आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024 Search
FLASH NEWS

मौलाकालिका केबलकार फागुनदेखि सञ्चालनमा आउने

    प्रकाशित २०७९ पौष ४, सोमबार (१ साल अघि)

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकामा रहेको मौलाकालिका मन्दिर जान अबको तीन महिनाभित्र केबलकार चढ्न पाइने भएको छ । निर्माण कम्पनी मौलाकालिका केबलकार प्रालिले आउँदो फागुन महिनाभित्र केबलकार निर्माण सम्पन्न गरी सञ्चालन गर्ने तयारी गरेको छ ।

गैँडाकोट–१ स्थित ऐतिहासिक महत्त्व बोकेको धार्मिकस्थल मौलाकालिका मन्दिरमा जानका लागि केबलकारको निर्माण अन्तिम चरणमा रहेको कम्पनीका व्यवस्थापक गोकुल सावदले बताए ।

यसका लागि स्थानीय धार्मिक र सामुदायिक वनको सानाठूला गरी एक हजारभन्दा बढी रुख कटान गरिएको थियो । वन मन्त्रालयले दिएको स्वीकृतिका आधारमा सालसहित एक हजार ३८ रुख काटिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

आइएमई समूहले गैँडाकोटमा केबलकार सञ्चालनमा ल्याउन लागेको हो । मौलाकाली केबलकार प्रालिले करिब एक अर्ब ५० करोड रुपैयाँको लागतमा आयोजना अगाडि बढाएको हो । यही पुस महिनाबाट सञ्चालनमा ल्याउने तयारीसहित केबलकार निर्माण अगाडि बढाइएको भए पनि कोरोनालगायत विभिन्न कारणले निर्माणमा ढिलाइ भएको कम्पनीले जनाएको छ ।

केबलकार आयोजनामा ५१ प्रतिशत सेयर मुख्य लगानीकर्ता आइएमई समूह र बाँकी ४९ प्रतिशत लगानी स्थानीयको रहने आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । स्थानीयले कम्तीमा ५० हजारदेखि बढीमा पाँच लाख रुपैयाँसम्म लगानी गर्ने ढकालको भनाइ छ । केबलकारले स्थानीयसहित करिब ४०० व्यक्तिलाई रोजगारी दिने कम्पनीले जनाएको छ ।

मौलाकाली मन्दिरनजिकै रहेको हेलिप्याडमा ५० कोठाको होटेल, लज पनि निर्माणाधीन अवस्थामा रहेको व्यवस्थापक सावदले बताए ।

मन्दिरनजिकै रहेको हेलिप्याडमा केबलकारको टपस्टेसन निर्माण हुनेछ भने मौलाकालिका फेदीमा रहेको धारापानीमा बटम स्टेसन हुने उनले जानकारी दिए । “हेलिप्याड भएको ठाउँमा टपस्टेसन निर्माण गरे पनि हेलिप्याड समेत निर्माण हुन्छ,” उनले भने, “टपस्टेसनको माथि होटेल र त्योभन्दा माथि हेलिप्याड राख्ने गरी निर्माणको काम भइरहेको छ ।”

केबलकारको एकतर्फी लम्बाइ एक हजार २०० मिटर लामो हुनेछ । यसका लागि ६ टावर निर्माण गरिनेछ । केबलकारमा १४ डब्बा राखेर यात्रु ओसारिने जनाइएको छ ।

केबलकारमा थप एउटा सामान बोक्ने र अर्को एउटा सर्भिसिङ डब्बा हुनेछन् । एउटा डब्बामा एकपटकमा आठ यात्रु अटाउने क्षमता छ । हरेक डब्बा एक स्टेसनबाट अर्को स्टेसन पुग्न पाँच मिनेट लाग्ने कम्पनीले जनाएको छ ।

केबलकार सञ्चालनमा आएपछि प्रतिदिन ६ हजार यात्रु आवतजावत गराउन सकिने कम्पनीको विश्वास छ । केबलकार सञ्चालनमा आएपछि भक्तजन १० मिनेटको यात्रामा मौलाकाली मन्दिर पुग्ने व्यवस्थापक सावदले बताए । अहिले मन्दिर पुग्न एक हजार ८८२ खुड्किला उक्लँदा करिब ४५ मिनेट समय लाग्ने गरेको छ ।

केबलकारका लागि ५६ रोपनी जग्गा अधिग्रहण गरिएको छ । कम्पनीले त्यसबापत सरकारलाई ५८ रोपनी जग्गा सट्टाभर्ना दिएको छ । कम्पनीले पूर्वी नवलपरासीकै मिथुकरम (दुर्गम पहाडी) गाउँको जग्गा किनेर सरकारलाई दिएको हो । चन्द्रागिरि हिल्स र मनकामना केबलकार निर्माण गरेको अस्ट्रेलियन कम्पनीले नै मौलाकाली केबलकार निर्माणको काम गरिरहेको जनाइएको छ । रासस

Write your Comment