आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024 Search
FLASH NEWS

मतदातालाई भ्रमित गर्न सकिन्छ भन्नु सत्ता गठबन्धनको भुल : नेता महत

    प्रकाशित २०७९ कार्तिक २८, सोमबार (१ साल अघि)

चोरमारा । नेकपा एमालेका केन्द्रीय सदस्य एवम् नवलपुर क्षेत्र नं. २ का उम्मेदवार तिलक महतले गठबन्धनले गरेको भ्रमको खेति जनताले बुझेको बताउनु भएको छ ।

आइतबार मध्यविन्दु नगरपालिकाको वडा नं. ५, ६ र ७ को विभिन्न स्थानमा घरदैलो कार्यक्रम पछि भएका कोणसभालाई सम्बोधन गर्दै उहाँले नेकपा एमालेको नेतृत्वमा भएका कामको जस लिन गठबन्धनका उम्मेदवार र तिनका कार्यकर्ताले गरेका भ्रमबारे जनता सजक रहेको बताउनुभयो । उहाँले अझैपनि जनताको आँखाका छारो हाल्न सकिन्छ भन्ने भ्रमबाट निस्कन समेत गठबन्धनमा आवद्ध दलहरुलाई अनुरोध गर्नुभयो ।

उहाँले वर्तमान गठबन्धन सरकारको गठनपछि नवलपुर क्षेत्र नं. २ मा विकास निर्माणको काममा अवरोध सृजना भएको भन्दै त्यसको जवाफ अब मतदाताले मतदान मार्फत एमालेलाई निर्वाचित गरेर दिने बताउनुभयो । उहाँले एमाले नेतृत्वको केन्द्रीय सरकार र गण्डकी प्रदेश सरकारले विनियोजन गरेका र अगाडी बढाएका कतिपय योजनाहरुमा रकम कटौती भएको उल्लेख गर्नुभयो । उहाँले मतदान गर्नुपूर्व एमाले नेतृत्वको तिन वर्ष र गठबन्धन नेतृत्वको दुई वर्षमा भएका विकास निर्माण र प्रगतिको मुल्यांकन गर्न अनुरोध गर्नुभयो । आलोक चक्रपथ देखि झलुंगे पुलको लागि विनियोजन भएका बजेट गण्डकी प्रदेश सरकारको नेतृत्वमा कांग्रेस पुगेपछि कटौती भएको उहाँले स्मरण गर्नुभयो ।

‘एक पटक सम्झनुहोस् दुई वर्ष अगाडी खाने तेलको मुल्य कति थियो ?, दाल र चिनिको मुल्य कति पर्थ्यो, बाईकमा पेट्रोल कतिमा हाल्नुहुन्थ्यो ?’ उहाँले भन्नुभयो ‘हेर्नुहोस् त अहिले कति बढेको छ महंगी, अब फेरी यहीं गठबन्धन निर्वाचित हुने हो भने कहाँ पुग्छ हाम्रो दैनिकी ।’ महतले राष्ट्र र राष्ट्रियता रक्षाको लागि नेकपा एमाले र केपी ओलि नेतृत्वमा भएका कामहरुको स्मरण गर्न समेत मतदातालाई अनुरोध गर्नुभयो ।

उहाँले नेकपा एमालेले विगत देखि जित्दै आएको नवलपुर क्षेत्र नंं २ मा सत्ता शक्ति र सम्पतिको आडमा विजयी हुने दिवा सपना नदेख्न समेत प्रतिस्पर्धी उम्मेदवारलाई अनुरोध गर्नुभयो ।

Write your Comment