आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

मध्यबिन्दुका जेष्ठ नागरिकको घरमै पुगेर नियमित स्वास्थ्य परिक्षण

    प्रकाशित २०७९ श्रावण २५, बुधबार (१ साल अघि)


तिर्थराज डुम्रे,चोरमारा । नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिकामा जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रम शुरुवात भएको छ । बुधबार नगरपालिकाको १५ वाटै वडामा एकसाथ जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रमको शुभारम्भ गरिएको हो ।

अब नगरपालिका भित्रका ७० वर्ष पुरा भएका जेष्ठ नागरिकहरुलाई स्वास्थ्यकर्मीहरुले घरमा नै पुगेर स्वास्थ्य सेवा प्रदान गर्नेछन् । स्वास्थ्य सेवा शुभारम्भ गर्दै मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारीले सुगर, प्रेसर, तापक्रम सहितका स्वास्थ्य परिक्षण सेवा स्थानीय जेष्ठ नागरिकले घरमा नै प्राप्त गर्ने बताउनुभयो ।

स्वास्थ्यकर्मीहरु अब कम्तीमा महिनामा एकपटक जेष्ठ नागरिकको घरमा गएर नियमित स्वास्थ्य परिक्षण गर्ने नगरप्रमुख अधिकारीले बताउनुभयो । जेष्ठ नागरिक संगै परिवारमा दीर्घरोगीहरु भएमा उनिहरुको समेत स्वास्थ्य परिक्षण गर्ने उहाँले जानकारी दिनुभयो ।

स्वास्थ्य केन्द्रमा पुगेर जाँच गर्न नसक्ने अवस्था रहेका अति विपन्न तथा दीर्घरोगीहरु कार्यक्रमबाट प्रत्यक्ष लाभाम्वीत हुने नगर प्रमुख भिमलाल अधिकारीले विश्वास व्यक्त गर्नुभयो । “सम्पन्न परिवारका जेष्ठ नागरिकहरुले नियमित स्वास्थ्य परिक्षण गरिरहनु भएको होला । तर, विपन्न परिवारका जेष्ठ नागरिकहरु स्वास्थ्य परिक्षणको लागि स्वास्थ्य संस्था सम्म पनि पुग्न नसक्ने गरेको तितो अनुभव हामीसंग छ ।” नगर प्रमुख अधिकारीले भन्नुभयो – “अब स्वास्थ्यकर्मीहरु नियमित रुपमा उहाँहरुको घरमा नै पुगेर स्वास्थ्य परिक्षण गर्नुहुन्छ । नियमित औषधी सेवन गर्नेहरुको औषधी, उहाँहरुको स्वास्थ्य अवस्थाको पनि रेखदेख गर्नुहुन्छ ।”

स्वास्थ्य परिक्षण गर्न जाने स्वास्थ्यकर्मीले प्रेसर, सुगर, पल्सअक्सिमिटर, मेलेरिया परिक्षण, तामक्रम जाँच सहित परामर्श सेवा प्रदान गर्ने चोरमारा प्राथमिक स्वास्थ्य चौकीका डा. दिलिप सापकोटाले बताउनुभयो । परिक्षणको हिसावले केही सिमित परिक्षण लागेपनि यि परिक्षणले मानिसको भित्रि स्वास्थ्य अवस्थाका थाहा पाउन निकै महत्वपूर्ण हुने डाक्टर सापकोटाले बताउनुभयो । स्वास्थ्य संस्थाहरुमा उल्लेखित स्वास्थ्य परिक्षणको लागि आउने जेष्ठ नागरिकहरुको संख्या अत्याधिक रहेको भन्दै उहाँले घरमा नै पुगेर स्वास्थ्य परिक्षण शुरुवात भएपछि स्वास्थ्य परिक्षणको लागि भोग्नुपरेको धेरै समस्याहरु समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

नगरपालिकाले शुरुवात गरेको जेष्ठ नागरिक स्वास्थ्य परिक्षण सेवा निकै उदारणीय भएको मध्यविन्दु–८ का पदमराज लम्सालले बताउनुभयो । शुरुवात भन्दा त्यसको स्थायित्व महत्वपूर्ण हुने भन्दै नियमित रुपमा कार्यक्रम सञ्चालन भए सबैको लागि अनुकरणीय र जेष्ठ नागरिकको लागि उपयोगिय कार्यक्रम हुने उहाँले बताउनुभयो ।

मध्यविन्दु नगरपालिकाको १५ वाटै वडामा शुभारम्भ गरिएको कार्यक्रमको शुभारम्भको लागि नगर प्रमुख भिमलाल अधिकारी मध्यविन्दु–७ र ८ को शुभारम्भ कार्यक्रममा नै पुग्नु भएको थियो । मध्यविन्दु–८ मा स्थानीय जेष्ठ नागरिकको घरमा ने पुगेर कार्यक्रम शुभारम्भ गरिएको थियो । मध्यविन्दु–७ को वडा कार्यलयमा कार्यक्रमको शुरभाम्भ गरिएको थियो ।

Write your Comment