आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

गण्डकीमा ६१ हजार मत बदर, आयोगले बुझायो प्रतिवेदन

    प्रकाशित २०७९ पौष ३, आईतबार (१ साल अघि)


पोखरा। गण्डकी प्रदेशमा समानुपातिक तर्फ ६१ हजार भन्दा बढी मत बदर भएको छ । मंसिर ४ गते सम्पन्न निर्वाचन अन्तर्गत समानुपातिक तर्फ ६१ हजार ३ सय ३३ मत बदर भएको हो । १० लाख ४७ हजार १ सय ३५ मत खसेकोमा ९ लाख ८५ हजार २ मत मात्रै सदर भएको आयोगले जनाएको छ । जसमध्ये ५.८६ प्रतिशत मत बदर भएको हो ।

यस्तै, प्रत्यक्ष तर्फ भने ३४ हजार १३ मत मात्रै बदर भएको छ । १० लाख ४६ हजार ७ सय २८ मत खसेकोमा १० लाख १२ हजार ७ सय १५ मत सदर भएको हो । ३.२५ प्रतिशत मत बदर भएको आयोगका आयुक्त ईश्वरी प्रसाद पौडेलले जानकारी दिए । गण्डकीमा यस निर्वाचनका लागि १८ लाख १७ हजार ५ सय ४१ मतदाता थिए । त्यसमध्ये ९ लाख ३५ हजार २ सय १ महिला र ८ लाख ८२ हजार ३ सय २९ पुरुष तथा ११ जना अन्य समुहका मतदाता थिए ।

गत निर्वाचनमा समानुपातिक तर्फ २४ वटा दलको धरौटी जफत भएको छ । प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार कुनै राजनीतिक दलले कम्तीमा एक सिट प्राप्त नगरेमा त्यस्तो दलले राखेको धरौटी जफत हुने व्यवस्था छ । प्रत्यक्ष तर्फ १० प्रतिशत मत नकटाएका १ सय ५० जनाको पनि धरौटी जफत गरिएको छ । १ सय २५ पुरुष र २५ जना महिलाको धरौटी जफत भएको हो ।

यस्तै, निर्वाचनमा भाग लिएकामध्ये ७ वटा दलले मात्रै यहाँ थ्रेस होल्ड कटाएका छन् । कुल सदर मतको १.५ प्रतिशत मत ल्याउने दलको थ्रेस होल्ड कट्छ । तर ४ वटा दलले मात्रै सांसद पाएका छन् । एमालेले १०, कांग्रेसले ९, माओवादीले ३ र राप्रपाले २ सीट समानुपातिक सांसद पाएको हो ।

निर्वाचनमा प्रत्यक्षतर्फ २४ र समानुपातिक निर्वाचनतर्फ ३१ दलले सहभागिता जनाएका थिए । प्रत्यक्षमा २ सय ६ पुरुष र २९ महिला गरी २ सय ३५ उम्मेद्वार थिए भने समानुपातिकमा ३ सय ४४ जना उम्मेद्वार थिए । ६० सदस्यीय गण्डकी प्रदेश सभामा ३६ जना प्रत्यक्षबाट र २४ जना समानुपातिक तर्फबाट निर्वाचित भएका हुन् ।

यसैबीच, उक्त प्रतिवेदन पौडेलले गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई बुझाएका छन् । गुरुङले शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई धन्यवाद दिएका छन् ।

Write your Comment