आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

शिक्षकले छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप, जनक मा. वि. तनावग्रस्त

    प्रकाशित २०७९ बैशाख ४, आईतबार (२ साल अघि)


नवलपुर । गैँडाकोट नगरपालिका–५ मा रहेको जनक नमुना माध्यमिक विद्यालयका शिक्षकले १२ कक्षामा अध्ययनरत एक जना छात्रालाई अश्लील भिडियो देखाई यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै विद्यार्थीहरु प्रदर्शनमा उत्रिएपछि विद्यालय परिसर तनावग्रस्त बनेको छ ।

आइतबार बिहान आरोपित शिक्षक र पीडित भनिएकी छात्रासहित विद्यालयमा छलफल चलिरहेका बेला शिक्षकलाई कारबाहीको माग गर्दै विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका छन् । ती विद्यार्थीले ना २४ प ६६१५ र प्र ३०३००२ प २७७६ नम्बरको मोटरसाइकल जलाइदिएका छन् ।

विद्यालय तनावग्रस्त बनेपछि विद्यार्थीलाई घर पठाइएको छ । ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थीहरु भने आन्दोलनरत छन् । उनीहरुले प्रहरीमाथि ढुंगामुढा गर्दा ६ जना प्रहरी घाइते भएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक प्रज्वल श्रेष्ठले बताएका छन् । स्थितिलाई नियन्त्रणमा लिन केही सेल अश्रुग्यास छोडिएको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।

आन्दोलनरत विद्यार्थीहरुका अनुसार गएको चैत २८ गते बिहान विद्यालयमा कम्प्युटर विषय पढाउने शिक्षक कपिल घिमिरेले १२ कक्षामा अध्ययनरत ती छात्रालाई कम्प्युटर ल्याबमा लिएर गई अश्लील भिडियो देखाएको र यौन दुर्व्यवहार गरेका हुन् । सयौँको संख्यामा रहेका विद्यार्थीहरु नाराबाजी गर्दै प्रदर्शनमा उत्रिएका हुन् ।
विद्यालयका प्रधानाध्यापक चुडामणि कँडेलले घटनाबारे आफूले चैत ३० गतेमात्र थाहा पाएको बताए । उनले भोलिपल्ट नयाँ वर्ष भएको र शुक्रबार पनि कार्यव्यस्तताले आफूले शिक्षक र विद्यार्थीलाई छलफलका लागि बोलाउन नसकेको बताए । आइतबार विद्यालयमा भएको छलफलमा सिसिटिभीको रेकर्ड हेरिरहेको बेला अकस्मात विद्यालयका विद्यार्थीहरुबाट आगजनी र ढुंगामुढा भएको प्रधानाध्यापक कँडेलले बताए । स्थिति तनावग्रस्त रहेको भन्दै उनले थप केही बोल्न चाहेनन् ।

Write your Comment