आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024 Search
FLASH NEWS

उठे बालविवाहविरुद्ध नागरिक समाज संजाल

    प्रकाशित २०७९ पौष २०, बुधबार (१ साल अघि)


कालिकोट । जुनिता बिष्ट नागरिक समाज संजालकी सदस्य हुन् । ११ जना सदस्य रहेको यस संजालले सामाजिक चेतना प्रवाहमा महत्वपूर्ण काम गर्दै आएको छ । नरहरीनाथ गाउँपालिका २ कालीकोटकी विष्ट संजालकी सदस्य हुन् । पालिकास्तरीय यस समितिले हरेक वडामा बालविवाह विरुद्ध अभियान चलाउने काम गरिरहेको छ ।

संजालको सदस्यका हिसावले विष्टले हरेक सामाजिक जाँगरण अभियानको नेतृत्व गरिरहेकी छिन् । हरेक वडा समेटेर संजाल बनाएको र यसले सिंगो गाउँपालिकामा बालविवाह विरुद्ध आवाज उठाउन सहज भएको बिष्टले बताइन् । ‘संजाल हरेक वडासम्म जोडिएको छ । हामीले बालविवाह भएमा रोक्ने काम पनि गरेका छौं,’ उनले भनिन्,‘अहिले यो संजाल सबैका लागि परिचित संस्था भएको छ ।’

नरहरीनाथको वडानं. ३ मा भएको बालविवाह रोकेर संजालले सबैलाई सचेत बनाएको उनले बताइन् । ‘सबै वडामा संजालका सदस्यहरु हुनुहुन्छ । कतै बालविवाह हुन थालेमा आफैं चासो दिएर रोक्ने काम शुरु हुन्छ,’ उनले भनिन्,‘वडाबाट समाधान नभए पालिका तहसम्म छलफल हुन्छ । पालिकाबाटै समस्या समाधान गर्छौं ।’

एक बर्षअघि गठन भएको यस संजालले बालविवाहका साथै सामाजिक विकृतिविरुद्ध पनि आवाज उठाउँदै आएको उनले बताइन् । संजालका सदस्यहरुलाई सादा नेपालले जबरजस्ती विवाह, बालविवाह सम्बन्धी तालिमहरु दिएको र यसले सबैलाई अभियानमा लाग्न प्रेरित गरेको उनले बताइन् ।‘पहिले हामीलाई बालविवाह, जर्वजस्ती विवाह सम्बन्धी ज्ञान थिएन । सामान्य जस्तो लाग्थ्यो । अहिले यस्तो गर्नु राम्रो होइन, कानूनी रुपमा पनि मिल्दैन भन्ने थाहा भएको छ,’ उनले भनिन्,‘हामी जानकार भएपछि अरुलाई पनि यसबारे चेतना दिइरहेका छौं । अहिले संजाल समाजको अगुवा संस्थाका रुपमा परिचित भएको छ ।’

Write your Comment