आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024 Search
FLASH NEWS

नवलपुरमा भूकम्प प्रभावित आवासको पुनरावेदन दिएका ७६ जनाको पुननिर्माण हुँदै

    प्रकाशित २०७९ पौष २, शनिबार (१ साल अघि)

नवलपुर । नवलपुरमा भूकम्प प्रभावित आवासको पुनरावेदन दिएका ७६ जनाको पुननिर्माणको काम सुरु भएको छ । चार सय भन्दा बढी भूकम्प प्रभावित पुनरावेदकहरुको फैसला हुन बाँकी रहेको राष्ट्रिय पुननिर्माण प्राधिकरण पुनरावेदन समितिले जनाएको छ।नवलपुरको देवचुली नगरपालिकामा हाल १ सय ४८, हुप्सेकोट गाउँपालिकामा १ सय २७, बुलिङ्टार गाउँपालिकामा १ सय २६ र बौदिकाली गाउँपालिकामा ४९ गरि जम्मा ४ सय ५० पुनरावेदनका लागि दर्ता भएको छ ।

राष्ट्रिय पुननिर्माण प्राधिकरण पुनरावेदन समितिले २०७२ सालको भूकम्प प्रभावित पुनरावेदकहरुको पुनरावेदन सम्बन्धी न्यायिक अन्तरसंवाद कार्यक्रम देवचुली नगरपालिकामा सम्पन्न गरेको छ । शुक्रबार देवचुली नगरपालिकाको कार्यालयमा वि.सं २०७२ सालमा आएको विनासकारी भूकम्पले बढि क्षति पुर्‍याएको नवलपुरका ४ पालिकाका जनप्रतिनिधिहरुको सहभागितामा छलफल गरेको हो । देवचुली नगरपालिका, हुप्सेकोट गाउँपालिका, बुलिङ्गटार गाउँपालिका र बौदिकाली गाउँपालिकामा भूकम्पले बढि मात्रामा क्षति पुर्‍याएको थियो । नवलपुर जिल्लाका ४ वटा पालिकाका ७६ जनाको प्रमाणिकरण भई घर निर्माण कार्य भइरहेको छ ।

कार्यक्रममा देवचुली नगरपालिकाका नगरप्रमुख हरिप्रसाद न्यौपानेले नगरभित्र रहेका पुनरावेदन दिएका सबैको आवास निर्माण गर्नुपर्ने बताउनुभयो । पुननिर्माण हुँदै गरेका आवासहरुको समयमै भुक्तानी गर्न समेत नगरप्रमुख न्यौपानेले आग्रह गर्नुभयो। पीडामा परेकाहरुलाई मलम लगाउने काम ढिला भएको भन्दै पीडितहरुलाई आवास निर्माण कार्यलाई तत्काल गर्नुपर्ने कुरामा न्यौपानेले जोड दिनुभएको थियो ।

यसैगरि हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवि पाण्डेले नवलपुर जिल्लाको पहाडी भेगमा रहेको हुप्सेकोट गाउँपालिकामा पनि २०७२ सालको भूकम्पले विनाश गरेको बताउँदै भूकम्प प्रभावित व्यक्तिहरुले धेरै गुनासो गरेको बताउनुभएको थियो । सरकारले भूकम्प प्रभावितलाई वास्ता नगरेको भन्दै सरकारसँग रुष्ट रहेको बताउनुभएको थियो ।

सघन शहरी विकास तथा भवन निर्माण आयोजना चितवनका प्रमुख प्रकाश अर्यालले पुनरावेदन समितिले निर्णय गर्न ढिला गरेकोले काम गर्न ढिला भएको बताउनुभएको थियो । नवलपुर र चितवनमा पुननिर्माणको काम हेरिरहेको आयोजना प्रमुख अर्यालले जनशक्तिको कमिले नवलपुरमा ७६ जनाको पुननिर्माण हुँदै गरेको आवासको काममा ढिला भएको बताउँदै स्थानीय सरकारसँग समन्वय गर्दै बाँकी कामलाई पूरा गर्ने बताउनुभयो ।

कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राष्ट्रिय पुननिर्माण प्राधिकरण पुनरावेदन समितिका माननीय सदस्य भिष्मराज कडरियाले नेपाल सरकारबाट हुनुपर्ने काम समयमा नहुँदा आफूहरुलाई मुख्य समस्या भएको भन्दै अब बाँकी रहेको काम तत्कालै सम्पन्न गर्ने योजनामा रहेको बताउनुभयो।प्राविधिक कारणले नवलपुरको केही तथ्यांकहरु छुट हुन जाँदा फैसला ढिला हुन पुगेको भन्दै नवलपुरका बाँकी रहेका फैसलाहरुलाई स्थानीय सरकारसँग समन्वय गर्दै सरोकारवालाहरुसँग भर्चुअल माध्यमबाट सुनुवाइ गर्ने उहाँले बताउनुभयो । यही पौष ९ गतेसम्म म्याद रहेको समितिको त्यस अगाडि फैसला गर्ने तयारी रहेको समेत उहाँले बताउनुभयो ।

कार्यक्रममा देवचुली नगरपालिकाका १७ वटै वडाका वडाध्यक्ष, वडा सदस्य, बुलिङ्टार गाउँपालिकाका उपाध्यक्ष दिलमाया राना, बौदिकाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर बस्नेत लगायतले आफ्ना क्षेत्र भित्र रहेका भूकम्प प्रभावित व्यक्तिहरुका गुनासा राख्नुभएको थियो । सो कार्यक्रमको सहजीकरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राष्ट्रिय पुननिर्माण प्राधिकरण पुनरावेदन समितिका नासु चन्द्रकान्त पौडेलले गर्नुभएको थियो ।

Write your Comment