आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

अनवरत अब्बल देवचुली नगरपालिकाको भीमसेन आदर्श नमूना मावि

    प्रकाशित २०७९ श्रावण २४, मंगलबार (१ साल अघि)


नवलपुर ।कसैलाई तपाईले सोध्नुभयो,‘तपाईको छोराछोरी कुन स्कुलमा पढ्छन् ?’ उत्तर आउन सक्छ,‘ स्कुल होइन हाम्रा बाबुनानी त बोर्डिङ पढ्छन् ।’ अथवा सरकारी सामुदायिक विद्यालय पढ्ने रहेछन् भने,‘यहिँको …..फलानो स्कुल जान्छ ।’

त्यसो त यहाँ यो ठिक वा त्यो बेठिक भन्ने पगरी गुथाउन खोजिएको होइन । यथार्थताको धरातलमा उभिएर नियाल्दा वर्ग विभेदको माध्यम पनि नबनेको होइन स्कुल-बोर्डिङ ।

राम्रो विद्यालयमा शिक्षा दिउँ भन्ने रहर कुन बाबुआमालाई नहोला । सन्तानको उज्जवल भविष्यका लागि छाक टारेरै भएपनि अभिभावक शिक्षामा सम्झौता गर्दैनन् । महँगो मासिक शुल्कको भारी बोकेरै भएपनि नीजि विद्यालय पठाउँछन् । कारण, सरकारी विद्यालयसँग आम अभिभावक विश्वस्त हुन अझैपनि सकिरहेका छैनन् ।तर देशमा यस्ता केही सामुदायिक/सरकारी विद्यालय छन्, जहाँ पुग्दा मात्रै पनि तपाइलाई ‘वाह !’ भन्न मन लाग्छ ।

त्यस्तै विद्यालय मध्येको एक हो नवलपुर जिल्ला देवचुली नगरपालिकास्थित भीमसेन आदर्श नमूना माध्यमिक विद्यालय । गौरवमय ५ दशक बढीको लामो इतिहास, उदाहरणीय विरासत र अनवरत अब्बल नतिजाकै कारण यस विद्यालयले आम अभिभावकको विश्वास जित्दै आएको छ । यहाँ यस क्षेत्रका मात्रै होइनन्, विभिन्न ९ जिल्लाबाट विद्यार्थीहरु अध्ययनका लागि आउने गर्दछन् ।

विसं २०२६ सालमा स्थापना भएको यस विद्यालयले २०६० सालबाट अंग्रेजी माध्यमबाट अध्ययन अध्यापनको सुरुवात गर्यो । २०६७ सालको एसएलसी परिक्षामा आकाश न्यौपाने ‘नेपाल टप’ भएपछि विद्यालयको शिर थप उचोँ भयो । हरेक वर्ष उत्कृष्ट नतिजा दिन सफल यस विद्यालयका विद्यार्थी पटक पटक जिल्ला प्रथम समेत हुँदै आएका छन् ।उत्कृष्ट विद्यालयको रुपमा शिक्षा मन्त्रालयबाट सम्मानित समेत भएको यस विद्यालय देशकै नमूना विद्यालयको रुपमा पनि घोषित भयो ।

अहिले झण्डै २ हजार विद्यार्थी यहाँ अध्ययन गर्छन् । विद्यालयको हरेक कक्षाकोठामा प्रोजेक्टर छन् । विद्यार्थीहरु विद्यालय समयमा सिसिटिभिको निगरानिमा रहिरहन्छन् । अध्ययनलाई थप व्यवहारिक र परिणाममुखी बनाउन यहाँका शिक्षक, व्यवस्थापन समिति र समुदाय लागि पर्दै आएका छन् ।

कक्षा नर्सरी देखि १२ सम्म अध्ययन हुने यस विद्यालयका प्रधानाध्यापक हुन् अग्नि भुसाल । रोचक के छ भने, उनी यहिँका विद्यार्थी थिए । यहि विद्यालयबाट उनले एसएलसी उत्तिर्ण गरेका हुन् ।

योङ्ग, इनर्जेटिक, बोल्ड छवि बनाएका प्रधानाध्यापक भुसाल विद्यालयलाई थप उचाई दिन लागिरहेका छन् । समयअनुसार प्रविधिको भरपुर प्रयोग गर्दै विद्यार्थीले इच्छाए अनुसारका सिप, तालिम लगायतका अतिरिक्त क्रियाकलापहरुमा पनि विद्यालय अब्बल रहेको उनि बताउँछन् । भन्छन्,‘कोर्स बुकहरु त भइहाल्यो, यसका अलवा हाम्रा विद्यार्थीहरु खेलकुद लगायतका क्रियाकलापहरुमा पनि अगाडी छन् । हामीले स्रोत साधनमा कमि हुन दिएका छैनौँ । यहि भदौ १ गतेबाट जुनियर र सिनियर सुरक्षा तालिम पनि सञ्चालन गर्दै छौँ ।’

प्रधानाध्यापक भुसालले शिक्षामा सबैको समान पहुँच र गुणस्तरिय शिक्षा नै आफ्नो मुल उद्धेश्य रहेको बताए । ‘यस विद्यालयमा जुनसुकै र जस्तोसुकै परिस्थितीबाट पनि अध्ययनका लागि आउने विद्यार्थि सहज भर्ना हुन पाउँछन्,’ उनले भने,‘विद्यार्थीको क्षमताबारे अध्ययनका लागि प्रवेश परीक्षा चाहिँ लिने गरेका छौँ । तर सबै भर्ना हुन पाउँछन् ।’ उनले भने ।

यस क्षेत्रको मात्र नभई आसपासका विभिन्न जिल्लाका अभिभावकहरुको पहिलो रोजाई हो भिमसेन आदर्श नमूना माध्यमिक विद्यालय । यहाँको सेवा, सुविधा र मुलतः गुणस्तरिय शिक्षाकै कारण आकर्षण बढ्दै गएको प्रधानाध्यापक भुसालको दाबी छ ।

‘हामी विद्यार्थीको मनोविज्ञानमा सदैव सजग छौँ । यहाँको सेवा सुविधा र गुणस्तरीय शिक्षाकै कारण आकर्षण बढिरहेको छ । फलस्वरुप हामी नगरपालिका, जिल्ला र राष्ट्रमै अब्बल विद्यालयको छवि निर्माण गर्न सफल भएका छौँ ।’ उनले भने,‘हामी मात्रै उत्कृष्ट भएर हुदैँन, यहाँको नगरपालिका, जिल्ला र राष्ट्रमै सामुदायिक विद्यालयहरु अब्बल हुनुपर्छ भन्ने मेरो मान्यता हो ।’
यस विद्यालयबाट एसईई परिक्षामा जिल्लामा सबै भन्दा बढी विद्यार्थी सहभागी थिए । सबै विद्यार्थी उत्तिर्ण पनि भए ।

विद्यालयले अहिले कक्षा ११ मा भर्ना खुलाएको छ । प्रधानाध्यापक भुसालले एसईई उत्तिर्ण भएका सम्पूर्ण विद्यार्थीहरुलाई भर्नाका लागि आह्वान गरे । उनले भने ‘अहिले कक्षा ११मा भर्ना खुलाएका छौँ । म सम्पूर्ण विद्यार्थी र अभिभावकहरुलाई आह्वान गर्दछु ।’ अहिले यस विद्यालयमा लगभग ५ सय विद्यार्थी प्लस टू मा अध्ययनरत छन् ।पूर्वाधार सम्पन्न यस विद्यालयले विद्यार्थीका लागि सवारी सुविधा पनि उपलब्ध गराएको छ ।

विद्यालयले विसं २०८० सालको अन्तसम्म सूचना प्रविधियुक्त विद्यालय र कक्षाकोठा घोषणा गर्ने तयारी गरेको छ । यसका लागि आवश्यक कार्यहरु भइरहेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष सत्यनारायण भुसालले जानकारी दिए ।साथै, अन्य जिल्ला वा टाढाबाट आउने विद्यार्थीको सहजताका लागि यहि वर्षबाट सुरु हुने गरि आवास गृहका लागि तयारी थालिएको अध्यक्ष भुसालले बताए ।

Write your Comment