आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024 Search
FLASH NEWS

नवलपुरका गणित शिक्षकलाई दिईएको २ दिने प्रशिक्षण सम्पन्न

    प्रकाशित २०७९ जेष्ठ २२, आईतबार (१ साल अघि)


प्रिय धन , चोरमारा। पूर्वी नवलपरासी नवलपुरमा गणित शिक्षकहरुलाई प्रशिक्षण प्रदान गरिएको छ । शुक्रबारबाट सुरु भएको २ दिवसीय तालिममा शनिबार आधारभूत तहका शिक्षकलाई प्रशिक्षण दिईएको इम्बोक्स नवलपुरका सचिव रेशम कोइरालाले जानकारी दिनुभयो । शुक्रबार मावि तहका शिक्षकलाई प्रशिक्षण दिईएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहनुभएका इम्बोक्स नवलपरासीका पूर्व अध्यक्ष चन्द्रदेव तिवारीले आफुले गणित विषय अध्यापन गर्दा कालोपाटी र चक मात्र शैक्षिक सामाग्री रहेको स्मरण गर्दै अहिले परिवर्तित पाठ्यक्रमसँगै सिकाईका प्रक्रिया समेत बदलिएको बताउनुभयो । ठट्यौलो पारामा उहाँले भन्नुभयो ” हामी बुढाहरुलाई प्रविधि सिक्न र सिकाउन गाह्रो हुने रहेछ । ”
तिवारीले अहिलेको समय विद्यार्थीको परीक्षा नभई शिक्षकको परीक्षा भएको बताउनुभयो ।

पछिल्लो समय गणित विषय र विद्यार्थीबीचको दुरी टाढा हुँदै गएको र गणित विषयलाई व्यवहारिक बनाऊनका लागि तालिमको आयोजना गरिएको गणित शिक्षा परिषद नवलपुरका अध्यक्ष होमनाथ न्यौपानेले बताउनुभयो ।कार्यक्रममा बोल्नुहुँदै न्यौपानेले गणित शिक्षकहरुले धेरै मेहनत गर्नुपरे पनि उपलब्धि कम आउने भएकाले मन खुम्च्याउनु पर्ने परिस्थिति रहेको औल्याउनुभयो ।

यस्तै कार्यक्रममा मुख्य प्रशिक्षकका रुपमा रहनुभएका वेदान्त पब्लिकेशनबाट प्रकाशनमा आएको गणित विषय किताब लेखक हुकुमप्रसाद दहालले अबको गणित अमूर्तबाट मूर्त हुनुपर्ने र सोही अनुसार पाठ्यक्रम तथा प्रश्नावलीको ढाँचा परिवर्तन भएको बताउनुभयो । लेखक दहालले पहिले शिक्षण पेशा अन्तिम विकल्पको रुपमा रहे जस्तो देखिए पनि अहिले सम्मानित पेशाको रुपमा स्थापित हुँदै आएको बताउनुभयो । गणित विषयलाई अब सामाजिकीकरण गरिनुपर्ने भन्दै उहाँले अबको प्रश्नपत्र निर्माण समेत परम्परागत नहुने बताउनुभयो । दहालले अब आधारभूत तहमा जम्मा १२ वटा प्रश्नको ३३ वटा उप प्रश्न रहने र पूर्णांक ५० अंकको हुने पाठ्यक्रम आएको स्मरण गर्दै अब प्रश्न निर्माणमा समेत ध्यान दिन आग्रह गर्नुभयो ।


कार्यक्रममा इम्बोक्सका केन्द्रिय उपाध्यक्ष विक्रम झा , मन्टेश्वरीका राष्ट्रिय प्रशिक्षक तथा इम्बोक्स नवलपुरका पूर्व सचिव दिपकनाथ घिमिरे , इम्बोक्स नवलपुरमा आबद्ध विभिन्न विद्यालयका करिब १२० जना शिक्षकको सहभागिता रहेको थियो ।

प्रशिक्षणमा सहभागी शिक्षकहरुले तालिमको समय छोटो भएको भन्दै आयोजकलाई अर्को प्रशिक्षणात्मक कार्यक्रम आयोजना गर्न माग गर्दै इम्बोक्सलाई धन्यवाद दिएका थिए । इम्बोक्स नवलपुरका सचिव रेशम कोइरालाको संचालनमा भएको कार्यक्रमको अध्यक्षता इम्बोक्स नवलपुरका अध्यक्ष शिवप्रसाद देवकोटाले गर्नु भएको थियो भने प्रमुख अतिथिका रुपमा इम्बोक्स नवलपरासीका पूर्व अध्यक्ष चन्द्रदेव तिवारी रहनुभएको थियो ।

Write your Comment