आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024 Search
FLASH NEWS

युवामैत्री स्थानीय शासन प्रवर्द्धनका लागि माडी नगरपालिकाका सरोकारवालाहरु प्रतिबद्ध

    प्रकाशित २०७९ अषाढ १६, बिहिबार (१ साल अघि)


चितवन। राष्ट्रिय युवा नीतिले १६ देखि ४० बर्ष उमेर समुहका नागरिकहरुलाई युवाको परिभाषामा समेटेको छ । युवाहरु उर्जावान, सक्षम र सृजनशिल उमेर समुहमा रहेका छन् । राष्ट्रको समग्र विकास, परिवर्तन र प्रगतिमा युवाहरुको सकारात्मक र रचनात्मक योगदान रहेको छ, रहन्छ र रहनु पर्दछ ।

नेपालको अन्तराष्ट्रिय प्रतिवद्धताहरु, दिगो विकासका लक्ष्यहरु (२०१६-२०३०), नेपालको संविधान, पन्ध्रौ योजना, राष्ट्रिय युवा नीति २०७२, राष्ट्रिय युवा परिषद् ऐन २०७२, राष्ट्रिय युवा परिषद् नियमावली २०७३, युथ भिजन २०२५ तथा दश वर्षे रणनीतिक योजना लगायतका विभिन्न प्रतिवद्धता र दस्तावेजहरुमा युवा अधिकार र उनीहरुको समग्र विकासका विभिन्न प्रतिवद्धताहरु व्यक्त गरिएका छन् । यसरी राष्ट्रिय तथा अन्तरराष्ट्रिय तहमा प्रतिविम्वित भएका प्रतिवद्धता तथा व्यवस्थाहरुको प्रभावकारी कार्यान्वयनका लागि युवाको अर्थपुर्ण सहभागिता र उनीहरुको समग्र विकासका लागि स्थानीय सरकार संचालन ऐन २०७४ ले स्थानीय सरकारलाई दिएको काम, कर्तव्य र अधिकारको कार्यान्वयन गर्दै युवामैत्री स्थानीय शासन को अवलम्वन र कार्यान्वयन आवश्यक छ ।
नेपालको संविधानमा रहेका मौलिक हकहरु तथा विभिन्न कानुनी व्यवस्थाहरु र युथ भिजन २०२५ तथा दश वर्षे रणनीतिक योजनाका पाँच स्तम्भहरु गुणस्तरिय र व्यासायिक शिक्षा, रोजगारी, उद्यमशिलता र सिप विकास, स्वास्थ्य र सामाजिक सुरक्षा, युवा परिचालन, सहभागिता र नेतृत्व विकास तथा खेलकुद र मनोरंजन शिर्षकहरु अन्तर्गत तय गरिएका लक्ष्यहरुको प्राप्ति गर्दै देशैभरीका स्थानीय तहहरुलाई युवामैत्री स्थानीय शासनका रुपमा विकास गर्ने लक्ष्य युवामैत्री स्थानीय शासन अभियानको रहेको छ ।

युवामैत्री शासन युवाको अधिकारलाई सुनिश्चित गर्न स्थानीय तहदेखि नै शासन प्रणालीमा जोड्दै, उनीहरुको सक्रिय सहभागिता, संलग्नता र सहकार्यमा संचालन गरिने शासन प्रणाली हो । युवामैत्री स्थानीय शासनमा ७ रणनीति, ४६ कार्यनीति, ४५ सुचकहरु र अवलम्वन, कार्यान्वय र घोषणाका लागि ४ चरणहरु प्रस्ताव गरिएको छ ।
स्थानीय आवश्यकता अनुसार रणनीति, कार्यनीति, सुचक र चरणहरुको स्थानीयकरण गर्न सकिन्छ । संघिय संरचनाको अभ्याससँगै स्थानीय सरकारका रुपमा क्रियाशिल ७५३ वटै स्थानीय तहहरुमा युवामैत्री स्थानीय शासनलाई अवलम्वन गरी युवासँग सम्वन्धित साझा सवालहरुको सम्वोधन, नीति निर्माण र कार्यान्वयनमा युवाको संलग्नता, युवाहरुको अर्थपुर्ण सहभागिता, नेतृत्व विकास, विशेष वर्ग तथा समुदायका युवाहरुका प्राथमिकताका सवालहरुको सम्वोधन लगायतका सवालहरुको सम्वोधन गरी युवाहरुको नेतृत्व र साझा सवालहरुको सम्वोधनका लागि युवामैत्री स्थानीय शासनको अवलम्वन, कार्यान्वयन र घोषणाले सहयोग पुग्दछ ।

युवामैत्री स्थानीय शासनको दिगोपनाका लागि संघ तथा प्रदेशबाट ससर्त र निशर्त बजेटको सुनिश्चितता, सबै स्थानीय तहहरुको वार्षिक नीति, कार्यक्रम र बजेटमा व्यवस्था र विकाश साझेदार, गैरसरकारी संस्था र सरोकारवालाहरुबाट समन्वय र सहकार्यता हुनु आवश्यक छ । युवाहरुकै साझेदारी र नेतृत्वमा स्थानीय तहहरुलाई युवामैत्री स्थानीय तहका रुपमा विकास गर्न सकिन्छ । समन्वय, सहकार्य र साझेदारीको सुनिश्चित गरी युवामैत्री स्थानीय शासनको अभ्यासमार्फत युवाको नेतृत्व र साझेदारीमा देशको समग्र विकास गर्नुपर्दछ ।

युवामैत्री स्थानीय शासनको आवश्यकता र यसले समग्र विकासमा पार्ने सकारात्मक प्रभावलाई मध्यनजर गर्दै राष्ट्रिय युवा परिषद् , जागृति बाल तथा युवा सरोकार नेपाल, युएनडिपि र युनिसेफ नेपालले संयुक्त रुपमा युवामैत्री स्थानीय शासन अभियानलाई ठोस रुप दिन साझेदारी गरिरहेका छन् । यस अन्तर्गत विभिन्न्न सरोकारवालाहरुको संलग्नतामा युवामैत्री स्थानीय शासन दिग्दर्शन, २०७५ को परिमार्जन र युवामैत्री स्थानीय शासन तालिम निर्देशिका तयार गरिएको छ ।

युवामैत्री स्थानीय शासनको प्रवर्धनको पहिलो चरणमा देशका सातै प्रदेशका एकएक स्थानीय तहको छनौट गरि सम्वन्धित स्थानीय तहका जनप्रतिनिधी, कर्मचारी तथा प्रमुख सरोकारवालाहरुको युवामैत्री स्थानीय शासनका सम्वन्धमा क्षमता अभिवृद्धि कार्यक्रमको शुरुवात गरिएको छ । यसै क्रममा विभिन्न मापदण्डहरुका आधारमा युवामैत्री स्थानीय शासनको पर्वद्धनका लागि बागमती प्रदेशबाट चितवनको माडी नगरपालिका छनौट भएको छ ।

यसै क्रममा अनुरुप २०७९ असार १४ देखि १६ गतेसम्म माडी नगरपालिकाका सरोकारवालाहरुका लागि सहभागीतामा ३ दिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । युवामैत्री स्थानीय शासन कार्यक्रममा नगरपालिका प्रमुख तारा कुमारी काजी महतो, उपप्रमुख खेम प्रसाद महतो, वडा अध्यक्ष दिपेन्द्र राज पौडेल, कार्यपालिका सदस्य ऋचा सुनार, शाखा प्रमुखहरु तथा कर्मचारीहरु भोजराज खनाल, विवेक खनाल, सुनिता खतिवडा, किरण प्रसाद उपाध्यय, नागरिक समाजका प्रतिनिधी, संचार, युवा संघ संस्थाका प्रतिनिधीहरु तथा युवा स्वयंसेवक तथा अभियानकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको अन्त्यमा माडी नगरपालिकालाई युवामैत्री स्थानीय तहका रुपमा अवलम्वन, कार्यान्वयन र घोषणा गर्नका लागि कार्ययोजना तयार गरिएको छ ।
युवामैत्री स्थानीय तह क्षमता अभिवृद्धि कार्यक्रमको सहजीकरण विष्णु खत्री, तिलोत्तम पौडेल, चन्द्रा थापा, मिना शर्मा, दिपक शर्माले गर्नुभएको थियो । कार्यक्रममा युएनडिपिबाट विनिता कार्की र युनिसेफ नेपालबाट माचिकाको समेत उपस्थिति रहेको थियो ।

Write your Comment