आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024 Search
FLASH NEWS

मध्यविन्दु नगरका पाँच सामुदायिक विद्यालयलाई बस प्रदान

    प्रकाशित २०७९ श्रावण ४, बुधबार (१ साल अघि)


नवलपुर । नवलपुरकाे मध्यविन्दु नगरपालिकाले नगरका पाँच सामुदायिक विद्यालयलाई अनुदानमा बस प्रदान गरेको छ ।नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका उपसचिव टेकप्रसाद पाण्डेका अनुसार सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न विद्यालयको लागत सहभागितामा बस प्रदान गरिएको हो ।

सामुदायिक विद्यालयलाई बस उपलब्ध गराउन आर्थिक वर्ष २०७८/७९ को बजेटबाट नगरपालिकाले प्रतिबस रु १८ लाख अनुदान दिएको छ । विद्यालयको लागत रु पाँच लाख मात्र रहेको छ ।नगरपालिकाले मध्यविन्दु–३ को जनता मावि, मध्यविन्दु–११ को वीरेन्द्र मावि, मध्यविन्दु–१२ को यादव मावि, मध्यविन्दु–१३ को सरस्वती मावि र मध्यविन्दु–१५ को ज्ञानोदय माविलाई अनुदानमा बस प्रदान गरेको हो ।

नगरपालिकाले हालसम्म नगरका १० सामुदायिक माध्यमिक विद्यालयलाई बस प्रदान गरिसकेको नगरप्रमुख भीमलाल अधिकारीले बताउनुभयो । नगरपालिकाभित्र १३ वडामा १३ सामुदायिक माध्यमिक विद्यालय छन् ।वडा नं ९ को नेपाल लोकसेवा माविलाई भने स्थानीय सामुदायिक वनले सहयोग गरेर बस प्रदान गरेको छ ।

पन्ध्र वडा रहेको मध्यविन्दुको वडा नं १ र ५ मा सामुदायिक माध्यमिक विद्यालय छैनन् । विद्यालय यातायात व्यवस्थापन सहयोग कार्यक्रमअन्तर्गत नगरभित्रका सामुदायिक माविलाई बस उपलब्ध गराइएको हो ।

Write your Comment