आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

दलदले-मुण्डे-कुमसोत सडक दुई लेनमा बिस्तार गरिँदै

    प्रकाशित २०७९ आश्विन १२, बुधबार (१ साल अघि)


नवलपुर। नवलपुरको पहाडी क्षेत्र प्रवेश प्रवेश द्धारका रुपमा मानिने दलदले-मुण्डे-कुमसोत सडक दुई लेनमा बिस्तार हुने भएको छ । जिल्लाको पहाडी क्षेत्रमा पर्ने गाउँपालिकालाई सदरमुकामसँग जोड्ने मुख्य नाकाका रुपमा मानिने यस खण्डलाई दुई लेनमा विस्तार गर्न लागिएको हो । यो खण्डमा हाल बाटो एक लेनको मात्रै रहेको छ । यसले गर्दा दुईवटा सवारी दुई तर्फबाट आए फराकिलो खण्डमा रोकेर वारपार गर्नुपर्ने बाध्यता रहेको छ ।

पहाडी क्षेत्रको बुलिङटार, बौदीकाली गाउँपालिका र हुप्सेकोट गाउँपालिकाको केही क्षेत्रका बासिन्दा सदरमुकाम आउने मुख्य बाटोका रुपमा रहेको दलदले-कुमसोत सडक खण्डलाई फराकिलो बनाउन लागिएको देवचुली नगरपालिका नगर प्रमुख हरिप्रसाद न्यौपानेले बताउनुभयो। नवलपुर सहित पाल्पा र तनहुँका कालिगण्डकी नदि आसपासका क्षेत्रका लागिसमेत यहि बाटो हुँदै यातायात संचालन हुने गर्दछन् । पहाडी क्षेत्रबाट आवत जावत गर्ने मुख्य बाटो भएपनि साँघुरो हुँदा समस्या पर्दै आएकाले यसको विस्तारको काम हुन लागेको नगर प्रमुख न्यौपानेले बताउनुभयो । ‘यो पहाडी क्षेत्रको आवत जावत गर्ने मुख्य बाटो हो, तर साँघुरो हुँदा सवारी सञ्चालनमा कठिनाइ छ’ नगर प्रमुख न्यौपानेले भन्नुभयो ‘कम्तिमा दुई लेनको बनाएपछि यातायात सञ्चालनमा सहजता हुने छ ।’

पहाडी क्षेत्र मुख्य प्रवेश द्वार सँगै पछिल्लो समय पर्यटकीय क्षेत्रका रुपमा विकास हुँदै गरेको देवचुलीको कुमसोतका कारण यस खण्डमा सवारी चाँप बढ्दै गएको छ । तर बाटो साँघुरो हुँदा दुर्घटनाको जोखिम समेत रहेको छ । बाटो दुई लेनमा विस्तारले दुर्घटना न्यूनिकरणका लागि समेत सहयोग पुग्ने नगर प्रमुख न्यौपानेले बताउनुभयो ।

दलदले –मुण्डे हुँदै कुमसोत सम्मको करिब १० किलोमिटर सडक खण्डलाई दुई लेनमा विस्तार गर्न लागिएको हो । भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयको चालु आर्थिक वर्षको कार्यक्रम अन्र्तगत सडक विस्तारको काम अघि बढाउन लागिएको हो ।


बाटो विस्तारका क्रम सुरु गर्न लगिएकाले बाटोको अधिकार क्षेत्र भित्रका संरचना हटाउन नगरपालिकाले सूचना समेत जारी गरेको छ । जिल्ला स्तरीय सडकका रुपमा रहेको यस खण्ड विस्तारको काम अघि बढाउन लगिएकाले बाटो अधिकार क्षेत्रका संरचना हटाउन नगरपालिकाले सार्वजनिक सूचना प्रकाशित गरि आग्रह गरेको छ । देवचुली नगरपालिकाले ३५ दिने सूचना जारी गर्दै सडकको बिच भागबाट दुवै तर्फ १०/१० मिटर भित्र पर्ने घर, टहरा, लगायतका सबै संरचना हटाउन आग्रह गरेको हो । सडक विस्तारका लागि टेन्डर प्रक्रियामा गएकाले चाँडै काम सुरु हुने देवचुली नगरपालिका नगर प्रमुख न्यौपानेले बताउनुभयो । ‘दुई लेनमा बनाउने प्रक्रिया अघि बढि सकेको छ, हामिले सडक क्षेत्र भित्र पर्ने सबै संरचना हटाउन आग्रह गरेका छौं’ नगर प्रमुख न्यौपानेले भन्नुभयो । दलदले –कुमसोत सडक खण्ड विस्तारका लागि हाल रु. २ करोड ५० लाख विनियोजन गरिएको छ । रासस

Write your Comment