आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024 Search
FLASH NEWS

किसानलाई तरुल खन्न र बिक्री गर्न भ्याइनभ्याइ

    प्रकाशित २०७९ पौष २६, मंगलबार (१ साल अघि)


त्रिवेणी।माघेसङ्क्रान्ति नजिकिँदै जाँदा यतिबेला तरुल खन्न र बिक्री गर्न किसान व्यस्त बनेका छन् । नवलपरासी ( बर्दघाट सुस्तापूर्व ) नवलपुरको पहाडी क्षेत्रमा उत्पादन भएको तरुल खनेर बजारमा बिक्रीका लागि किसान यतिबेला व्यस्त छन् ।

माघेसङ्क्रान्तिमा तरुलको माघ धेरै हुने हुँदा यतिबेला किसानले आफ्नो बारीमा लगाएको तरुल खनेर बजार सम्म लैजाने काम गरिरहेका छन् । माघेसङ्क्रान्तिमा तरुलको माग पनि हुने र सहज रुपमा बिक्री हुने भएपछि आफूले लगाएको तरुल खनेर बिक्रीका लागि बजार लगेको हुप्सेकोट गाउँपालिका –५ ,का मकर सिंह सारू मगरले बताउनुभयो । ‘अहिले तरुलको माग धेरै हुन्छ, बिक्री गर्न पनि समस्या हुँदैन, यसैले अहिले लगाएको सबै तरुल खनेर बजार पुर्याइयो’ सारू मगरले भन्नुभयो । आफूले यसवर्ष करिब दुई क्विन्टल तरुल बेचेको उहाँले बताउनुभयो ।

धौवादीका शेर बहादुर झेडी मगरले पनि आफूले लगाएको तरुल खनेर बजार सम्म पुर्याइसक्नु भएको छ । माघेसङ्क्रान्तिका दिनमा यसको महत्व हुँदा अहिले समयमै बजार पुर्याउन आफूहरू लागेको उहाँले बताउनुभयो । ‘आज भोलिमा बेच्यो भने बेच्यो, पछि कसैले त्यति खोज्दा पनि खोज्दैन, भाउ पनि हुन्न त्यसैले अहिले लगाएको तरुल खनेर बेच्न चटारो छ ’ मगरले भन्नुभयो । एक दिनका लागि धेरै उपभोग हुने र अन्य समय खासै महत्व नहुने हुँदा धेरै लगाउन समेत जोखिम रहेको उहाँले बताउनुभयो । तर अहिले लगाएको जति बजारीकरणमा भने समस्या नभएको मगरको भनाई छ ।

पहाडी क्षेत्रमा धेरै जसो किसानले तरुल लगाउने गरेको उहाँको भनाई छ । किसानले अदुवा खेतीसँगै बिचमा तरुल लगाउने गरेका छन् । सबैजसो किसानले पञ्जे ( हात्तीपाइले) तरुल लगाउने गरेको उहाँको भनाई छ । यो तरुल स्वादिलो हुने हुँदा माग पनि धेरै हुने कारणले किसानले पञ्जे तरुल लगाउने गरेको उहाँको भनाई छ ।
तरुल लगाउने किसानलाई तरुल बिक्रीबाट घरखर्च चलाउन र माघे संक्रान्ति मनाउन सहयोग पुग्ने गरेको उहाँको भनाई छ । ‘तरुल बिक्रीबाट सामान्य घरखर्च पनि चल्छ, संक्रान्ति मनाउन खर्च पनि पुग्छ ’ उहाँले बताउनुभयो ।

केही वर्षबाट यता तरुल उत्पादनमा भने कमी हुँदै गएको किसान तिलक रानाले बताउनुभयो । कीरा लाग्ने समस्याका कारण पछल्ला केहिबर्ष यता उत्पादनमा भने कमी हुँदै गएको उहाँले बताउनुभयो । अदुवाखेतीमा पञ्जे तरुल लगाउँदा राम्रो हुने र बाहिर लगाउँदा राम्रो नहुने हुँदा अदुवा लगाउने सबैजसो किसानले तरुल लगाउने गरेको रानाले बताउनुभयो । तर पछिल्ला वर्षमा तरुलमा किराको समस्या देखिएपछि किसानहरुले थोरै थोरै क्षेत्रफलमा लगाउने गरेको उहाँको भनाई छ । यसले उत्पादनमा समेत कमि हुँदै गएको रानाले बताउनुभयो ।

नवलपुरको पहाडी क्षेत्रबाट अहिले दैनिक जसो करिब दश क्विन्टल तरुल कावासोतीमा मात्रै आउने गरेको कावासोतीमा तरुल थोक बिक्रेताका रुपमा काम गर्दै आउनु भएका व्यवसायी लाल बहादुर सारुले बताउनुभयो । कावासोती सहित दलदले क्षेत्रमा समेत सोही मात्रामा तरुल पहाडी क्षेत्रबाट किसानले ल्याउने गरेको उहाँले बताउनुभयो । नवलपुरमा उत्पादन भएको तरुल स्थानीय बजारसँगै पोखरा र काठमाण्डौमा खपत हुने गरेको उहाँको भनाई छ । आफूले अहिले पहाडी क्षेत्रमा उत्पादन भएको तरुल दैनिक रुपमा पोखरा र काठमाण्डौमा पठाउने गरेको सारुले बताउनुभयो । दैनिक जसो किसानले ल्याएको तरुल बिक्रीमा समस्या नभएको र सबै खपत हुँदै आएको उहाँले बताउनुभयो । सारुका अनुसार किसानले अहिले प्रति केजी रु. ४५ सम्म बुझ्ने गरेका छन् । आफूहरूले बाहिरी जिल्ला पठाउँदा भने ढुवानी सहित सबै लागत जोडेर मूल्य प्रतिकेजी रु. ७० देखि रु. ८० सम्म पर्ने गरेको सारुले बताउनुभयो । नेपाली समुदायमा माघेसङ्क्रान्तिमा तरुल, सखरखण्ड सँगै चाकु, सेलरोटी लगायतका परिकार खाने प्रचलन रहेको छ । ( रासस)

Write your Comment