आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024 Search
FLASH NEWS

हिंसा अन्त्यका लागि सबैको सहकार्य आवश्यक छ: सरोकारवाला

    प्रकाशित २०७९ पौष ८, शुक्रबार (१ साल अघि)


कावासोती। हिंसा अन्त्यका लागि सबैको सहकार्य आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् । शुक्रबार कावासोती नगरपालिका वडा न ३ मा किशोरी अधिकार संरक्षणका लागि सरोकारवालाहरुसँग वडास्तरीय छलफल सो कुरा बताएका हुन् ।क्यान्नलानको सहयोगमा जागृति बाल तथा युवा सरोकार नेपालको आयोजना तथा कावासोती नगरपालिका वडा न ३ र सामुदायिक सेवा केन्द्र नवलपुर सह आयोजनामा सो कार्यक्रम भएको हो ।


जागृति बाल तथा युवा सरोकार नेपालका सहजकर्ता राधादेवि बोटेले कावासोती नगरपालिकामा संचालन भईरहेको किशोरी सशक्तीकरण कार्यक्रमको बारेमा जानकारी दिइन् । उनले किशोरी माथि हुने हिंसाको बारेमा सबै जना मिलेर काम गर्न समेत अनुरोध गरिन् ।

कार्यक्रममा जागृति बाल तथा युवा सरोकार नेपालका सदस्य राजु चापागाईंले संस्थाले गर्दै आइरहेको कामहरुको जानकारी दिदै बालबालिका माथि हुन सक्ने सम्भाव्य हिंसा ,अपराधहरुका बारेमा सहजीकरण गरेका थिए । उनले बालश्रमको परिचय, बालश्रम गराएमा हुने सजाय,विद्युतिय अपराधबाट बच्ने उपाय, सामाजिक संजाल प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराको बारेमा सचेत गराएका थिए । बालबालिका , किशोरी माथि भएका हिंसा दुर्व्यवहार न्यूनीकरण गर्न समुदायको भुमिका,बालबालिकालाई दण्ड सजाय दिदा पर्ने नकारात्मक प्रभावको बारेमा बताउँदै चापागाईंले बालबालिकालाई सकारात्मक बाटोमा लैजान अभिभावक नै सहि बाटोमा हिड्नुपर्ने कुरामा जोड दिएका थिए।


विद्यालय प्रतिनिधि शिक्षकहरुले बालबालिकाहरुलाई रचनात्मक रुपमा सिकाउनुपर्ने बताए । उनीहरुका अनुसार बालबालिकाको संरक्षणको पहिलो भुमिका अभिभावकको हुने भएकालेे अभिभावकले बालबालिकाको सबै गतिविधिमा ध्यान दिनुपर्ने र पहिला आफैं परिवर्तन हुनुपर्ने कुरामा जोड दिए।हिंसाको बारेमा बालबालिकालाई सचेत बनाएर उनीहरुमाथि हुने हिंसा अन्त्यका लागि अभियान नै थाल्नुपर्ने उनीहरुले बताए।

सामुदायिक सेवा केन्द्र नवलपुरका अध्यक्ष नारायणी भट्टराईले बालबालिकालाई सानै देखि राम्रो कुराहरु सिकाउनुपर्ने, समुदायमा बालविवाह र घरेलुु हिंसालाई अझै पनि नियन्त्रण गर्न नसकिएकोले यसका लागि टोल समुदायबाट सबै जना जागरुक भएर पहल गर्नुपर्ने बताइन् । पुरुष र महिला दुवैले सहकार्य गर्दै बालबालिका माथि हुने हिंसा र महिला हिंसा अन्त्य गर्न आफ्नै घरबाटै सुरुवात गरि सचेत नागरिक बन्नको लागि सुझाव दिइन् ।


कावासोती वडा नं. ३ का अध्यक्ष डोरमान गिरीले समुदायमा भएका समस्याहरुलाई त्यसको प्रकृति अनुसार टोल समुदायमा नै समाधानका लागि कार्य गरिरहेको जानकारी दिँदै सबै जिम्मेवार व्यक्तिहरुले आफ्नो टोल समुदायलाई दुर्व्यवहार विकृति विसंगतिमा फस्न नदिनको लागि सबै क्षेत्रबाट समस्याहरुलाई नियन्त्रण र निरुत्साहित गर्न सबैको समान भुमिका रहने कुरा बताएका थिए।

वडाअध्यक्ष डोरमान गिरीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्यहरु ,सामुदायिक सेवा केन्द्र नवलपुरका अध्यक्ष नारायणी भट्टराई, टोल विकास संस्थाका प्रतिनिधिहरु, विद्यालयका शिक्षक प्रतिनिधिहरु, अभिभावकहरु, जागृति बाल तथा युवा सरोकार नेपालका बोर्ड सदस्य तथा कर्मचारी लगायतको ६० जनाको सहभागिता रहेको थियो ।

Write your Comment