आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024 Search
FLASH NEWS

देवचुलीमा ज्येष्ठ नागरिकको घरमै स्वास्थ्य परीक्षणको शुभारम्भ

    प्रकाशित २०७९ भाद्र १९, आईतबार (१ साल अघि)


देवचुली । नवलपुरको देवचुली नगरपालिकाले ज्येष्ठ नागरिकहरुलाई घरमै पुगेर स्वास्थ्य परीक्षणको शुभारम्भ गरेको छ । आइतबार देवचुली १६ को वडा कार्यालयमा ६८ वर्ष माथिका ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गरि कार्यक्रमको औपचारिक शुभारम्भ गरेको हो ।

देवचुली नगरपालिकाले नगर प्रमुख पद बहाली गरेको जेठ ६ गतेको पहिलो निर्णय ज्येष्ठ नागरिकको घर दैलोमा नै गएर प्रत्येक ६/६ महिनामा १ पटक स्वास्थ्य सेवा तथा परामर्श उपलब्ध गराउने निर्णय कार्यान्वयनका लागि स्वास्थ्य परीक्षण शुभारम्भ गरेको हो । नगरभित्र ६८ वर्षमाथिका करिब तीन हजार तीन सय ज्येष्ठ नागरिक छन् । १७ वटा वडा रहेको नगरपालिकाले वडामा रहेको स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरु परिचालन गरेको स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठले जानकारी दिए।

स्वास्थ्यकर्मी घरमै पुगेर ज्येष्ठ नागरिकको मधुमेह ,उच्च रक्तचाप परीक्षण,शरीरको तापक्रम ,नाडी तथा मुटुको धडकन परीक्षण तथा अक्सिजनको लेभल परीक्षण लगायत निशुल्क र नेपाल सरकारले स्वास्थ्य चौकी,प्राथमिक स्वास्थ्य केन्द्रमा तोकेको अत्यावश्यक औषधिहरु परीक्षणको आधारमा निशुल्क वितरण गरिने उनले जानकारी दिए।

देवचुली १६ मा आयोजित शुभारम्भ कार्यक्रममा नगर प्रमुख हरिप्रसाद न्यौपानेले देवचुली १६ का ७२ वर्षीय शंकर शर्मा रिजाललाई स्वास्थ्य सेवा कार्ड हस्तान्तरण गरेर स्वास्थ्य परीक्षणको शुभारम्भ गरेका हुन् । नगर प्रमुख न्यौपानेले घरमै स्वास्थ्य परीक्षणसँगै आवश्यकताअनुसार स्वास्थ्य परामर्श गर्न र जिम्मेवार भएर काममा लाग्न स्वास्थ्यकर्मीहरुलाई आग्रह गरेका छन् ।

`ज्येष्ठ नागरिक हाम्रा अभिभावक हुन् ´,उनले भने,” उनीहरूको रेखदेख र स्वास्थ्यपरीक्षण गर्नु नगरको दायित्व हो । ” देखाउनका लागि नगरपालिकाले यो काम नगरेको भन्दै उनले परिणाम निस्कने गरि काम हुने बताए ।

घरमै आई स्वास्थ्यकर्मीबाट स्वास्थ्य सेवा पाउँदा खुशी लागेको ज्येष्ठ नागरिकहरुले बताएका छन् । स्वास्थ्य संस्था जान नसक्ने आफुहरु जस्ता ज्येष्ठ नागरिकलाई प्राथमिकता राखी स्वास्थ्य परीक्षण गरेकोमा उनीहरुले नगरपालिकालाई धन्यवाद समेत व्यक्त गरेका थिए । स्वास्थ्य परीक्षणको शुभारम्भ पश्चात देवचुली नगरपालिकाका विभिन्न वडामा घरमै पुगी करिब चार सय सतरी जनाको स्वास्थ्य परीक्षण गरिएको देवचुली नगरपालिकाका सिनियर अहेव अधिकृत शिव पराजुलीले जानकारी दिए । देवचुली नगरपालिकाले ज्येष्ठ नागरिकको प्रत्येक ६/६ महिनामा घरमै पुगेर स्वास्थ्य परीक्षण गर्ने जनाएको छ ।

Write your Comment