आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024 Search
FLASH NEWS

पर्यटकलाई लोभ्याउँदै देवचुलीको कुमसोत

    प्रकाशित २०७९ आश्विन ७, शुक्रबार (१ साल अघि)


राजु चापागाई,देवचुली। कुनै बेला विकट मानिएको देवचुलीस्थित कुमसोत क्षेत्र अहिले धेरैको गन्तव्य बनेको छ । देवचुली नगरपालिकाको दुर्गम गाउँ भनेर चिनिने उक्त ठाउँ सडक, विद्युत विस्तारसँगै आन्तरिक तथा बाह्रय पर्यटकले मजा लिँदै घुम्ने स्थान भएको छ ।

नगरकोटको झल्को दिने देवचुली वडा नम्बर ६ मा अवस्थित कुमसोत अहिले धेरैको गन्तव्य बनेको छ । कुमसोतबाट नवलपुर क्षेत्र, चितवनका गाउँहरु, चितवन राष्ट्रिय निकुञ्ज, नारायणी नदी, राप्ती नदीको सौन्दर्य सहजरुपमा अवलोकन गर्न सकिन्छ । पूर्वपश्चिम महेन्द्र राजमार्गमा रहेको दलदले बजारबाट उतरतर्फ ३० मिनेटमा पुग्न सकिने भएकाले उक्त स्थानमा प्राय: मोटरसाईकल, अटो तथा कारमा यात्रा गर्न सहज छ । आन्तरिक पर्यटकहरु गर्मीको समयमा गर्मी छ्ल्नका लागि पनि कुमसोत पुग्ने गरेका छन् । चिसो हावापानी साथै हरियाली बिचमा रहेको कुमसोतमा प्राकृतिक सौन्दर्यताले थप साथ दिएको छ ।

प्राकृतिक सौन्दर्यमा रम्नका लागि समय मिलाएर कुमसोत पुग्ने गरेको देवचुली ११ का तुल्सी भट्टराईले बताए । चाडपर्व तथा विशेष दिनहरुमा कुमसोत पुग्नेको भीड नै हुने उनले बताए ।

कुमसोतमा कक्षा ५ सम्म पढाइ हुने विद्यालय छ । उच्च शिक्षा अध्ययन गर्नका लागि बालबालिकाहरु भीमसेन आदर्श माविलगायतका विद्यालयमा जाने गरेका छन् । सडक कालोपत्रेसँगै घरबाटै विद्यालय पढन सहज भएको रीता राईले बताइन् ।

केहीवर्ष अघि सडक कालोपत्रे भएता पनि विद्युतको समस्या झेल्दै आएका कुमसोत बासीहरुलाई २०७५ सालमा विद्युत पुगेपछि सहजता थपिएको छ । विद्युत प्रसारणसँगै कुमसोतमा होटलहरु संचालनमा आएका छन् । अहिले ५ वटा होटलहरु संचालनमा रहेको र केही होटलमा आवासको व्यवस्था पनि रहेको छ । दैनिक २०० देखि २५० जनाको हाराहारीमा पर्यटक पुग्ने गरेको देवचुली वडा नम्बर ६ का अध्यक्ष मीनबहादुर सोती मगरले बताए । सडक कालोपत्रेसहित विद्युत र खानेपानीको सहजताले कुमसोतको विकासमा सहयोग गरेको वडा अध्यक्ष सोती मगरले बताए ।

आन्तरिक र बाह्रय पर्यटक भित्र्याउनका लागि वडा कार्यालयले विशेष योजना बनाई काम गरिरहेको अध्यक्ष सोती मगरले बताए । सोतीका अनुसार मगर समुदायको बस्ती रहेको कुमसोत र नजिकै रहेको कीर्तिपुरमा मगर कला संस्कृति जगेर्ना गर्ने, कुमसोत कीर्तिपुर हुँदै नवलपुरको अग्लो पहाड जाने बाटोको स्तरोन्नति गर्ने, गाउँमा होमस्टे निर्माणका लागि पहल गर्ने, गाउँलाई सफा र हरियाली बनाउने अभियान संचालन गर्ने, स्थानीय रुपमा हुने कृषि उपज तथा पशुपंछीको बजारीकरण गर्ने कार्यलाई प्राथमिकता राखिएको छ । कुमसोतमा शैक्षिक संस्थामा शिक्षक दरबन्दी थप गरि शैक्षिक सुधारको आवश्यकता रहेको उनले बताए ।

कावासोतीको फलफूलचोक र दलदले बजारबाट गएका बाटोहरु कुमसोतमा जोडिएका छन् । उक्त बाटो हुँदै नवलपुरको हुप्सेकोट, बुलिङटार, बौदिकाली गाउँपालिका पुग्न सकिन्छ । ८५ घरधुरी रहेको कुमसोतको अनुमानित जनसंख्या चार सय रहेको छ । पर्याप्त मात्रामा प्रचारप्रसारसँगै पर्यटकका लागि आवश्यक सेवा सुविधा थप गरि सफा, सुन्दर र हरियाली कुमसोत बनाउन सके नेपालकै उत्कृष्ट गन्तव्य स्थान हुन सक्नेछ ।

Write your Comment