आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024 Search
FLASH NEWS

नवलपुरको पहाडी क्षेत्रमा अदुवा, अमिलो र अम्रिसो आम्दानीको स्रोत

    प्रकाशित २०७९ आश्विन २५, मंगलबार (१ साल अघि)


नवलपुर। जिल्लाको पहाडी क्षेत्रमा तीन ‘अ’ अर्थात् अदुवा, अमिलो र अम्रिसो आम्दानीको स्रोत बनेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रका बासिन्दाका लागि अदुवा, अमिलो जातका फलफूल र अम्रिसो आम्दानीको बलियो स्रोत बनेको हो । बौदिकाली, बुलिङटार, हुप्सेकोटसहित गैँडाकोट, मध्यविन्दु, विनयीत्रिवेणीका पहाडी क्षेत्रमा आम्दानी प्रमुख स्रोतमा अदुवा, अमिलो जातका फलफूल र अम्रिसो पर्ने गरेका छन् ।

पहाडी क्षेत्रमा अन्नबाली लगाउने क्षेत्र कम हुने गर्दछ । समथर क्षेत्र नहुने कारण पहाडी पाखामा किसानले अदुवा, अमिलो जातका फलफूल तथा सुन्तला र अम्रिसो लगाउने गरेका छन् । जसबाट उनीहरुले राम्रो आम्दानी लिने गरेका छन् । अदुवा, अमिलो जातका फलफूल, अम्रिसो उत्पादन भएपछि तुरुन्तै बिक्री गरी आम्दानी लिन सकिने भएकाले पनि पहाडी क्षेत्रका किसानका लागि तीन ‘अ’ नगदे बाली बनेको छ ।

कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी शङ्कर पौडेलका अनुसार गत वर्षमात्रै जिल्लामा नौ हजार नौ सय ५० मेट्रिक टन अदुवा उत्पादन भएको छ । जिल्लाको पहाडी क्षेत्रमा नौ सय ५० हेक्टर क्षेत्रफलमा अदुवा खेती हुँदै आएको उहाँले बताउनुभयो । अदुवा बिक्रीबाट किसानले राम्रो आम्दानी गरेको सूचना अधिकारी पौडेलले बताउनुभयो ।

कृषि ज्ञान केन्द्रले अदुवा उत्पादनलाई प्रोत्साहन गर्न जिल्लाको बौदिकाली-४ र हुप्सेकोट-६ मा अदुवा ब्लक कार्यक्रमसमेत सञ्चालन गरेको उहाँले बताउनुभयो । जसअन्तर्गत आवश्यक अनुदान तथा प्राविधिक सहयोग पुर्‍याउँदै आएको उहाँको भनाइ छ ।

यता अमिलो जातको फलफूलबाट समेत पहाडी क्षेत्रका किसानले मनग्य आम्दानी गर्दै आएका छन् । अमिलो जातका फलफूलअन्तर्गत सुन्तला खेती गर्दै आउनुभएका कृषक देउबहादुर फालका अनुसार पहाडी क्षेत्रका धेरैका लागि सुन्तला आम्दानीको स्रोत बनेको छ । “पहाडी पाखामा अरु केही हुन्थेन, अहिले धेरैजसोले सुन्तला लगाउने गरेका छन्, यसबाट पैसा पनि राम्रै आउने गरेको छ”, सुन्तला कृषक फालले भन्नुभयो, “सरकारले समेत प्रोत्साहन गरेको छ, यसले गर्दा थप हौसला मिलेको छ ।”

सुन्तलासहित कृषक कागती खेतीतर्फ पनि आकर्षित बन्दै गएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना नवलपुरका प्रमुख विष्णु शर्माले बताउनुभयो । सुन्तला र कागतीमा परियोजनाअन्र्तगत अनुदान र आवश्यक सहयोग प्रदान गर्न थालेपछि पछिल्लो समय यस खेतीमा लाग्ने किसान बढ्दै गएको उहाँले बताउनुभयो । परियोजनाअन्तर्गत बर्सेनि सुन्तला तथा कागतीका बिरुवासमेत अनुदानमा वितरण गर्दै आएकाले क्रमशः क्षेत्र विस्तार हुँदै गएको उहाँको भनाइ छ । अहिले पुराना सुन्तला तथा कागती खेती गर्ने किसानले आम्दानी लिने गरेको उहाँको भनाइ छ । भर्खर यसतर्फ लागेका किसानले केही वर्षभित्रमा उत्पादन गरी आम्दानी लिनसक्ने उहाँको भनाइ छ ।

परियोजना प्रमुख शर्माका अनुसार गत वर्ष किसानले एक हजार २० मेट्रिक टन सुन्तला र १६ दशमलव पाँच टन कागती उत्पादन गरेका छन् । रु पाँच करोड १० लाखको सुन्तला र रु २० लाख बराबरको कागती बिक्रीबाट आम्दानी भएको उहाँको भनाइ छ । परियोजनाले अमिलो जातको फलफूलमा अनुदानसहितका प्राविधिक सहयोग पुर्‍याउँदै आएकाले क्रमशः यसबाट थप आम्दानी हुँदै जाने उहाँको भनाइ छ । “हामीले जोन कार्यक्रमअन्तर्गत अमिलो जातका फलफूलमा अनुदानसहितका प्राविधिक सहयोग प्रदान गरिरहेका छौँ, कृषकहरू थप आकर्षित छन्”, उहाँले भन्नुभयो, “दुई-चार वर्षमा किसानले अहिलेको भन्दा दोब्बर आम्दानी लिनेछन् ।”

अदुवा र अमिलोसँगै अम्रिसोसमेत जिल्लाको पहाडी क्षेत्रका लागि आम्दानीको स्रोत बनेको छ । केही वर्ष पहिले नाङ्गा रहने पहाडी पाखा अहिले अम्रिसोले ढाक्न थालेको छ । जसबाट सो क्षेत्रका बासिन्दाले आम्दानीसमेत लिइरहेका छन् । हुप्सेकोट-५ राम्चेका श्यामबहादुर राईले भन्नुभयो, “अहिले अम्रिसोबाट हुने आम्दानीले घरखर्च चलाउन सहयोग पुगेको छ, खासै मेहेनत पनि गर्नुपर्दैन पाखामा लगाइदियो आफैँ हुन्छ ।”

डिभिजन वन कार्यालय नवलपुरका सूचना अधिकारी हरिप्रसाद गौतमका अनुसार जिल्लाको पहाडी क्षेत्रमा रहेका कबुलियती वनमा अम्रिसो खेती गर्ने परिवारको सङ्ख्या एक हजार ६८ रहेको छ । उनीहरुले अम्रिसोबाट आम्दानी गर्ने गरेका छन् । सूचना अधिकारी गौतमका अनुसार गत वर्ष पहाडी क्षेत्रमा रहेका कबुलियती वनमा लगाइएको अम्रिसोबाट एक सय ५२ दशमलव सात सय १३ मेट्रिक टन अम्रिसो उत्पादन भएको थियो । जसबाट कृषकले गत वर्ष रु एक करोड ९८ लाख ५२ हजार आम्दानी गरेका छन् ।

पहाडी क्षेत्रमा उत्पादन हुने अदुवा, अमिलो, अम्रिसो किसानले स्थानीय बजारसहित जिल्ला बाहिरका सहर र अदुवा, अम्रिसो भारतसम्म निर्यात गर्ने गरेका छन् । उत्पादित वस्तुको बजारीकरणमा खासै समस्या नभए पनि कहिलेकाहीँ उचित मूल्य नपाउने र अर्कोतर्फ पहाडी क्षेत्रमा कच्ची बाटोका कारण यातायातको सहज सुविधा नहुँदा ढुवानी गरी बजारसम्म ल्याउन समस्या हुने गरेको किसानको गुनासो छ ।
रासस

Write your Comment