आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024 Search
FLASH NEWS

प्रेमको नाटक गरेर २५ लाख बढी ठगी गर्ने गैँडाकोटकी युवती प्रहरी नियन्त्रणमा

    प्रकाशित २०७९ अषाढ २६, आईतबार (१ साल अघि)

चितवन। चितवनमा प्रेमको नाटक गरेर विवाहित पुरुषसँग २५ लाख रुपैयाँ ठगी गर्ने गैँडाकोट –११ की सम्भावी पौडेललाई प्रहरीले पक्राउ गरेको छ ।

झण्डै एक वर्ष अगाडिदेखि पीडित पुरुषले दिएको उजुरीको आधारमा पाँच दिन अगाडि पौडेललाई असार १८ गते प्रहरीले पक्राउ गरेको हो ।

चितवन प्रहरी प्रवक्ता नरहरि अधिकारीका अनुसार फेसबुक आईडीबाट चिनजान गरी प्रेम सम्बन्ध बढाएसँगै गैँडाकोटकी २६ वर्षीय पौडेलले भरतपुर महानगरपालिका १ का ५३ वर्षीय विवाहित पुरुषसँग पटकपटक गरेर २६ लाख ४५ हजार ७०० रुपैँया लिएकी थिइन् । फेसबुकमा भएको निरन्तरको कुराकानी, गफगाफले उनीहरु रेष्टुरेन्टमा प्रत्यक्ष भेटघाट गर्न थाले जसले गर्दा उनीबीचमा असल प्रेमीप्रेमिकाको सम्बन्ध बन्यो । ती युवतीले आकर्षक ब्लोअप तस्विरहरु पुरुषलाई पठाउने गरेपछि पुरुष झनै झनै युवतीको मायाझालमा फस्दै गए । आफूलाई निकै भाग्यमानी पुरुषको रुपमा सोच्न थाले । तर, जब २५ लाख रुपैयाँ हात पारिन् तब ती युवतीको केटासँग कुराकानी पातलिन थाल्यो । केटाले म्यासेन्जर, फोनमा धेरै कुराकानी र भेटघाट गर्न चाहे पनि केटीले बेवास्ता गर्न थालिन् । त्यसपछि युवती बिस्तारै सम्पर्कबाट टाढिन थालिन् । आफ्नी प्रेमिकाबाटै यसरी ठगिएपछि पुरुष ठगीको आरोपमा चितवन प्रहरीमा निवेदन दिए । अहिले चितवन प्रहरीले ती युवतीमाथि ठगीको अभियोगमा मुद्दा चलाएको चितवन प्रहरी प्रवक्ता अधिकारीले बताए ।

वास्तविक नाम लुकाएर फेसबुकमार्फत पुरूषलाई आकर्षित गर्न सफल उनले आठ लाख रूपैयाँ लिएपछि पुनः अर्को नाम राखेर सोही पुरूषसँग थप पैसा मागेको प्रहरी प्रवक्ता डीएसपी अधिकारीले नारायणी अनलाइनलाई जानकारी दिए । ती युवतीले विभिन्न बहाना गर्दै घरमा दुःख भएको कारण पैसा चाहिएको बताउने गरेकी थिइन् ।

अधिवक्ता फूलमाया रानाभाटले नेपालमा केटाकेटी लिभिङ टुगेदरमा बस्ने क्रमसँगै केटा केटी दुवै ठगिने क्रम बढ्न थालेको बताइन् । सामाजिक सञ्जालको प्रयोग बढ्दै गएसँगै यो क्रम महिला वा पुरुष दुवै ठगिने घटनाहरु बढेको बताइन् । उनले भनिन्, ‘यस्ता घटनालाई प्रहरी प्रशासनले पनि गम्भिरतापूर्वक लिएको छैन । सामान्य सहमति गराएर छाड्ने गरेको छ । प्रेमको नाममा नाटक गरेर ठगिने घटना समाजमा धमिराजस्तै फैलिँदै गएको छ ।’ उनले आजभोलि युवायुवती मेहनत नगरी सजिलोसँग पैसा कमाउन यस्ता अनैतिक क्रियाकलापमा लाग्ने गरेको बताइन् । उनले यस्ता घटनालाई समाजमा हतोत्साही गर्दै जानुपर्ने बताइन् । चितवन प्रहरीले ठगी गर्ने नयाँ प्रवृत्ति चितवनमा बढ्न थालेको भन्दै साइबर क्राइमबारे सचेततामूलक कार्यक्रम गराउँदै आएको छ । चितवन जिल्ला अदालतका अनुसार अहिले सबैभन्दा धेरै दर्ता भएका मुद्दा पारपाचुकेकै रहेका छन् । सामाजिक सञ्जालबाट सजिलै प्रेममा परेर विवाह गर्ने र स्वार्थ पूरा गरेपछि वा अन्य कुनै सामान्य कारण देखाउँदै सजिलै टाढिने क्रम बढ्न थालेको छ । नारायणी अनलाईन

Write your Comment