आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024 Search
FLASH NEWS

मानसिक स्वास्थ्य र तनाव व्यवस्थापन सम्बन्धि कावासोतीमा अभिमुखीकरण सम्पन्न

    प्रकाशित २०७९ भाद्र ६, सोमबार (१ साल अघि)


नवलपुर । मानसिक स्वास्थ्य र तनाव व्यवस्थापन सम्बन्धि अभिमुखीकरण कार्यक्रम कावासोतीमा सम्पन्न भएको छ ।पछिल्लो समयमा विश्वमा नै मानसिक स्वास्थ्य र तनाव व्यवस्थापनको बारेमा समुदायस्तरमा बहस र छलफल आवश्यकता देखिन थालेको छ । मानिसहरु साना साना विषयहरुको व्यवस्थापन गर्न नसक्दा आत्महत्या गर्ने, आफुलाई असर पुर्याउने र धुम्रपान तथा मद्यपान सेवनतर्फ बढेको विभिन्न तथ्याँकले बताएको छ ।

किशोरअवस्थामा मानसिक रुपमा स्वस्थ रहनुपर्ने र किशोरावस्थामा आउने तनावहरुको व्यवस्थापन गर्ने सिपको बारेमा सोमबार कावासोती ४ को सरस्वती नमुना माध्यमिक विद्यालयका किशोरकिशोरीलाई अभिमुखीकरण गरिएको हो । जागृति बाल तथा युवा सरोकार नेपालले क्यान्नालन स्विजरल्याण्डसँगको साझेदारीमा सञ्चालित किशोरी शसक्तिकरण कार्यक्रमका ३५ जना किशोरी अभियन्ताहरुलाई जीवनउपयोगी सिप र किशोरकिशोरी अवस्थामा आउन सक्ने परिवर्तन र तनाव व्यवस्थापनको तालिम पश्चात उनीहरुले आफुले अध्ययन गरेको विद्यालय तथा आफ्नो समुदायमा अभिमुखीकरण गर्न थालेका हुन्।

आजको कार्यक्रममा विद्यालयमा पढने बालबालिकाहरुलाई तनाव भनेको के हो ? यसको व्यवस्थापन कसरी गर्ने ? मानसिक स्वास्थ्य भनेको के हो ? मानसिक रुपमा स्वस्थ रहने उपायहरुको बारेमा छलफल गरिएको अभियन्ता गोमा पाण्डेले बताइन्।किशोर अवस्थामा हुँदा साना साना विषयहरुमा तनाव लिने गरेको र तालिम पश्चात आफुमा आएको परिवर्तनलाई साथिहरुलाई सिकाँउदा खुसी लागेको पाण्डेले बताइन्।

पढाई, खेलकुद, साथिहरुसँगको सम्बन्ध, मोबाईल र माया प्रेम जस्ता विषयहरुमा बढी तनाव लिने गरेको र जसको कारणले धेरै किशोरकिशोरीहरुले धुम्रपान तथा मद्यपान गर्ने गरेको सहभागी किशोरी अर्चना पोखरेल बताईन् ।

किशोर अवस्थामा विपरित लिँगप्रतिको आकर्षण सामान्य रहेको र यसको सही व्यवस्थापन गर्न नसक्दा साथि साथि बिच झगडा हुने, कुटपिट हुने, नबोल्ने र प्रतिशोध समेत लिने गरेको सहभागी किशोर उज्वल गाहाले बताए ।

विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्ष ८ लाख मानिसहरुको मृत्यु आत्महत्याबाट हुने गरेको जनाएको छ । यो समुहमा अझै किशोर अवस्थामा रहेकामा बढी रहेको संगठनले प्रतिवेदनमा उल्लेख गरेको छ । ९० प्रतिशत आत्महत्याहरु मानसिक रुपमा स्वस्थ नरहेका र तनावमा रहेकाबाट हुने गरेको उसको प्रतिवेदनमा समावेश गरेको छ ।

अभिमुखीकरण कार्यक्रमको किशोरी अभियन्ता कुमारी वान्टकी,भावना भण्डारी र गोमा पाण्डेले सहजीकरण गरेका थिए।कार्यक्रममा विद्यालयको फोकल शिक्षक हीरा खनालसहित किशोरकिशोरीहरुको सहभागिता रहेको थियो ।

Write your Comment