आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024 Search
FLASH NEWS

मध्यबिन्दु नगरपालिकाको नीति तथा कार्यक्रम : कृषिदेखि नगर गौरवको आयोजनासम्म

    प्रकाशित २०७९ अषाढ ९, बिहिबार (१ साल अघि)


नवलपुर। नवलपरासी पूर्व नवलपुरको मध्यबिन्दु नगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सर्वसम्मत पास भएको छ । नगर प्रमुख भिमलाल अधिकारले नगरपालिकाको ११ औं नगरसभाको पहिलो बैठकमा प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रममा सर्वसम्मत पारित भएको हो ।

नगरसभाले पारित गरेको नीति तथा कार्यक्रममा कृषि देखि नगर गैरवको आयोजना सम्मलाई प्राथमिकतामा राखिएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख भिमलाल अधिकारीले मध्यविन्दु नगरपालिकाको चोरमारालाई शैक्षिक तथा प्रशासनिक केन्द्र, अरुणखोलालाई व्यापारिक केन्द्र, कोल्हुवालाई कृषि तथा पर्यटकीय केन्द्र र मध्यबिन्दु–१३ र १४ लाई इको भिले र जडिवुटी उत्पादन केन्द्रको रुपमा बिकास गर्दै नगरका सबै वडालाई समृद्ध बनाउने योजना नीति तथा कार्यक्रममा समेटिएको बताउनुभयो ।

विषयगत रुपमा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा प्रत्येक वडामा दुई दुई जना अगुवा कृषकलाई स्रोत कृषकको रुपमा तालिम प्रदान गर्ने, कृषि एम्बुलेन्स सञ्चालन, कृषि पकेटर जोन कार्यक्रम, बिउबिजनमा आत्मनिर्भर नगर निर्माणको लागि अनुदान लगायतको कार्यक्रम समेटिएको छ । नगरपालिकाले दुग्ध उत्पादक कृषकलाई दुग्धमा दिदै आएको अनुदान रकमलाई सतप्रतिशत वृद्धि गरी प्रतिलिटर २ रुपैयाँ पुर्‍याइएको छ भने उन्नत जातका पशुपालनको लागि विशेष कार्यक्रम नीति तथा कार्यक्रममा समेटिएको छ ।

नगरपालिका भित्रका सबै कृषि तथा पशु प्राविधिकहरुको प्रोफाईल तयार गरी कृषकहरुलाई पशु प्राविधिकहरुबाट घर मै पुगेर सेवा प्रदान गर्ने व्यवस्था मिलाउने नगर प्रमुख भिमलाल अधिकारीले नीति तथा कार्यक्रममा जानकारी गराउनुभयो । कृषि उत्पादनको वृद्धिको लागि सबै स्थानमा सिँचाईको सहज पहुँच पुर्‍याउने कार्यक्रम समेटिएको छ ।

नगरपालिकाको आर्थिक विकासको लागि उद्योग स्थापनाको वातावरण तयार गर्ने नगरमा सम्भाव्य लगनीका क्षेत्रको पहिचान गरी लगानीको लागि नीति क्षेत्रलाई आह्वान गर्ने कार्यक्रम समेटिएको छ । समान कामको समान ज्याला, विदेशको सिप स्वदेशमा उद्यम कार्यक्रम नीति तथा कार्यक्रममा समेटिएको छ ।

नगरपालिकाको नारायणी नदी तटीय क्षेत्र देखि राकाचुँली क्षेत्र सम्मलाई पर्यटकीय गन्तव्यको रुपमा बिकास गर्ने कार्यक्रम नीति तथा कार्यक्रममा उल्लेख रहेको छ । होमस्टे सञ्चालन, इको भिलेज, सांस्कृतिक कला केन्द्र स्थापना लगायतको कार्यक्रम नीति तथा कार्यक्रममा समेटिएको छ । मध्यवर्ती क्षेत्रमा जिप सफारी, पहाडी क्षेत्रमा पदमार्ग निर्माण गर्ने योजना नगरपालिकाको नीति तथा कार्यक्रममा रहेको छ ।

मध्यबिन्दु नगरपालिकाको समग्र शैक्षिक विकासको लागि नगर शैक्षिक सुधार कार्यक्रम लागु गर्ने, कक्षा ५ सम्म सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सबै किसिमका पाठ्यपुस्तक निशुल्क उपलब्ध गराउने कार्यक्रम शिक्षा तर्फ समावेश गरिएको छ । असल अभिभावक कार्यक्रम, घर नै पहिलो पाठशाला, मेरो गुरु दक्ष गुरु, मध्यविन्दु छात्रावृत्ति कार्यक्रम, विद्यावारिधि गर्ने नगरबासीलाई ५० हजार रुपैया अध्ययन अनुदान, शिक्षक, अभिभावक र विद्यार्थीलाई स्वदेश तथा विदेश शिक्षण भ्रमण लगायतका कार्यक्रम नीति तथा कार्यक्रममा समेटिएको छ ।

स्वास्थ्य तर्फ चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर अस्पतालको रुपमा विकास गर्ने, घरमा सुन्य सुत्केरी कार्यक्रम, माझी मुसहर परिवारलाई नि:शुल्क स्वास्थ्य बिमा लगायतका कार्यक्रम नीति तथा कार्यक्रममा समेटिएको छ ।

नगरपालिकाको दीर्घकालिन योजना मार्फत नगरको समग्र विकासको लागि नगर गौरवको आयोजना, वडा गौरवको आयोजना, नगर केन्द्र देखि वडा केन्द्र सम्म पक्की सडक लगायतका कार्यक्रम पूर्वाधार तर्फ समेटिएको छ भने मध्यबिन्दु ७, ८ र १० मा व्यवस्थित शहर र अन्य वडामा मोडल गाउँको अवधारणा नीति तथा कार्यक्रममा आएको छ । यस्तै गिरुवारी र अरुणखोलामा तटबन्ध निर्माण गरी करिडोर निर्माण गर्ने नीति तथा कार्यक्रममा उल्लेख रहेको छ ।

महिला तथा दलित जनजाति समुदायमा रहेको सिपलाई उद्यमसंग जोड्ने कार्यक्रम सञ्चालन गर्ने योजना नीति तथा कार्यक्रममा उल्लेख रहेको छ । महिला सिप बिकास, अपाङ्गता भएका व्यक्तिहरुको लागि विशेष कार्यक्रम, जेष्ठ नागरिक सम्मान कार्यक्रम, बालमैत्री नगर निर्माण, दलित उत्थान कार्यक्रम, जनजाति विशेष कार्यक्रम नीति तथा कार्यक्रममा समेटिएको छ ।

युवा स्वरोजगार, युवा स्वयम् सेवक गठन कार्यक्रम समेटिएको छ भने नगरभित्रका विभिन्न रंगशालाको स्तरउन्नति, नियमित खेल सञ्चालन नीति तथा कार्यक्रममा आएको छ । विपद् व्यवस्थापनमा युवा स्वयम् सेवक परिचालन, विपद् व्यवस्थापन कोष स्थापना, दीर्घकालिन तटबन्धको लागि प्रदेश र संघीय सरकारसंग समन्वय कार्यक्रम नीति तथा कार्यक्रममा आएको छ ।

एक वन एक वन वाटिका, सामुदायिक वन विकासको साझेदार, गरिबी निवारण, फोहर व्यवस्थापन, खानेपानीको सुनिश्चितता, भूमि सम्बन्धि समस्या सामाधान लगायतका विषय नीति तथा कार्यक्रममा समेटिएको छ ।
यस अगाडी नगर सभाको खुल्ला सत्र प्रतिनिधि सभा सदस्य तिलक महतको प्रमुख आतिथ्यतामा भएको थियो । प्रमुख अतिथि महतले नगरपालिका स्थानीय सरकार भएको कारण स्थानीय समस्याहरुलाई सम्बोधन हुने गरी नीति तथा कार्यक्रम र बजेट पेश गर्न सुझाव दिनुभयो ।

उहाँले जननिर्वाचित जनप्रतिनिधिहरुसंग जनताका अपेक्षा धेरै हुने भन्दै त्यसलाई सम्बोधन गर्ने र जनताको सेवकको रुपमा काम गर्न सबै जनप्रतिनिधिलाई शुभकामना दिनुभयो ।

पूर्व प्रतिनिधि सभा सदस्य चन्द्रमणी खरालले विगतको संरचनाबाट नयाँ संरचनामा आउदा केही नयाँपन भएपनि स्थानीय तहले पाएको अधिकारको पूर्ण उपभोग गर्दै आम जनतालाई सेवा दिनुपर्ने बताउनुभयो । स्रोतको समुचित प्रयोग मार्फत दिगो विकासको लक्ष्य प्राप्ति हुन सक्ने उहाँले बताउनुभयो ।

गण्डकी प्रदेश सभा सदस्य जनकलाल श्रेष्ठले पहिलो नीति तथा कार्यक्रम र बजेट भएको कारण के बन्छ कस्तो हुन्छ भन्ने कुरामा केही अन्यौलता भएपनि उठेका विषयलाई जनताको हितमा हुने गरी सम्बोधन गर्न र जनताको सेवामा पुग्ने गरी बजेट विनीयोजन गर्न सुझाव दिनुभयो ।

कार्यक्रममा नगर उपप्रमुख पूर्णकला चौधरीे नगरपालिकाको आगामी बजेट मार्फत जनताको अपेक्षा पुरा गर्ने तर्फ आफुहरु क्रियाशिल रहेका बताउनुभयो ।

मध्यबिन्दु नगरपालिकाको दोस्रो बैठक असार १० गते बस्ने छ । सो बैठकमा नगरपालिकाको बजेट प्रस्तुत हुने प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनालले बताउनुभयो ।

Write your Comment