कावासोती नगरपालिका वडा नम्बर १२ को आयोजनामा तथा जागृति बाल तथा युवा सरोकार नेपालसँगको समन्वयमा आर्थिक वर्ष ०७९/०८० का लागि विनियोजित बजेटबाट सो कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा वडाभित्र रहेका १४ वटा टोलहरु, ४ विद्यालयहरु र वडास्तरीय बालक्लव सञ्जालका पदाधिकारीहरुलाई बालअधिकारको ऐतिहासिक पृष्ठभुमी, बालबालिका सम्बन्धी नेपालले तयार गरेको नीतिहरु र कानुनको अवस्था, बालबालिकाको कर्तव्यहरु र वडालाई बालमैत्री स्थानीय शासन युक्त गराउनको लागि आवश्यक पर्ने सुचकहरुको बारेमा सहजिकरण गरिएको वडा अध्यक्ष ध्रुव खनाल (दिपेश)ले बताउनुभयो ।कावासोती नगरपालिकामा पछिल्लो समयमा बालमैत्री अभियान वडा तहमा संचालन भैरहेको र कावासोती वडा नंं. १२ लाई समेत २०८० को चैत्र मसान्तसम्म घोषणा गर्ने गरि अभियानहरु सुरु गरिएको उहाँले बताउनुभयो । खनालका अनुसार बालबालिकामा समेत बालमैत्रीको महत्व थाहा पाउने भएकोले कार्यक्रम प्रभावकारी हुने भनाई छ।

वर्तमान समयमा बालबालिकाहरुले अधिकार मात्र खोज्ने गरेको र कर्तव्यहरु प्रति उत्तरदायी नदेखिएकाले अधिकारसँगै कर्तव्यको बारेमा जानकारी गराउने गरि विषयबस्तु समावेश गरिएको जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्माले बताउनुभयो ।कार्यक्रममा अधिवक्ता भुपेन्द्र खनालले बालअधिकारको ऐतिहासिक पृष्ठभुमी र नेपालले तय गरेको नीतिहरुको बारेमा सहजीकरण गर्नुभएको थियो । उहाँले बाल अधिकार वर्तमान संविधानमा मौलिक हकको धारा ३९ मा राखिएकाले राज्यले जुनसुकै अवस्थामा भए पनि यो अधिकारहरु प्रत्याभुति गर्नुपर्ने राज्यको दायित्व हुने र बालबालिकाले पाउनुपर्ने अधिकार हुने कुरा उहाँले बालबालिकाहरुलाई बताउनुभयो ।

वडालाई बालमैत्री गराउनको लागि ५१ सुचकहरुको अवस्था के रहेको छ र कसरी सो सुचकहरु प्राप्त गर्ने भन्ने बारेमा अधिकारकर्मी दिपक शर्माले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा नविन मानन्धर र किशोरी अभियन्ता विमाया नेपालीले समेत सहजीकरण गर्नुभएको थियो।

कार्यक्रममा जनप्रतिनिधीहरु,वडा भित्रका बालबालिकाहरु, विद्यालयका प्रतिनिधिहरु, र अन्य सरोकारवालाहरु गरी ७० जनाको उपस्थिती रहेको थियो ।

Write your Comment