आज:  २०८१ कार्तिक ७, बुधबार | Wed, 23, Oct, 2024 Search
FLASH NEWS

अदुवाको मुल्य नपाएपछि सुठो बनाउँदै नवलपुरका किसान

    प्रकाशित २०७९ फागुन २९, सोमबार (१ साल अघि)


नवलपुर। नवलपुरको पहाडी क्षेत्रका कृषकहरुको मुख्य नगदेबालीको रुपमा रहेको अदुवाको सुठो बनाउन व्यस्त छन् । व्यवसायिक रुपमा अदुवा खेती गर्ने किसानहरु अदुवाको मुल्य नपाएपछि अदुवालाई परम्परागत तरिकाबाट सुठो बनाएका हुन् ।

गाउँमा अदुवा विक्री नभएपछि लामो समयसम्म राख्न सुकाएर सुठो बनाउने गरिन्छ । अदुवा पकेट क्षेत्र बौदीकाली गाउँपालिकाका किसानले काँचो अदुवा बिक्री नहुँदा लामो समयसम्म टिकाउन सुठो बनाउन सुरु गरेको बौदिकालीका किसान तिलबहादुर राना बताउनुहुन्छ । सुठो बनाउँदा एक, डेढ वर्षसम्म पनि नबिग्रीने भएकाले किसान त्यस तर्फ लागेका हुन् ।अदुवा तथा बेसारखेतीका लागि बौदीकाली गाउँपालिका जिल्लाकै प्रसिद्ध मानिने उक्त पालिकामा प्रायः सबै किसानले अदुवा खेती गर्दै आएका छन् । पालिकाभित्र शित भण्डारसमेत नहुँदा खनेर राखिएका अदुवा जोगाउन गार्ह्रो भएको छ ।

काँचो तीन किलो अदुवाको सुठो बनाउँदा एक किलो मात्र बस्ने र विक्री हुने सुनिश्चिततासमेत नहुँदा नोक्सानी व्यहोर्नुपर्ने सम्भावना पनि उत्तिकै छ । यस कारणले सरकारले अदुवाको मुल्य निर्धारण गरे आम किसानलाई राहत पुग्ने निरु रानाको भनाइ छ ।बौदीकाली बासीको मुख्य आयस्रोत खेती अदुवा भएकाले प्राथमिकतामा राखी प्रशोधन केन्द्र बनाउन किसानहरुको माग छ । यसमा पालिका सकारात्मक भएपनि राष्ट्रिय प्रशारण लाइन नपुग्दा समस्या भएको नेत्र सारुको गुनासो छ ।

बौदीकालीसहित पहाडी भेग नरम, जौँबारी, अर्खला, कोटथर, रकुवा, आमडाँडाका किसानको मुख्य पेसा अदुवा खेती हो । यहाँ उत्पादित अदुवा मुण्डे, दलदले, भिमाद, रामपुरलगायतका व्यापारीक केन्द्रमा पुर्‍याउने गरिन्छ । त्यहाँबाट व्यापारीले अन्य बजारमा विक्री गर्ने गर्छन् ।करोडौं रुपियाँको अदुवा यस जिल्लाबाट निकासी हुने अग्रणी जिल्लाका रुपमा रहेपनि अदुवा र सुठोको मुल्यमा आउने थपघटका कारण किसानमा थप चिन्ता छाउनु स्वाभाविक रहेको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख गोपाल लामिछानेले बताउनुभयो ।

Write your Comment