आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

वडालाई नगरको पहिलो बालमैत्री र जेष्ठ नागरिकमैत्री वडा निर्माण गर्ने कावासोती १२ को पहिलो निर्णय

    प्रकाशित २०७९ जेष्ठ १०, मंगलबार (२ साल अघि)


दीपक शर्मा,देवचुली । नवलपुरको कावासोती १२ पिठौलीका नव निर्वाचित जनप्रतिनिधिको पद बहाली सहितको पहिलो बैठकले वडालाई नगरको पहिलो बालमैत्री र जेष्ठ नागरिक मैत्री निर्माण गर्ने ७ निर्णयहरु गरेको छ ।
कावासोती १२ का नवनिर्वाचित प्रतिनिधिहरुको पहिलो बैठकले आम मतदाताहरुलाई मतदान प्रकृयामा भाग लिएर आम निर्वाचन सफल पारेर आफुहरुलाई जिम्मेवारी प्रदान गरेकोमा धन्यवाद सहित अन्य थप ६ निर्णयहरु गरेको वडा अध्यक्ष ध्रुव खनाल ( दिपेश ) ले बताए ।
खनालका अनुसार अन्य बाँकी निर्णयहरुमा पिठौली स्वास्थ्य चौकीमा ल्यावको स्थापनाको लागि नगर र माथिल्लो सरकारसँग समन्वय गर्ने, २० जना बालबालिकाहरुलाई छात्रवृत्ति वडाबाट र ५ जना बालबालिकाहरुलाई जनप्रतिनिधिहरुबाट उपलब्ध गराउने, विभिन्न खेल सामाग्रीहरुको उपलब्धता र जिल्ला भित्र हुने खेलकुद प्रतियोगितामा वडाबाट सहभागिता गराउने, महिला लक्षित कार्यक्रमहरु सञ्चालन गरि उनीहरुको समग्र विकास र समुदायमा हुने हिंसा, दुर्व्यवहार र शोषण अन्त्यको लागि पहल गर्ने र वडा नं. १२ लाई कावासोती नगरको पहिलो बालमैत्री र जेष्ठ नागरिक मैत्री वडा निर्माणको लागि पहल गर्ने र कृषिजन्य क्रियाकलापमा लाग्ने शुल्क नि:शुल्क गर्ने निर्णय भएको बताए ।

पदभार ग्रहण पश्चात बोल्दै वडा अध्यक्ष खनालले सबै वडाबासी मतदातामा धन्यवाद दिँदै वडाबाट सेवा प्रवाहलाई चुस्त दुरुस्त राख्न र अग्रजहरुको राय सल्लाह बमोजिम सबै विकासमा सबैको अर्थपूर्ण सहभागिता हुने गरी कार्य गर्ने बताए ।

पदभार ग्रहण पूर्व निवर्तमान वडासमितिले ५ जना नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत र निवर्तमान वडा अध्यक्ष खेमप्रसाद काफ्लेले वडाको माईन्युट समेत हस्तान्तरण गरेका थिए । सो क्रममा निवर्तमान वडा अध्यक्ष खेमप्रसाद काफ्लेले आफ्नो कार्यकालमा भएका राम्रा कामहरु बाँकी रहेका कामहरुको निरन्तरताको लागि अनुरोध गर्दै जुनसुकै बेला पनि सहयोग र सहकार्यको लागि तयार रहेको बताए ।

पदबहाली र स्वागत कार्यक्रममा वडाभित्रका विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, शिक्षासेवी, समाजसेवी र अन्य सर्वसाधारणको समेत उपस्थिती रहेको थियो ।

Write your Comment