आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

देवचुलीमा कृषि उपज संकलन केन्द्र स्थापना

    प्रकाशित २०७९ माघ १४, शनिबार (१ साल अघि)


खगेन्द्र पराजुली, देवचुली।देवचुली नगरपालिका वडा नं. १० मा कृषि उपज संकलन केन्द्र उद्घाटन भएको छ । समुदायमा संचालित सामुदायिक संस्था जलुके घुमाउरे सिंचाई नहर तथा जल उपभोक्ता समूहले शनिवार समूहकै कार्यालय परिसरमा एक कार्यक्रमको आयोजना गरी कृषि उपज केन्द्र संकलन बिक्री एवं खरिद केन्द्रको उद्घाटन गरेको हो । नगर प्रमुख हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा उद्घाटन भएको कृषि उत्पादन विक्री तथा खरिद केन्द्रको विक्री वितरणको शुभारम्भ नगरप्रमुख न्यौपानेले सवै वस्तुहरुको नमूना खरिद गरी गरे ।

उद्घाटन कार्यक्रममा केन्द्र सफलताको शुभकामना राख्ने क्रममा मेयर न्यौपानेले कृषि उपज केन्द्रको वृत्तिविकास र यसको दिगोपनका लागि कृषि ब्यवसाय, यान्त्रिकीकरण, प्राविधिक लगायतका क्षेत्रमा नगरपालिकाले सघाउने प्रतिवद्धता गरे । उनले स्थानीय कृषि उत्पादनलाई स्थानीयले नै उपभोग गर्ने परिपाटीको बिकास गर्न तथा आफ्ना उत्पादनलाई बेच्न नलजाउन पनि आग्रह गरे । समूहका सलहकार एवं जैविक कृषि उत्पादनका अगुवा केशवप्रसाद भटराईले उद्घाटित कृषि उपज संकलन केन्द्रलाई नगर हुँदै जिल्लाकै उदाहरणीय र नमूना खरिद विक्री केन्द्रका रुपमा विकास गर्ने लक्ष्य रहेको बताए ।

शुरुवाती चरणमा देवचुली ९, १० र ११ का कृषकबाट उत्पादित बस्तुको खरिद र त्यसको विक्री गरिने भएपनि आउँदो बैशाखदेखी नगरभित्र उत्पादित उपज खरिद तथा विक्री गर्ने लक्ष्य रहेको बताए । भटराईले युवालाई कृषि ब्यवसायमा जोड्दै आत्मनिर्भर र आर्थिक रुपमा सवल पार्न कृषि उपज केन्द्रको अवधारणा ल्याएको बताए । दैनिक उत्पादन हुने ताजा कृषि उत्पादन दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म खरिद विक्री गरिने गरी ब्यवस्थापन भएको समुहका सचिव लिला वल्लब भुसालले बताए । दैनिक मुल्यसूची निर्धारण गरी प्रत्येक १५–१५ दिनमा स्थानीय रुपमा सञ्चालित मध्य नेपाल सहकारी संस्थामा कृषकको खातामा भुक्तानी गर्ने गरी आर्थिक पाटोलाई पारदर्शी गरिने समेत भुसालको भनाई छ ।

प्रारम्भमै कुनै पनि निकायको भरोसा, आर्थिक अनुदानको पाटोमा नलागी स्वतस्फुर्त रुपमा थालनी भएको कृषि उपज केन्द्रमा स्थानीयद्वारा उत्पादित ५० हजार रुपैया बरावरको बस्तु नापतौलका आधारमा अभिलेखीकरण भएकामा ३५ हजार बरावरको तरकारी, मह, अचार विक्री भएको संस्थाले जनाएको छ । यहाँ सञ्चालन हुने कृषि उपज केन्द्रको बजार मुल्यलाई कृषि बिकास शाखा देवचुलीले समन्वय गरी दैनिक मुल्यसूची निर्धारण गर्ने तयारी गरेको छ । कालीमाटी तथा भरतपुरको मुल्य सूचीको आधार र स्थानीय भाउलाई समेत ध्यानमा राख्दै समय सुहाउँदो मुल्य सूची निर्धारण गर्दै नगरपालिका भरि दैनिक उपभोग्य कृषि उपजको मुल्यमा एकरुपता ल्याउने शाखा प्रमुख नरेन्द्र भण्डारीले जानकारी दिए ।

नेपाल सरकारका उपसचिव विष्णुप्रसाद भुसाल, १७ वटा वडा रहेको देवचुली नगरपालिकाका १० जना वडाअध्यक्ष, विभिन्न संघसंस्थाका प्रतिनिधिको आतिथ्यता रहेको कार्यक्रमको अध्यक्षता जलुके घुमाउरे सिंचाई नहर तथा जल उपभोक्ता समूहका अध्यक्ष खोम बहादुर सारुले गरेका थिए । वडा नं. १० र ११ को पृथ्वीनगर क्षेत्रमा जलुके नहरको सक्रियतामा हिउँदमा समेत नहरबाटै पर्याप्त सिंचाई हुने प्रवन्ध मिलाएको यस क्षेत्रमा मौषमी तथा बेमौषमी उत्पादन हुँदै आएको छ । पछिल्लो समय बजारीकरणको समस्या रहेपछि संस्थाले यहाँका उत्पादनलाई ब्यवसायीकरण गर्न र श्रमप्रति आकर्षण बढाउन कृषि उपज संकलन केन्द्र खोलिएको संस्थाका अध्यक्ष सारुको भनाई थियो ।

Write your Comment