आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024 Search
FLASH NEWS

घुमाउरी सामुदायिक वनको २८ औं वार्षिक साधारण सभा सम्पन्न

    प्रकाशित २०७९ आश्विन ४, मंगलबार (१ साल अघि)


देवचुली। देवचुलीमा रहेको घुमाउरी सामुदायिक वन उपभोक्ता समूहको २८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार घुमाउरी सामुदायिक वनको पिकनिक स्पटमा कार्यक्रम सम्पन्न भएको हो । घुमाउरी सामुदायिक वनका अध्यक्ष दिपक भट्टराईको अध्यक्षता रहेको कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य माननीय सांसद ओमकला गौतमको प्रमुख आतिथ्यता रहेको थियो ।

गण्डकी प्रदेश सभा सदस्य ओमकला गौतमले कोभिडको समयमा पनि घुमाउरी सामुदायिक वनले पिकनिक स्पटबाट राम्रो आम्दानी गरेकोमा खुशी लागेको बताउनुभयो । उहाँले पछिल्लो समय सामुदायिक वनहरू फस्टाउँदै गएको बताउनुभयो । गौतमले वन भित्र पनि विभिन्न जडिबुटी र फलफुलको राम्रो आम्दानीको स्रोत हुने बताउँदै आगामी दिनमा आफ्नो क्षेत्रबाट सहयोग गर्ने बताउनुभयो ।

यसैगरि कार्यक्रममा देवचुली नगरपालिकाका नगरप्रमुख हरि प्रसाद न्यौपानेले सामुदायिक वनको विकास, महासंघले खेलेको भुमिका महत्त्वपूर्ण रहेको भन्दै घुमाउरी सामुदायिक वनले पर्यटकीय क्षेत्रमा नगरपालिकालाई चिनाउन सफल भएकोमा खुशी व्यक्त गर्नुभएको थियो । उहाँले वन संरक्षण सँगै पर्यटन प्रवर्द्धनमा ईट्टा थप्ने काम गरिरहेको र आगामी दिनमा नगरपालिका सहकार्य गरेर अघि बढ्ने बताउनुभयो ।

उपभोक्ताको प्रतिनिधित्व गर्दै घुमाउरी सामुदायिक वनका सदस्य कृष्ण प्रसाद लम्साल, मौरी पालक व्यवसाय संघ नवलपुरका अध्यक्ष यदुनाथ कण्डेल, महाराजा सामुदायिक वन उपभोक्ता संस्थाका अध्यक्ष गनबहादुर राना,नेकपा एमाले वडा नं ९ कमिटिका अध्यक्ष राम प्रसाद पन्त, नेपाली कांग्रेस देवचुली वडा नं ९ का सभापति कृष्ण बहादुर आले, घुमाउरी सामुदायिक वनका सल्लाहकार एवम् समाजसेवी खगराज कण्डेल, सामुदायिक वन महासंघ देवचुलीका अध्यक्ष कमल बाचे, नेपाली काँग्रेस क्षेत्र नं १ ख का सभापति हेमविक्रम अधिकारी, सव डिभिजन वन कार्यालय देवचुली बुलिङ्टारका प्रमुख ज्योति प्रसाद कोईराला र देवचुली नगरपालिका वडा नं ९ का वडाध्यक्ष बलिराम सापकोटा लगायतले सामुदायिक वनले गरेको कार्यको प्रशंसा गर्दै आगामी दिनमा सामुदायिक वनमा रहेको घुमाउरी पिकनिक स्पटलाई नमुना पर्यटकीय गन्तव्यका रूपमा चिनाउन सफल होस भन्ने शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा घुमाउरी सामुदायिक वनका अध्यक्ष दिपक भट्टराईले आफ्नो वार्षिक भत्ताबाट प्रोत्साहन स्वरूप कालिका मा।विका मेधावी छात्रा ईच्छा काफ्ले र अनुपा भट्टराईलाई सम्मान गर्नुभएको थियो । यसैगरि पुर्व वन हेरालु राम बहादुर राउत, गन बहादुर राना, केशवराज अर्याल, जय बहादुर वि.क, कुम्भ सिं गुरुङ, निम प्र. राना, तारा बहादुर पुन, रामभावी न्यौपाने, नन्दलाल श्रेष्ठ लगायत जेष्ठ नागरिक दिर्घ नारायण सापकोटा, भविसर भुर्तेल, डारिमा लुङ्गेली, कौसिला काफ्ले र हुमसरा कमिनीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा घुमाउरी सामुदायिक वनका अध्यक्ष दिपक भट्टराईले चालु आर्थिक बर्ष ०७८/०७९ मा गरेको हरेक गतिविधि प्रतिवेदन मार्फत प्रस्तुत गर्नुभएको थियोे । उहाँले वनले आगामी दिनमा घुमाउरी सामुदायिक वनले उपभोक्ताहरूलाई घाँस दाउरा उपलब्ध गराउने र नवलपुरकै उत्कृष्ट संरक्षीत वन बनाउने उदेश्य रहेको र घुमाउरी सामुदायिक वनले “रूख काटेर होईन टिकट काटे” आफ्नो आर्थिक स्थितिलाई समृद्ध बनाउने अभियानमा लागेको बताउनुभयो ।


कार्यक्रममा घुमाउरी सामुदायिक वनका उपभोक्ता, स्थानीय बुद्धिजीवी, विभिन्न संघसंस्थामा आबद्ध पदाधिकारी, सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा भिमदत्त दवाडीले घुमाउरी सामुदायिक वनको विषयमा कविता प्रस्तुत गर्नुभएको थियो भने गायक युविन वि।सि, युवराज भुसालले आफ्नो प्रस्तुती राखेका थिए । घुमाउरी सामुदायिक वनका कार्यालय सचिव उमा वान्टकीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकण खेम सारू मगरले गर्नुभएको थियो ।

देवचुली वडा नं ९ विशालटारमा रहेको घुमाउरी सामुदायिक वन उपभोक्ता समूहमा ६ सय ४ जना सदस्य रहेका छन् भने २ सय ३४ हेक्टर वन क्षेत्रफल रहेको छ ।

Write your Comment