आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024 Search
FLASH NEWS

बाल सहभागिता सम्मान तिलोत्तम पौडेललाई

    प्रकाशित २०७९ आश्विन १, शनिबार (१ साल अघि)


काठमाडौँ। बाल सहभागितामा कार्यरत संस्थाहरुको साझा समूह कन्सोटियम नेपालले हरेक वर्ष प्रदान गर्ने बाल सहभागिता सम्मान २०७९ बाट तिलोत्तम पौडेल सम्मानित हुनुभएको छ । आफ्नो जीवनको बाल्यकालदेखि बाल अधिकार र बाल सहभागितालाई मुख्य केन्द्र मान्दै क्रियाशील बालमैत्री अभियान्ता पौडेललाई संजालको वार्षिक साधारण सभा तथा बालदिवसको अवसर पारेर उक्त सम्मान प्रदान गरिएको हो । बाल सहभागिता सम्मान २०७९ बाट सम्मानित पौडेलललाई कार्यक्रमका प्रमुख अतिथि एवं राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष माननीय टोप बहादुर मगरले सम्मानपत्र द्वारा सम्मान गर्नुभएको थियो ।

विगत लामो समयदेखि बालबालिकाको अधिकार र सहभागिताका साथै बालमैत्री स्थानिय शासनका क्षेत्रमा क्रियाशील पौडेलले २०५५ साल माघ ४ गते १७ वर्षको उमेरमा संयुक्त राष्ट्रसंघको बालबालिका सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी अनुसार बिना नागरिकता बाल संस्थाको कानूनी मान्यताको माग गर्दै सर्वोच्च अदालतमा तत्कालीन गृह मन्त्रालय र प्रमुख जिल्ला अधिकारी नवलपरासी विरुद्ध जागृति बालक्लब नेपाल, नवलपरासीको तर्फबाट रिट दायर गर्नुभएको थियो । उक्त रिटमाथि २०५८ साउन २५ गते बाल संस्थाको कानूनी मान्यताको पक्षमा फैसला भएको थियो । यस फैसला पश्चात नेपालमा बालक्लबहरु गठन हुने क्रम बढ्नुका साथै बालबालिकाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न, संवैधानिक, कानूनी, नीतिगत, संरचनागत र कार्यक्रमिक व्यवस्था हुन थालेको स्मरण गर्दै पौडेललाई सम्मान गरिएको कन्सोटियमका अध्यक्ष मोहन दंगालले बताउनु भएको छ । फैसला भएको दिनलाई ऐतिहासिक दिन भन्दै साउन २५ लाई बाल सहभागिता दिवसको रुपमा मनाउन आह्वान गरेको कुरा कन्सोटियमका उपाध्यक्ष सन्तोष महर्जनले बताउनु भयो ।

बाल सहभागिताका लागि नागरिक सहभागिता र संलग्नता विषयक राष्ट्रिय अन्तरसंवाद कार्यक्रम समेत आयोजना गरेको छ । अन्तरसंवाद कार्यक्रममा बालअधिकारकर्मी एवं राष्ट्रिय बाल अधिकार परिषद्का पुर्व कार्यकारी निर्देशक मिलनराज धरेलले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । राष्ट्रिय योजना आयोगका डा. किरण रुपाखेती, गैर सरकारी संस्था महासंघका महासचिव अर्जुन भट्टराई, बाल अधिकार परिषद्का सदस्य रोशना खड्का, सेभ द चिल्ड्रेनका रबिन्द्र गौतम, बालबालिका प्रतिनिधि मुना गिरीले अर्थपूर्ण बाल सहभागिताको निम्ति बालमैत्री शासन प्रवर्द्धनमा जोड दिनु भएको थियो । अन्तरसंवाद कार्यक्रममा देशभरिका १०० संस्था तथा संजालहरुका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सम्मानित व्यक्तित्व पौडेलले बालक्लब गठन, कानूनी मान्यताको लागि पर्खाइको भोगाइका अनुभवहरु बताउँदै यो सम्मानले आफूलाई थप उर्जावान हुँदै बाल अधिकारको क्षेत्रमा क्रियाशील रहन थप प्रेरणा भएको बताउनु भयो । पौडेल हाल जागृति बाल तथा युवा सरोकार नेपाल र सामाजिक सुरक्षा नागरिक समाज सञ्जालको अध्यक्ष तथा राष्ट्रिय युवा परिषद्को कार्यकारी सदस्यको रुपमा सामाजिका क्षेत्रमा क्रियाशील हुनुहुन्छ ।

Write your Comment