आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

किसान महासंघ नवलपुरद्वारा माग सम्बोधन नभएको भन्दै ज्ञापनपत्र पेस, तेश्रो चरणको आन्दोलन गर्ने चेतावनी

    प्रकाशित २०७९ अषाढ १२, आईतबार (२ साल अघि)


ज्ञानु पंगेनी,कावासोती । अखिल नेपाल किसान महासंघ नवलपुरले आफ्ना मागहरू सम्बोधन नभएको भन्दै आइतबार जिल्ला प्रशासन कार्यालय नवलपरासी पूर्व ( नवलपुर ) मार्फत प्रधानमन्त्री समक्ष ध्यानाकर्षण गराएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसाललाई ज्ञापनपत्र बुझाउँदै अब पनि आफ्ना मागहरू सम्बोधन नगरिए तेश्रो चरणको आन्दोलन गर्ने चेतावनी दिइएको छ । महासङ्घका जिल्ला अध्यक्ष पूर्ण प्रसाद सुवेदीले ज्ञापनपत्र पढेर सुनाउनुका साथै सहायक प्रमुख जिल्ला अधिकारी भुसाललाई बुझाउनुभएको थियो । ज्ञापन पत्रमा अव्यवस्थित रुपमा बसोबास गरेका किसानहरूलाई निजको जोतभोगको आधारमा अविलम्व जग्गा धनी प्रमाण पुर्जा उपलब्ध गराउन, मूल्य वृद्धि फिर्ता रासायनिक मल, बिउ बिजन सर्व सुलभ मूल्यमा समयमै उपलब्ध गराउन । बिग्रेका भत्केका सिँचाइका संयन्त्रहरू चुस्त दुरुस्त पार्न, विषादीयुक्त तरकारी फलफूल आदि वस्तुहरूको आयातमा तत्काल प्रतिबन्ध लगाउन, कृषि उद्यमीहरू र किसानलाई लक्षित गरि कृषि विकास बैंक मार्फत सहुलियत दरमा कृषि ऋण उपलब्ध गराउन ,लक्षित किसानलाई मात्र कृषि ऋण उपलब्ध गराई सम्बन्धित निकायबाट नियमित अनुगमन गर्न, प्रत्येक पशुपालक कृषि फर्म र किसानका लागि भेटनरी प्राविधिकको व्यवस्था गरि समस्या पहिचान गर्दै समस्याको निराकरण गर्न, कृषि उपजहरूको बजारको उचित व्यवस्थापन गर्न, पालिकाका प्रत्येक वडाहरूमा उत्पादन क्षमताको आधारमा कोल्ड स्टोरको व्यवस्थापन र कृषक परिचय पत्र तथा कृषक पेन्सन योजना तत्काल लागू गर्न माग गरिएको छ । यो समस्याको समाधान गर्न यस अघि महासङ्घले जेठ २० गते प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारका सरोकार वाला पक्ष प्रधानमन्त्रीको कार्यालय, कृषि मन्त्रालय, साल्ट टेडिङ्ग कर्पोरेसन र कृषि सामाग्री लिमिटेडलाई ध्यानाकर्षण गराएको थियो । तर , उक्त मागहरू समाधानमा कुनै पहल नभएको महासङ्घको गुनासो छ ।

दोश्रो चरणका आन्दोलन अन्तरगत आज प्रदेशका मुख्य मन्त्रीको कार्यालयमा धर्ना , जिल्ला प्रशासन कार्यालय नवलपुरमा धर्ना तथा विरोध प्रदर्शन गरिएको छ । आफ्ना मागहरू अब पनि सम्बोधन नगरिए तेश्रो चरणको आन्दोलन गर्न महासंघ बाध्य हुने अध्यक्ष सुवेदीले बताउनुभयो । तेश्रो चरण अन्तरगत मल आपूर्ति गर्ने सरकारका निकायहरू साल्ट टेडिङ्ग कर्पोरेसन र कृषि सामाग्रीका डिपोहरूमा तालाबन्दी गर्ने र स्थानीय समस्याहरू उठाउँदै सचेतनात्मक ढंगले आन्दोलन गर्ने जनाईएको छ ।

कार्यक्रममा महासङ्घका जिल्लका पदाधिकारीहरू उपाध्यक्ष यदुनाथ ढकाल , सचिव दीपक बस्याल , सहसचिव भूपराज चापागाईं , सदस्यहरू हिरा बस्याल पार्वती भण्डारी तथा विशेष उपस्थितमा अखिल नेपाल किसान महासंघ पशुपालक विभाग केन्द्रिय सदस्य रुक्मागत भुर्तेल , अखिल नेपाल किसान महासंघ राष्ट्रिय समितिका दुर्गा प्रसाद भुर्तेल , बिन्दा गैरे लगायत रहनुभएको थियो ।

Write your Comment