आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024 Search
FLASH NEWS

नवलपुरमा दश करोड ५६ लाख मूल्य बराबरको सुन्तला उत्पादन

    प्रकाशित २०७९ पौष ४, सोमबार (१ साल अघि)

दयाराम आचार्य,नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरमा यस वर्ष रु. दश करोड ५६ बढी मूल्य बराबरको सुन्तला उत्पादन भएको छ । यहाँका सुन्तला खेती गर्ने किसानले यस वर्ष रु.१० करोड ५६ लाख २५ हजार बराबरको सुन्तला बिक्रि गरेको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना ,परियोजना कार्यान्वयन इकाइ नवलपुरका प्रमुख विष्णु शर्माले जानकारी दिनुभयो ।

कार्यालय प्रमुख शर्माका अनुसार यसवर्ष नवलपुरमा एक हजार ६२५ मेट्रिकटन सुन्तला उत्पादन भएको छ । यो गत वर्ष भन्दा करिब २० प्रतिशतले बढि सुन्तला उत्पादन भएको उहाँले बताउनुभयो । अनकूल मौसम , बगैँचा व्यवस्थापनमा सुधार ,क्षेत्रफल बिस्तारले सुन्तला उत्पादनमा वृद्धि भएको कार्यालय प्रमुख शर्माले बताउनुभयो । पहिले सामान्य रुपमा सुन्तला लगाउने किसानले जिल्लामा सुन्तला जोन कार्यक्रम पछि सरकारबाट विभिन्न खालका प्राविधिक सहयोग र अनुदान प्राप्त गरेपछि यसतर्फ आकर्षण बढ्दै गएको उहाँले बताउनुभयो । यसले क्रमश सुन्तला उत्पादनमा वर्षेनी वृद्धि हुने उहाँको भनाई छ । ‘यस तर्फ किसान आकर्षित छ, आम्दानी पनि राम्रो गरेकाछन् , जोन कार्यक्रमबाट प्राविधिक सहित , अनुदानका कार्यक्रमले सुन्तला खेती तर्फ लाग्नेको संख्या बढाउँदै गएको छ’ कार्यालय प्रमुख शर्माले भन्नुभयो ‘ भोलीका दिनमा थप उत्पादन बढ्दै जाने देखिन्छ।’

नवलपुरको बौदिकाली, बुलिङटार , गैँडाकोटको पहाडी क्षेत्रमा सुन्तला खेती लगाउने किसानको संख्या धेरै रहेको छ । कार्यालय प्रमुख शर्माका अनुसार नवलपुरमा हाल ४ सय ३८ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ ।जिल्लामा उत्पादन भएको सुन्तलाको बजारीकरण ठूला शहरहरु हुने गरेको छ । स्थानीय बजार सहित नारायणगढ ,काठमाण्डौंमा जिल्लाबाट उत्पादन भएको सुन्तला खपत हुँदै आएको उहाँको भनाई छ ।

जिल्लामा उत्पादन भएको सुन्तलाबाट यहाँका किसानले राम्रो आम्दानी गर्ने गरेकाछन् । बबको सुन्तला किसा देउबहादुर रानाले यसपट उत्पादन राम्रो हुँदा आम्दानी पनि राम्रो भएको बताउनुभयो । पहाडी क्षेत्र अन्र्तगत बौदिकाली –५, बबक सुन्तला उत्पादनका लागि प्रख्यात क्षेत्र मानिन्छ । यहाँका करिब सबै जसो स्थानीय सुन्तला खेतीमा लागेका छन् । अहिले समय राम्रो हुँदा उत्पादन राम्रो भएको र आम्दानी समेत बढेको रानाले बताउनुभयो । सुन्तला जोन कार्यक्रम मार्फत प्राविधिक सहयोग सहित बगैँचा व्यवस्थापनमा सहयोग सहित विभिन्न अनुदान प्राप्त गर्दा गाउँमा सुन्तला खेती तर्फ किसानको आकर्षण बढेको उहाँले बताउनुभयो । ‘अरुबाली लगाउ खासै हुँदैन, केहिवर्ष यता सुन्तलाबाट आम्दानी हुन थालेपछि धेरै जसो यसतर्फ लागेका छन्’ उहाँले भन्नुभयो ‘यहाँका स्थानीयको आम्दानीको बलियो स्रोत बनेको छ ।’

जिल्लामा यस वर्ष सुन्तलासँगै कागती उत्पादनबाट समेत किसानले लाभ लिएका छन् । यस वर्ष २ सय ४० मेट्रिकटन कागती र ७५ मेट्रिकटन निबुवा उत्पादन भएको परियोजना कार्यान्वयन इकाइ नवलपुरका प्रमुख शर्माले बताउनुभयो । किसानले यसको बिक्रिबाट क्रमश रु. २ करोड ४० लाख र रु. १८ लाख ७५ हजार प्राप्त गरेको उहाँले बताउनुभयो । सुन्तला ,कागती र निबुवा गरि अमिलोजातको फलफूल बिक्रिबाट यहाँका किसानले कुल रु. १३ करोड १५ लाख आम्दानी गरेको कार्यालय प्रमुख शर्माले बताउनुभयो ।

Write your Comment