आज:  २०८१ बैशाख २७, बिहिबार | Thu, 09, May, 2024 Search
FLASH NEWS

कालीगण्डकी कोरिडोर : गैँडाकोट-रामपुर खण्ड अन्तिम चरणमा

    प्रकाशित २०७९ पौष १६, शनिबार (१ साल अघि)


गैँडाकोट। नवलपुरको गैँडाकोटदेखि पाल्पाको रामपुर (१३२ किलोमिटर) जोड्ने कालीगण्डकी कोरिडोरको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी कोरिडोरको १३२ किलोमिटर सडक खण्डको निर्माण कार्य सुरु भएको ६ वर्षमा सम्पन्न हुन लागेको र आयोजना सम्पन्न हुन लागेकोमा स्थानीयवासी खुसी भएका बुलिङटारका प्रेमबहादुर थापामगरले बताए । भारतीय सीमानाका सुनौलीदेखि चीनतर्फको सीमानाका कोरलासम्म ४३५ किमि लामो राजमार्गलाई कालीगण्डकी कोरिडोर भनी राष्ट्रिय गौरवको आयोजनाका रूपमा २०७५ मङ्सिर १७ मा निर्माण कार्य सुरु भएको थियो ।

पाल्पाको राम्दीबाट पूर्वी नवलपरासीको गैँडाकोटसम्म ठेक्का पाएको भारतीय कम्पनी ईकेके कन्स्ट्रक्सन प्रालिले ८० प्रतिशत काम सकेको र अब २० प्रतिशत काम आगामी वैशाखसम्ममा सक्नेगरी काम द्रुत गतिमा भइरहेको आयोजनाका इन्जिनियर हेमराज ओलीले बताए । चार वर्षमा सम्पन्न हुने लक्ष्य लिइएको सो सडक आयोजना करिब पाँच अर्ब ४७ करोडमा ठेक्का भएको थियो । ठेक्का पाएको भारतीय कम्पनी ईकेके कन्स्ट्रक्सनले स्थानीय ठेकेदारको प्रयोग गरी सो सडक निर्माण सुरु गरेको आयोजनाका ठेकेदार पक्षका साइड इन्चार्ज कपिल गौलीले बताए ।

सो आयोजनाका इन्जिनियर हेमराज ओलीका अनुसार यो सडकमा धेरैजसो काम सकिएको र अब थोरै मात्र कालोपत्र गर्न रहेको छ । एउटा खोलामा पुल बन्न बाँकी रहेको र त्यो पनि समयमै सक्नेगरी काम भइरहेको आयोजनाले जनाएको छ । यो खण्डको ठेक्का पाएको भारतीय कम्पनी ईकेके कन्स्ट्रक्सनले स्थानीय नेपाली ठेकेदार गौली ग्रुपलाई ठेक्का दिएको थियो । निर्माण कार्यसमेत अन्तिम चरणमा पुगेपछि पूर्वी नवलपरासीको बुलिङटार र बौदीकाली गाउँपालिका, पाल्पाको निस्दी गाउँपालिका, रामपुर नगरपालिकासँगै अन्य पालिकाहरू, स्याङ्जाको दक्षिणी भेगका जनता यो सडकसँग प्रत्यक्ष जोडिनेछन् । यो मध्यपहाडी मार्गका रूपमा अघि बढाइएको र यसले कोरला नाकासमेत जोड्नेछ भने रोल्पा, रुकुम, बागलुङसँग सिधा सम्पर्क हुने आयोजनाले जनाएको छ । आयोजनाको सडक ११ मिटरको चौडाइमध्ये सात मिटरमा कालोपत्रे, एक–एक मिटरको किनारा र एक–एक मिटरको नाला हुने गरी कालोपत्रको काम अन्तिम चरणमा पुगेको छ ।

सडक निर्माणको जिम्मेवार कम्पनी ईकेके इन्फ्रास्ट्रक्चर लिमिटेड भारतले सडक निर्माणका लागि नेपाली कम्पनीलाई समेत संलग्न गराएको हो । नेपाली कम्पनीमध्येका आशिष निर्माण सेवा भरतपुरका साइड इन्चार्ज कपिल गौलीका अनुसार पाल्पा क्षेत्रबाट निर्माण कार्य गरिँदै आएको कोरिडोरको ८५ किलोमिटर सडक फराकिलो अर्थात् (मापदण्डअनुसार ११ मिटरको बनाउने कार्य सकिएको बताए । चारवटा खण्ड बनाएर काम भएको, कटिङको कामसमेत सकिएको गौलीले बताए ।

यस कोरिडोरका चार खण्डमध्ये कालीगण्डकी चोकदेखि बुलिङटारको थामबेसीसम्म, थामबेसीदेखि भारतीपुर, भारतीपुरबाट भलायटार र भलायटारदेखि पाल्पा रामपुरको पीपलडाँडासम्म रहेको र २०७५ मङ्सिर १७ गतेबाट निर्माण कार्य सुरु गरिएको थियो । कालीगण्डकी कोरिडोरको १३२ किलामिटरमध्ये ३९ वटा पुल निर्माण कार्य सम्पन्न भएको छ भने हालसम्म ८० प्रतिशत काम सम्पन्न भएको नेपाल सरकारका तर्फबाट सडक हेर्ने सबइन्जिनियर पदम अधिकारीले बताए ।
गोरखापत्र दैनिक

Write your Comment