आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

अति विपन्न परिवारका लागि घर बनाउँदै देवचुली नगरपालिका

    प्रकाशित २०७९ चैत्र १४, मंगलबार (१ साल अघि)


दयाराम आचार्य,नवलपुर । नवलपुरको देवचुली नगरपालिकाले अति विपन्न परिवारका लागि घर निर्माण सुरु गरेको छ । नगरपालिकाले आफ्नो क्षेत्र भित्र रहेका अति विपन्न परिवारका लागि निशुल्क रुपमा घर निर्माण गरि हस्तान्तरण गर्ने योजना अनुसार निर्माणको काम सुरु गरेको हो ।

देवचुली नगरपालिका भित्र रहेका १७ वटा वडामा पहिचान गरिएका अति विपन्न परिवारका लागि निःशुल्क घर निर्माण गर्ने योजना अनुसार काम अघि बढेको देवचुली नगर प्रमुख हरिप्रसाद न्यौपानेले बताउनुभयो । चालु आर्थिक वर्षमा २५ वटा घर निर्माण गर्ने योजना अनुसार काम सुरु गरिएको नगर प्रमुख न्यौपानेले बताउनुभयो । सबै वडामा कम्तिमा एक जना अति विपन्न परिवारलाई समेट्ने गरि परिवार छनौट गरि काम अघि बढाइएको उहाँले बताउनुभयो । सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत अति विपन्न परिवारका लागि घर निर्माण गर्न लागिएको हो । ‘हामीले सबै वडामा अति विपन्न परिवार छनौट गरेका छौं ,सोही अनुसार टिनले छाएको पक्की घर निर्माण गरि हस्तान्तरण गर्ने योजना रहेको छ’ नगर प्रमुख न्यौपानेले भन्नुभयो ‘ अति विपन्न परिवारलाई राज्यले हेर्छ भन्ने अनुभुति दिलाउन यो कार्यक्रमले सहयोग पुग्ने छ,  त्यस्ता परिवार सुरक्षित रुपमा घरमा बस्न समेत पाउनेछन् ।’

नगरपालिकाले दुई चरणमा २५ वटा घर निर्माण गर्ने योजना बनाएको छ । जस अनुसार पहिलो चरणमा २० वटा घरको काम सुरु गरिएको छ । थप पाँच वटाको प्रक्रिया अघि बढेको नगरपालिकाका इन्जिनियर टिकाराम बस्यालले बताउनुभयो । नगर भित्र रहेका १७ वटा वडामा सबै वडामा एक/एक वटा अति विपन्न परिवारका लागि घर निर्माण हुने छ । त्यस्तै वडा नम्बर २, ४, ७, ८ ९, १२, १५ र १६ थप एक /एक वटाका दरले गरि २५ वटा घर निर्माण हुने इन्जिनियर बस्यालले बताउनुभयो ।

देवचुली नगरपालिकाले चालु आर्थिक वर्षमा अति विपन्न परिवारका लागि घर निर्माण गर्न रु. १ करोड ५० लाख विनियोजन गरेको छ । प्रति घर करिब रु. ६ लाख ७५ हजारको लागत लाग्ने छ ।नगरपालिकाले विनियोजित बजेटबाट घर निर्माणको सबै काम पुरा गरेर अति विपन्न परिवारलाई हस्तान्तरण गर्ने इन्जिनियर बस्यालले बताउनुभयो ।

Write your Comment