आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024 Search
FLASH NEWS

माघे औँसीमा त्रिवेणी धाममा घुइँचो

    प्रकाशित २०७९ माघ ७, शनिबार (१ साल अघि)


कावासोती। माघें औँसीका अवसरमा नेपाल तथा भारतका हजारौ भक्तजन पुर्वी नवलपरासीको त्रिवेणी धाममा आइपुगेका छन । माघे औशीको अघिल्लो दिन शुक्रबारबाटै यहाँ मेला लागेको छ ।

भारतको बिहार , उत्तरप्रदेश र नेपालका विभिन्न स्थानबाट भक्तजनहरु यहा स्नान गर्न र पुजापाठ गर्न आएका हुन । विगतका वर्षहरुमा कोरोना महामारीको कारणले लाग्न नसकेको मेलामा यस वर्ष भने घुइँचो लागेको छ ।शुक्रबार देखि नै आएका भक्तजनहरु त्रिवेणीधाममा दर्जनौ मठमन्दिरमा रातभर भजनकिर्तन गरेर रात कटाएका छन ।त्रिवेणीधाम क्षेत्र विकास समितिले मेलाको व्यवस्थापन गरेको तथा स्थानीय प्रशासनले सुरक्षा व्यवस्था मिलाएको मेलामा शनिबार बिहानैदेखि पुजापाठ र भजन किर्तन गर्नेको घुईचो लागेको हो ।

त्रिवेणी धाम देखि २ किलोमिटर दक्षिण पश्चिमका सडकका किनारमा मिठाइ पसल, होटल र खाद्यान्न सामग्री बिक्री गर्नेहरु त्रिपाल टाँगेर बसेका छन् । मेलाका कारण त्रिवेणी बजार र यस आसपासका ५ दर्जन भन्दा बढी होटलहरु भरीभराउ छन् । नारायणी नदिका घाटहरु स्नानका लागि व्यवस्थित गरिएको छ । नारायणी नदीमा डुंगा तरेर चितवन निकुन्जभित्र रहेको वाल्मीकि ऋषिको आश्रम दर्शन र पूजाआजा गर्न जानेको लर्को देखिएको छ ।मेलाको भिडभाडमा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दे सुरक्षाकर्मिको सङख्या पनि बढाईएको छ भने उद्धारका लागी शसस्त्र प्रहरीको उद्धार टोली पनि खटिएको छ ।

माघे औँसीमा त्रिवेणीधाममा स्नान गर्न देवताहरु समेत आउने जन बिश्वास रहेकाले औशीमा यहा स्नान गर्नाले पुण्य मिल्ने परापुर्वकालदेखिको विश्वास रहेको त्रिवेणीधाम स्थित गजेन्द्रमोक्ष दिब्यधामका स्वामी कृष्ण प्रपन्नाचार्यले बताउनु भयो ।स्वर्णभद्रा, पुर्णभद्रा र नारायणी नदीको संगमस्थल त्रिवेणीधाम भएकाले र महिनाहरुमा माघ श्रेष्ठ महिना भएका कारण औँसीका अबसरमा बाबुआमा नहुनेले यहा श्राद्ध गर्ने र दान दिने चलन रहेको छ ।स्वामी कृष्णप्रपन्नाचार्यका अनुसार त्रिवेणीधाम त्रेतायुगमा वाल्मीकी ऋषिको तपोभूमी, लबकूशको जन्मस्थल, सितामाता धर्तीमा पाताल प्रबेश गरेको स्थल भएकाले यो स्थान ऐतिहासिक धार्मिक स्थल हो ।

भगवान मुक्तिनाथको चरणपादुका स्थल पनि भएकाले यस्को ठुलो धार्मीक महत्व रहेको धार्मिक विश्वास रहदै आएको छ । परापुर्वकालमा हात्ति र गोहिको लडाइमा भगवान नारायणले अवतार लिएर हात्तीलाई मोक्ष दिलाएको कारण यस धामलाई गजेन्द्र मोक्ष धाम भन्ने गरिएको जनविश्वास रहदै आएको छ ।रासस

Write your Comment