आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024 Search
FLASH NEWS

उप-निर्वाचनको सबै तयारी पुरा, मध्य रातिदेखि माैन अवधि

    प्रकाशित २०८० बैशाख ७, बिहिबार (११ महिना अघि)

काठमाडौं । निर्वाचन आयोगले अगामी १० बैशाखमा हुने उपनिर्वाचनका लागि आवश्यक सबै तयारी पुरा गरेको छ । तनुहँ-१, चितवन-२ र बारा-२ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बारा-२, चितवन-२ र तनहुँ -१ तीनवटै निर्वाचन क्षेत्रमा निर्वाचनका लागि आवश्यक पुरा भएको बताए । उनको अनुसार निर्वाचन क्षेत्रमा सुरक्षाकर्मी परिचालन भइसकेका छन् । निर्वाचन सुरक्षाका लागि नेपाली सेना सशस्त्र प्रहरी र नेपाल प्रहरीका सुरक्षाकर्मी खटाइएका छन् । सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरीको सुरक्षाकर्मी रहने प्रबन्ध गरिएको छ । उम्मेदवार, निर्वाचन कार्यालय, मतपेटीका र मतदान स्थलको सुरक्षामा भने सशस्त्र प्रहरीको टोली खटाइएका छन् । नेपाली सेनाका सुरक्षाकर्मीलाई भने मतपत्र ढुवानी तथा सुरक्षाको जिम्मा दिइएको छ ।

आयोगका सहायक प्रवक्ता सुबेदीले निर्वाचनका लागि आवश्यक मतपत्र, मतपेटिका, छाप, मसी लगायतका सामाग्री सम्बन्धित निर्वाचन क्षेत्रमा पुगिसकेको बताए । उनले भने,‘निर्वाचनका लागि आवश्यक सबै तयारी पुरा भएको छ । सबै निर्वाचन क्षेत्रको सुरक्षा प्रबन्ध कडा पारिएको छ । निर्वाचनका लागि आवश्यक सामाग्री पनि सम्वन्धित निर्वाचन क्षेत्रमा पुगिसकेको छ ।’ प्रतिनिधिसभामा रिक्त तीन पदका लागि उपनिर्वाचनमा ६९ उम्मेदवार चुनावी मैदानमा थिए । जसमध्ये चितवन–२ र बारा–२ मा २/२ गरी चार उम्मदेवारले उम्मेदवारी फिर्ता लिई अहिले ६५ उम्मेदवार आपसमा प्रतिष्पर्धा गरिरहेका छन् । आयोगका अनुसार चितवन-२ मा २२, बारा-२ मा ३४ र तनहुँ-१ मा ९ उम्मेदवार चुनावी मैदानमा छन् ।

आयोगका सहायक प्रवक्ता अर्यालले निर्वाचन आचारसंहिता पूर्ण पालना गराउन सम्बन्धित सबै पक्षलाई ध्यानाकर्षण गराइएको बताए । ८ बैशाखबाट मौन अवधि सुरु हुने भएको हुँदा उक्त अवधिमा मत माग्ने र प्रचारप्रसार गर्ने उम्मेदवारलाई आयोगले कारबाही गर्ने उनको भनाई छ । उनले भने, ‘आयोगले निर्वाचन आचार संहिता कडाईका साथ कार्यान्वयन गरेको छ । यसका छुट्टै अनुमगन समिति नै गठन भएको छ । समितिले आफ्नो काम तिव्र पारेको छ । अनुमगनमा केन्द्रीय स्तरबाट तीन वटै निर्वाचन क्षेत्रमा टोली खटाइएका छन् । कसैले आचारसंहिता विपरित कार्य गरे कडा कारबाही हुनेछ ।’

निर्वाचन आचार संहिता विपरित कतिपय स्थानमा प्रचारप्रसार कार्य भएकोले राजनीतिक दलका प्रतिनिधिलाई ध्यानाकर्षण गराएको सहायक प्रवक्ता अर्यालले जनकारी दिए । निर्वाचन लक्षित सुरक्षा संवेदनशीलतालाई विशेष ध्यान दिइएको हुँदा निर्वाचनमा सेना परिचालन गनुपर्ने स्थिति नआउनेमा आयोग ढुक्क देखिएको छ । सहायक प्रवक्ता अर्यालले भने,‘सेना परिचालन गर्न सक्ने गरि स्वीकृति प्राप्त छ । तर, त्यो तहसम्म जानु नपर्ला । किनभने, हामीलाई स्थानीय तह र प्रहरी प्रशासनबाटै सबै कुराको व्यवस्थापन हुनेछ । निर्वाचन एकदम शान्तिपूर्ण रुपमा सम्पन्न हुनेमा आयोग ढुक्क छ ।’ उप–निर्वाचनमा मतदाता उत्साहित भएकाले जनसहभागिता राम्रो हुने अपेक्षा गरेको आयोगले तीन वटै निर्वाचन क्षेत्रमा साँढे तीन लाख मतदाता रहेकोमा ६५ देखि ७० प्रतिशतसम्म मतदान हुने अपेक्षा गरेको छ ।

Write your Comment