आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024 Search
FLASH NEWS

सुकुम्बासीहरुलाई निर्वाचनपछि निस्सा वितरण गर्ने गठबन्धन उम्मेदवारको साझा संकल्प

    प्रकाशित २०७९ बैशाख १५, बिहिबार (१ साल अघि)

देवचुली । देवचुलीको मेयर र उपमेयरमा उठेका गठबन्धन उम्मेदवारहरुले स्थानीय तहको निर्वाचनमा निर्वाचित भएपछि सुकुम्बासीहरुलाई निस्सा वितरण गर्ने विषयलाई प्राथमिकता दिने बताएका छन । बुधवार गठबन्धनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उम्मेदवारहरुले आफुहरु चुनाव जिते पहिलो कार्य नै पुर्जा उपलब्ध गराउने अभियानमा लाग्ने बताए ।

देवचुली नगरपालिका भित्र रहेका भूमिहिन सुकुम्बासीहरुको समस्या जटिल रहेकाले निर्वाचित पश्चात पहिलो काम हातहातमा निस्सा वितरण गर्ने रहेको बताएका थिए ।
उनीहरुले अहिलेको संविधानलाई बचाउनका लागि गठबन्धन आवश्यक रहेको समेत उल्लेख गरेका थिए । संयुक्त गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका अशोक बस्ताकोटी देवचुलीको मेयरमा र माओवादी केन्द्रका सत्यनारायण भुसाल उप–मेयर पदमा उम्मेदवारी दिएका छन् ।

कार्यक्रममा घोषणा पत्र निर्माण समितिका संयोजक विष्णु भुसालले युवाको लागि युवा उद्यमशीलता, आर्थिक विकास, कृषिमा आत्मनिर्भर, खेलकुदको विकास, सुरक्षित आवास निर्माण, खाद्यन्न उत्पादन, ट्रमा सेन्टर निर्माण, औद्योगिक क्षेत्र निर्माण जस्ता थुप्रै एजेण्डा तयार पारिएको बताउनुभयो । नेपाली काँग्रेस देवचुली नगर समितिका सभापति डिल्लीराम कडरियाको अध्यक्षतामा उम्मेदवारहरुलाई प्रशिक्षण सम्पन्न भएको हो । नगर सभापति कडरियाले देवचुलीमा गठबन्धनले संयुक्त रुपमा मिलेर वडा र नगरको विकासका लागि अघि बढेकाले जनताले साथ र सहयोग गर्नुपर्ने बताए ।
नेपाली काँग्रेसका नेता भानु सिग्देल, माओवादी केन्द्रका नेता सुर्य न्यौपाने लगायतले कार्यक्रममा बोलेका थिए । कार्यक्रमको सहजीकरण नेपाली काँग्रेस देवचुली नगर सचिव तथा वडा नं ७ का वडाध्यक्ष उम्मेदवार भूपराज पाठकले गरेका थिए ।

Write your Comment