आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

कालिका नगरपालिकाद्वारा पत्रकारको दुर्घटना बीमा

    प्रकाशित २०७९ पौष १९, मंगलबार (१ साल अघि)


चितवन। चितवनको कालिका नगरपालिकाले नेपाल पत्रकार महासंघ चितवन शाखाका सदस्यहरुको रु १० लाखको दुर्घटना बीमा गर्ने भएको छ । नगरपालिका र महासंघबीच दुर्घटना बीमा सम्बन्धी सम्झौतापत्रमा सोमबार कार्यक्रमकाबीच हस्ताक्षर गरिएको छ ।
नगरप्रमुख विनोद रेग्मी र महासंघ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । नगरपालिकाले पत्रकार सामुहिक दुर्घटना बीमा कार्यविधि २०७९ निर्माण गरी कार्यपालिका बैठकबाट अनुमोदन गरेर सोमबार महासंघसँग सम्झौता गरेको हो । आगामी दिनहरुमा बीमा कार्यक्रमलाई निरन्तरता दिने गरी कार्यविधि बनाएर व्यवस्थित गरिएको नगरप्रमुख रेग्मीले जानकारी दिए ।

कार्यविधिमा बीमाका लागि नगरप्रमुख संयोजक रहने गरी समिति निर्माण गरिएको छ । महासंघका अध्यक्ष समेत समितिमा रहने गरि कार्यविधि बनाइएको नगरप्रमुख रेग्मीले बताए । सम्झौता भएसँगै पत्रकारहरुको बीमा प्रकृया अघि बढ्ने र केही दिन भित्रै महासंघका सदस्यहरुको बीमा हुने रेग्मीले बताए । उनले भने, ‘यसबाट पत्रकार र पत्रकारका परिवार लाभान्वित हुने छन् ।’

कसैको पनि दुर्घटना नहोस् र लाभान्वित हुन नपरोस् भन्ने आफ्नो चाहना रहेको भन्दै नगरप्रमुख रेग्मीले भइपरि आउने दुर्घटनाबाट राहतका लागि बीमा कार्यक्रम गर्न लागिएको बताए । कालिका नगरपालिकाले यसअघि गत आर्थिक वर्षमा पत्रकारको रु सात लाखको दुर्घटना बीमा गराएको थियो । अघिल्लो वर्ष रु ३ लाखको दुर्घटना बीमा गरिएको थियो ।

नगरपालिकाले कार्यविधि नै बनाएर आगामी दिनमा पत्रकारहरुको रु १० लाखको दुर्घटना बीमा गर्न लागेको हो । यो बीमा अन्तर्गत दुर्घटनाबाट मृत्यु भएकाको पत्रकारको परिवारलाई रु १० लाख र घाइते हुने पत्रकारको उपचार खर्च पाउने गरी कम्पनी छनोट गरेर बीमा गरिनेछ ।

नगरपालिकाका उपप्रमुख विमला तामाङले नगरपालिका र महासंघका बीचमा संस्थागत रुपमा यो कार्यक्रमसँगै सहकार्य भएको बताइन् । महासंघका अध्यक्ष अधिकारीले हाल महासंघमा २७६ पत्रकार रहेकोमा अन्यत्र दुर्घटना बीमा भएकालाई घटाएर बाँकी सबैको बीमा गरिने बताए । संस्थागत रुपमा नगरपालिकासँग सम्झौता गर्न पाएकोमा खुसी प्रकट गर्दै अध्यक्ष अधिकारीले यसबाट पत्रकार र परिवार लाभान्वित हुने बताए ।

उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवन शाखाका सल्लाहकार राधेश्याम खतिवडा, तिलकराम रिमाल, महासंघका पदाधिकारी तथा कार्यसमिति सदस्य, नगरपालिकाका वडाध्यक्षहरु एवं कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Write your Comment