आज:  २०८१ आश्विन १८, शुक्रबार | Fri, 04, Oct, 2024 Search
FLASH NEWS

पदयात्राको गन्तव्य ‘देवचुली डाँडा’

    प्रकाशित २०७९ मंसिर १३, मंगलबार (१ साल अघि)


नवलपुर । पदयात्रा रुचाउनेका लागि अहिले नवलपुरको ‘देवचुली डाँडा’ प्रमुख गन्तव्य बनेको छ । नवलपरासी ( बर्दघाट सुस्तापूर्व ) नवलपुरको देवचुली नगरपालिकामा पर्ने ‘देवचुली डाँडा’ पुग्नेको संख्या हिजो आज उल्लेख्य हुने गरेको छ । समुद्र सहतदेखि करिब १ हजार ९३४ मिटरको उचाइमा रहेको पर्यटकीय क्षेत्र ‘देवचुली डाँडा’ नवलपुर सहित आसपासका जिल्लाका पदयात्रीहरूको रोजाईमा पर्ने गरेको छ । पत्रयात्राका लागि आन्तरिक पर्यटकको प्रमुख रोजाइ अहिले ‘देवचुली डाँडा’ पर्ने गरेको छ ।

यहाँबाट नवलपुरका विभिन्न भूभाग सहित तनहुँ, पाल्पा, कास्कि, चितवनका भूभागहरू अवलोकन गर्न सकिन्छ । देवचुली डाँडाको चुचुरोबाट उत्तरतर्फ देखिने मनमोहक हिम शृङ्खलाको दृश्यले यहाँ पुग्ने जो कसैलाई आनन्दित बनाउँछ । साथै दक्षिणतर्फ नारायणी नदि, पूर्व पश्चिम राजमार्ग छेउका घना बस्ती, चितवन राष्ट्रिय निकुञ्जको क्षेत्र सहित समथर भूभाग डाँडाबाट सहजै अवलोकन गर्न सकिन्छ ।


पर्यटकीय दृष्टिले ‘देवचुली डाँडा’ निक्कै रमणीय रहेको स्थानीय लोक तिमिल्सिनाले बताउनुभयो । प्राकृतिक रुपमा निक्कै सुन्दर ठाउँ रहेको र यहाँ घुम्दा निक्कै रमाइलो अनुभुति भएको उहाँले बताउनुभयो । ‘साँच्चै ‘देवचुली डाँडा’ निक्कै रमाइलो ठाउँ रहेछ, पहिलो पटक आँए , डाँडाबाट नजिकै देखिने हिम शृंखला, पहाडका टाकुराहरू र दक्षिणमा देखिने फाँट निक्कै मनमोहक लाग्ने’ तिमिल्सिनाले भन्नुभयो । पदयात्राका क्रममा बिच भागमा आवश्यक मात्रमा होटल, अघिल्लो दिन आउनेका लागि स्तरीय आवासको व्यवस्था भए अझै राम्रो हुने उहाँले बताउनुभयो ।
‘देवचुली डाँडा’ पूर्व पश्चिम राजमार्गको दलदलेबाट उत्तरतर्फ रहेको छ । ‘देवचुली डाँडा’ जाने दुईवटा मार्ग रहेकाछन् । एउटा देवचुली नगरपालिकाको किर्तिपुर हुँदै र अर्को कुसोतबाट पोखरी हुँदै ‘देवचुली डाँडा’ जान सकिन्छ । किर्तिपुर र पोखरी सम्म यातायातको सुविधा रहेको छ । पोखरी हुँदै जाँदा करिब २० किलोमिटर दलदलेबाट उत्तर लाग्नुपर्छ । किर्तिपुरबाट जाँदा १२ किलोमिटरको दूरी पर्छ । त्यसपछि भने पैदलमार्ग सुरु हुन्छ । करिब ३ घण्टाको पैदलयात्रापछि ‘देवचुली डाँडा’ पुग्न सकिन्छ ।

‘देवचुली डाँडा’ जाने धेरै जसो पोखरी हुँदै जाने गरेका छन् । यो मार्ग हुँदै जाँदा ठाडो उकालो कमपर्ने हुनाले धेरैले यो मार्ग प्रयोग गर्ने गर्दछन् । यो मार्ग भएर जाने कतिपय अघिल्लो साँझनै बोझा पोखरी पुग्ने गर्दछन् । यहाँ घरबास समेत रहेकाले राति घरबासमा बस्ने ,पहाडका स्थानीय परिकार खाने, सांस्कृतिक कार्यक्रममा रमाइलोगर्ने र बिहानै पैदलयात्रामा निस्कने गर्दछन् । कतै वन, बिच भागतिर एकाध घर र साना साना फाँटहरू छिचोल्दै ‘देवचुली डाँडा’ पुगिन्छ । ‘देवचुली डाँडा’ पदयात्राका लागि जिल्लाकै उत्कृष्ट गन्तव्य रहेको कावासोतीका बुलेट सिग्देलले बताउनुभयो । तर पदमार्गलाई थप व्यवस्थित बनाउने , बिच बिचमा विश्राम स्थलहरू निर्माणगर्ने, खानेपानीको व्यवस्था गर्ने, पदमार्गमा बाटाको संकेत चिन्हहरु राख्ने हो भने अझै राम्रो हुने उहाँले बताउनुभयो । ‘केही पूर्वाधारको आवश्यकता रहेको छ, पदमार्ग राम्रो बनाउने, विश्राम स्थल,खानेपानीको व्यवस्थाहरू ठाउँ ठाउँमा बनाउन सके अझै राम्रो हुने थियो’ सिग्देलले भन्नुभयो । ‘रोट्रयाक्ट क्लब अफ नवलपुर सिटी’का अध्यक्ष समेत रहनुभएका सिग्देलले ‘देवचुली डाँडा’को विकासमा सरोकारवालाको ध्यान जानुपर्ने बताउनुभयो ।

‘देवचुली डाँडा’ जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्य भित्र समेत पर्ने गर्दछ । डाँडाबाट देखिने प्राकृतिक दृश्य सहित यहाँ प्राकृतिक गुफा, तीन कन्या माईको मन्दिर ,भ्यू टावर लगाएतका संरचनाहरु समेत रहेका छन् । परापूर्वकालमा यहाँ पाँच पाण्डवहरु गुप्तवास बसेको किंवदन्ति समेत रहेको छ ।

थारु समुदायले प्रत्यक वर्ष चैत पूर्णीमाका दिन देवचुली डाँडामा विशेष पुजा गर्ने गर्दछन् । सो दिन डाँडामा मेला समेत लाग्ने गर्दछ । थारु समुदायमा यहाँ पुजा आजा गर्नाले आफ्नो कुलमा सुख ,संवृद्धी हुने विश्वास रहिआएको छ ।

‘देवचुली डाँडा’ पर्यटकीय क्षेत्रका रुपमा नगरकै गौरव रहेकाले यस क्षेत्रको विकासमा आफूहरु लाग्ने देवचुली नगरपालिका नगर प्रमुख हरिप्रसाद न्यौपानेले बताउनुभयो । चालु आर्थिक वर्षको निति तथा कार्यक्रममा पर्यटकीय क्षेत्रको विकासमा देवचुली डाँडालाई प्राथमिकता दिएर समेटिएकाले आवश्यक पूर्वाधार निर्माणमा नगर लागिपर्ने उहाँले बताउनुभयो । ‘देवचुली डाँडा हाम्रो प्रमुख पर्यटकीय क्षेत्र हो, हामीले प्राथमिकता दिएका छौं,नगर मात्रै होइन आवश्यक परे निजि क्षेत्रलाई समेत समेटेर यस क्षेत्रलाई थप पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने योजना बनाएका छौं ’ नगर प्रमुख न्यौपानेले भन्नुभयो ।देवचुली नगरपालिकाको नामाकरण समेत यसै डाँडाको नामबाट गरिएको हो । रासस

Write your Comment