आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024 Search
FLASH NEWS

हराउँदै परालको गुन्द्री बुन्ने पुर्ख्यौली सीप

    प्रकाशित २०७९ मंसिर २१, बुधबार (१ साल अघि)

कावासोती। पहिले–पहिले परालको गुन्द्री नभएको घर नै हुँदैन थियो । पछिल्लो समय गुन्द्री विरलै देख्न पाइन्छ । कात्तिकमा धान काटेपछि अलि लामो पराल छुट्याएर गुन्द्री बुन्ने चलन गाउँघरमा अझै पनि कहीँकतै छँदैछ । परालको गुन्द्री वर्षभरि ओछ्याउन, बस्न, अन्न सुकाउन, गाईवस्तुलाई गोठमा बार लगाउन र आफन्तलाई उपहार दिन बढी प्रयोग गरिँदै आएको हो ।

न्यानो र स्वस्थकर मानिने यस्ता गुन्द्री प्रयोग भने हिजोआज घट्दै गएको छ । गाउँमा कहीँकतै गुन्द्रीका तान देख्दा नयाँ पुस्तालाई नौलो लाग्न थालेको छ । बाबियो वा जुटको डोरीको तानमा पराल मिलाएर राखेपछि एक–दुई दिनमै तयार हुने गुन्द्री अहिले कमै मात्रामा पाइन्छ । गाउँ–गाउँमा सिमेन्टेड पक्की घर निर्माणको चलनसँगै घरेलु हस्तकलाका सामग्री बुनेर प्रयोग गर्ने चलन पनि फेरिएको छ । विकल्पमा बजारमा पाइने प्लास्टिकका गुन्द्री अहिले गाउँघरमा भित्रिएका छन् ।

कावासोती नगरपालिका–११ लालकुमारी महतोले विगतका वर्षहरूमा फुर्सदको समय गुन्द्री बुन्ने गरे पनि अहिले गुन्द्री बुन्न छोडेकी छन् । पक्की घरमा मात्रै नभएर छरितो र सफाका लागि कच्ची घरमा समेत परालका गुन्द्रीको प्रयोग घटेको छ । आफैँले बुन्ने गुन्द्रीका लागि श्रम र समय लाग्ने भएकाले पनि सजिलो विकल्पका रूपमा प्लाष्टिकको गुन्द्री रोजाइमा पर्न थालेको महतो बताउँछिन् ।

घरमा बुनेको गुन्द्रीमा लागत धेरै लाग्ने भएकाले पनि घरमा गुन्द्री बुन्ने चलन घट्दै गएको कावासोती–११ की भीमकुमारी भट्टराईले बताइन् । ‘पराल, जुट किनेर आफ्नो मेहेनत जोड्दा एउटा गुन्द्रीको सात सय जति पर्न जान्छ । परालको एउटा गुन्द्रीको पैसाले प्लास्टिकका तीन गुन्द्री पाइन्छन्, टिकाउ र सफा पनि हुन्छ’, उनले भनिन् ।

गुन्द्री बुन्नका लागि समय लाग्ने हुँदा पछिल्लो पुस्ताले यो चलनलाई छाड्दै गएको कावासोती नगरपालिका–११ की लक्ष्मी भुसाल बताउँछिन् । समय धेरै लाग्ने र झन्झटिलो मान्ने हुँदा अहिलेका छोरी–बुहारीले यसप्रति चासो नदिएको उनको बुझाइ छ । ‘गुन्द्री बुन्नका लागि नयाँ पुस्तालाई सिक्ने चासो छैन । यसरी चासो नदिने हो भने हाम्रो परम्परा हराउँदै जान्छ । गाउँको भन्दा सहरिया उत्पादनले बढी ठाउँ ओगट्ने हुन्छ । तुलनात्मकरूपमा प्लाष्टिकको गुन्द्री चिसो हुने र महँगो पनि पर्ने हुँदा यो चलनलाई जोगाउनुपर्छ’, उउनले भनिन् ।

बजारमा पाइने प्लाष्टिकबाट बनेका गुन्द्रीको प्रयोगले पुख्र्यौली सीप हस्तान्तरणमा पनि कमी आएको कावासोती नगरपालिका–११ का वडाध्यक्ष शारदाप्रसाद अधिकारी पौडेलले बताए । नयाँ पुस्ताले चासो नदिनुका साथै परम्परागत सीप हस्तान्तरणको अभावमा गाउँघरमै अहिले गुन्द्री बुन्न जान्नेको सङ्ख्या पनि घट्दै गएको हो ।

आधुनिकता र बजारीकरणको प्रभावले घरको आँगनमै तान हालेर गुन्द्री बुन्ने परम्परालाई जोगाउन नयाँ पुस्तालाई सीप हस्तान्तरण र पुराना परम्पराको महत्व सिकाउनुपर्ने उनको भनाइ छ । रासस

Write your Comment