आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024 Search
FLASH NEWS

नगरको प्राथमिकताको क्षेत्र बालबालिका पनि हो : नगर प्रमुख भुसाल

    प्रकाशित २०७९ जेष्ठ २१, शनिबार (१ साल अघि)


कावासोती। नगर भित्रका सबै बालबालिकाको अभिभावकको रूपमा नगरपालिका रहेकोले नगरको प्राथमिकतामा बालबालिका रहेको कावासोती नगरपालिकाका नगर प्रमुख विष्णु प्रसाद भुसालले बताउनुभयो।आगामी वर्ष २०७९/०८० को लागि योजना र नीति तथा कार्यक्रममा बालबालिकाका समावेश गर्नुपर्ने बिषयमा छलफल गर्न आयोजित नगर बाल भेलामा सो कुरा उहाँले बताउनु भएको हो ।

नगर जिल्लाको सदरमुकाममा रहेको र सबै हिसाबले संभावना रहेको नगर भएकोले बालबालिकाको लागि अनुकुल वातावरण निर्माणसँगै सबैको प्यारो नगर निर्माणमा आफ्नो ध्यान रहेको उहाँले बताउनुभयो ।कावासोति नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजना रहेको सो कार्यक्रममा नगरका ४० जना बालबालिकाहरुको सहभागिता रहेको थियो ।


बाल भेलाले नगर भित्रका बालबालिकाका सवालहरुको पहिचान सँगै सो सवालको समाधानका लागि गर्नुपर्ने विविध बिषयमा छलफल गरेको थियो।नगर भित्रका मुख्य सवालहरुमा बालविवाह, बालश्रम, विद्यालय बिचैमा छोडने, बाल उद्यान नरहेको, खेल मैदानमा किशोरीलाई अवसर कम दिनु, हिंसा र अन्य दुर्व्यवहारबाट सुरक्षा, नेतृत्व विकास, पुर्वाधार बालमैत्री र किशोरीमैत्री नहुनु, सेनेटरी प्याडको गुणस्तर र बिसर्जनमा समस्या लगायत अन्य विविध सवालहरु प्रस्तुत गरेका थिए।


सवालको पहिचान सँगै समाधानका उपायहरु समेत समुह कार्य गरि आगामी योजनामा समावेशको लागि बालबालिकाहरुले तयार गरेको कार्यक्रमका सहजकर्ता बालमैत्री अभियन्ता दिपक शर्माले बताउनुभयो ।

सो कार्यक्रमको उद्घाटन समारोहमा प्रमुख प्रशासकीय अधिकृत राकेश गुरुङ्ग, शिक्षा शाखा प्रमुख क्षेत्र बहादुर भण्डारी, राजन पाण्डे लगायतका अतिथिहरुले शुभकामना सहित भेलाबाट आएका विषयहरुको कार्यान्वयनमा सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नु भएको थियो ।

Write your Comment