आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024 Search
FLASH NEWS

चाैथाे देवचुली महोत्सव भोलिदेखि सुरू

    प्रकाशित २०७९ माघ ४, बुधबार (१ साल अघि)


देवचुली । चाैथाे देवचुली महोत्सव भोलिदेखि संचालन हुने भएको छ।नवलपुर जिल्लाको समग्र आर्थिक, साँस्कृतिक तथा सामाजिक उत्थानका लागि शिक्षा, कृषि, पर्यटन, व्यापार, स्वास्थ्य क्षेत्रको प्रवद्धर्नमा टेवा पुर्याउने उद्धेश्यले महोत्सवको आयोजना गर्न लागिएको आयोजक देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष सुर्यप्रसाद दवाडीले बताउनुभयो । देवचुली नगरपालिका १७ स्थित वरचुली माध्यमिक विद्यालयसँगैको खुल्ला मैदानमा हुने महाेत्सवकाे तयारी पूरा भएको हो।माघ ५ गते देखि १५ गतेसम्म संचालन हुने महोत्सवको उद्घाटन समारोहमा गण्डकी प्रदेशका मन्त्री एवं नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमानको प्रमुख आतिथ्यता रहने जनाईएको छ ।

महोत्सवमा स्थानीय उत्पादन ,यहाँ रहेका औधोगिक क्षेत्रका उत्पादनलाई प्राथमिकता दिइने अध्यक्ष दवाडीले बताउनुभयो । ‘महोत्सवमा स्थानीय उत्पादन, औद्योगिक उत्पादन, खाद्यान्न लगायत उपभोग्य बस्तु प्रदर्शनीमा रहनेछन्’ अध्यक्ष दवाडीले भन्नुभयो ‘यस बाहेक पर्यटकीय क्षेत्रको जानकारी दिने र यहाँका गन्तव्यको प्रर्वद्धनमा समेत महोत्सवले सहयोग पुर्याउने छ ।’ देवचुलीमा रहेको जिल्लाकै अग्लो डाँडा देवचुली देखि ,शाश्वतधाम , मध्यवर्ती क्षेत्र सहित धार्मीक पर्यटकिय गन्तव्यको प्रर्वद्धनमा महोत्सवले सहयोग पुग्ने बताइएको छ ।महोत्सवमा सुचना प्रविधि तथा संचार, बैक तथा वित्तिय संस्था, हस्तकला सामान अटोमोवाईल्स,शिक्षा,खेलकुद लगायतका बस्तुहरुको प्रदर्शनी समेत रहने उहाँले बताउनुभयो । एघार दिन सम्म संचालन हुने महोत्सवमा एक सय ५० बढी व्यापारिक स्टलहरु रहने अध्यक्ष दवाडीले बताउनुभयो ।

अध्यक्ष दवाडीका अनुसार महोत्सवमा कलासस्कृती प्रदर्शनी सहित विभिन्न प्रतियोगिता समेत संचालन हुनेछ । विभिन्न जातजातीका नृत्य, झाँकी सहित स्थानीय र राष्ट्रिय कलाकारहरुको प्रस्तुती समेत महोत्सव अवधिभर संचालन हुने उहाँले बताउनुभयो । ‘महोत्सव कला सस्कृती प्रर्दशनीको थलो समेत हुनेछ , विभिन्न जातजातीका मौलिक नृत्य, झाकी सहित स्थानीय र राष्ट्रिय कलाकारको समेत प्रस्तुती हुने छ ’ अध्यक्ष दवाडीले भन्नुभयो ।

महोत्सवमा विद्यालय स्तरीय नृत्य प्रतियोगिता , वक्तृत्वकला प्रतियोगिता, आमा समुह बिच हाजिरी जवाफ, भजन प्रतियोगिता, खेलकुद प्रतियोगिता र देवचुली डान्स आइडल लगायतका प्रतियोगिताका कार्यक्रम समेत संचालन हुने उहाँले अध्यक्ष दवाडीले बताउनुभयो । देवचुलीमा हुन लागेको चौथो देवचुली महोत्सवले आर्थीक गतिविधि बढाउन समेत सहयोग पुग्ने उहाँले बताउनुभयो । उत्पादक र उपभोक्ताको लागि खरिद बिक्रि केन्द्रका रुपमा महोत्सव हुने भएकाले आर्थिक गतिविधि बढाउने अध्यक्ष दवाडीले बताउनुभयो । ‘महोत्सवको अर्को राम्रो पक्ष भनेको उत्पादक र उपभोक्ताहरुको जमघट हो जहाँ व्यवसायीले आफ्ना उत्पादन एकै साथ धेरै उपभोक्ता समक्ष पुर्‍याउन सक्नेछन् ,खरिद बिक्रिको केन्द्रका रुपमा हुनेछ’ उहाँले भन्नुभयो ‘यसले आर्थिक गतिविधि बढाउने छ ।’

महोत्सवमा बाल उद्यान, विभिन्न प्रकारका पिङ तथा झुलाहरु, कृषि प्रदर्शनी, बालमैत्री सामग्री प्रदर्शनी, संग्राहलय सामग्री प्रदर्शनी, विज्ञान कला प्रदर्शनी, जातीय पहिचान झल्कने घर र सामग्री प्रदर्शनी, औद्योगिक उत्पादनहरुको प्रदर्शनी, कल्चर स्टे प्रदर्शनी र कृषि पर्यटनको सिकाइ प्रदर्शनीमा रहनेछन् ।

Write your Comment