आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024 Search
FLASH NEWS

राष्ट्रसेवक सहकारी संस्थाहरुको गण्डकी प्रदेश स्तरीय भेला: १७ बुँदे नवलपुर घोषणा पत्र जारी गर्दै सम्पन्न

    प्रकाशित २०७९ चैत्र ४, शनिबार (१ साल अघि)


नवलपुर । राष्ट्रसेवक सहकारी संस्थाहरुको गण्डकी प्रदेश स्तरीय प्रथम भेला १७ बुँदे नवलपुर घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ। गण्डकी प्रदेशस्तरीय राष्ट्रसेवक सहकारी भेला आयोजक समितिको आयोजना तथा नेपाल निजामती कर्मचारी संगठन गण्डकी प्रदेश कार्य समितिको व्यवस्थापन र नेपाल निजामती कर्मचारी संगठन नवलपुरको सह व्यवस्थापनमा गण्डकी प्रदेशका राष्ट्रसेवक सहकारी संस्थाहरुको शुक्रबार र शनिबार पिप्रहर सामुदायिक होमस्टे रजहरमा भेला सम्पन्न भएको हो ।


भेलाले राष्ट्रसेवक सहकारीहरुको सम्पत्ति,दायित्व,ब्याजदर,जगेडा कोष,भाखा नाघेको ऋण,सामुहिक जमानीमा गरिएको लगानी,ऋण असुली,स्थिर सम्पत्ति,लाभांश वितरण,लेखा परीक्षण,साधारण सभा लगायतमा देखिएका समस्या समाधानमा जिल्लाका सहकारी तथा संगठनका सम्बन्धित पदाधिकारीहरु र तोकिएको जिल्ला इन्चार्जहरु मार्फत समाधानको पहलकदमीको लागि प्रदेश इन्चार्जलाई स्पष्ट जिम्मेवारी प्रदान गर्ने, गण्डकी प्रदेश सहकारी समन्वय समिति गठन गरि सहकारी संचालन सम्बन्धि नीति पारित गरि कार्यान्वयन गर्ने गराउने,प्रदेशस्तरका सहकारीका नयाँ लगानी क्षेत्रको पहिचान गरि संयुक्त लगानीका आयोजना संचालन गर्न कार्यदल गठन गर्ने,गण्डकी प्रदेश समन्वय समितिले निर्धारण गरेका नीति कार्यान्वयन गर्ने गराउने,गण्डकी प्रदेश समन्वय समितिले दिने सुझावहरु कार्यान्वयन गर्ने लगायतका विविध १७ बुँदे घोषणा पत्र जारी गरेको हो ।

देशभर निजामती कर्मचारी संगठनको अभिभावकत्वमा ६८ जिल्लाहरुमा राष्ट्रसेवक सहकारी संस्था रहेको र बाँकी जिल्लामा पनि विस्तार गर्ने तयारी गरिएको नेपाल निजामती कर्मचारी संगठनका गण्डकी प्रदेश इन्चार्ज घनश्याम सापकोटाले बताए । नवलपुरमा राष्ट्रसेवक सहकारी संस्था दर्ता गर्ने क्रममा नै रहेको बताउँदै उनले गण्डकी प्रदेशका १० वटा जिल्लाका राष्ट्रसेवक सहकारी संस्थाहरुको विश्लेषण तथा दुई दिनसम्म सहकारी सुदृढीकरणका लागि छ्लफल गरिएको जानकारी दिए। भेलाले गण्डकी प्रदेशका इन्चार्ज सापकोटाको संयोजकत्वमा १३ सदस्यीय गण्डकी प्रदेश सहकारी समन्वय समिति समेत गठन गरेको छ।


२०५२ सालमा मोरङ जिल्लाबाट सुरु भएको बचत अभियानलाई २०५६ सालमा मोरङबाट नै सहकारी संस्थाको रुपमा स्थापना गरि विभिन्न जिल्लामा विस्तार गरिएको नेपाल निजामती कर्मचारी संगठनका महासचिव जीवन काफ्लेले बताए । राष्ट्रसेवक सहकारी संस्थामा देशभर २५ हजार भन्दा बढी सेयर सदस्यहरु रहेका र २३ करोड सम्पत्ति दायित्व रहेको काफ्लेले बताए । बिहान बेलुका र बिदाका दिनको समयलाई व्यवस्थापन गर्दै सहकारी संस्थाका गतिविधि संचालन गर्दै आइरहेको उनलेे बताए। सुखी नेपाली,समृद्ध नेपाल बनाउने अभियानलाई सफल पार्न जनतालाई तुरुन्त काम गर्ने अवधारणा सहित नमस्कार अभियान सुरु गरि जनताका नजिक नेपाल निजामती कर्मचारी संगठन रहने गरि काम सुरु गरिएको उनको भनाइ छ । जनतालाई सेवा प्रवाह गर्दा कुनै कमजोरी गर्न नहुने बताउँदै संगठनमा आबद्ध कर्मचारीबाट गुनासो भए आफुहरुलाई सचेत गराउन समेत उनले आग्रह गरे ।

शुक्रबार नेपाल निजामती कर्मचारी संगठन गण्डकी प्रदेश इन्चार्ज घनश्याम सापकोटाकाे अध्यक्षतामा भएको कार्यक्रममा निजामती कर्मचारी संगठनका केन्द्रिय अध्यक्ष लेखनाथ कोइराला प्रमुख अतिथि रहेको थियो। कार्यक्रममा निजामती कर्मचारी संगठनका उपाध्यक्ष रेवन्त गौतम ,महासचिव जीवन काफ्ले, जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्मा, कावासोती नगरपालिकाका नगर प्रमुख बिष्णुप्रसाद भुसाल, देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपाने, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, मध्यबिन्दु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ज्ञानुप्रसाद पनेरु, ने .क .पा.एमालेका जिल्ला अध्यक्ष मुक्ति राम पाण्डे सहित निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य, प्रदेश सदस्य विभिन्न जिल्लाका जिल्ला प्रतिनिधि समेतको उपस्थिति रहेको नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय सदस्य तथा नवलपुर इन्चार्ज केशव भट्टराईले जानकारी दिए।

 

 

Write your Comment