आज:  २०८३ भाद्र ३०, मंगलबार | Tue, 15, Sep, 2026 Search
FLASH NEWS

आवाज सुन्दै डराउँछन् कारागारमा रहेका निर्दोष बालक

    प्रकाशित २०७८ फागुन २८, शनिबार (४ साल अघि)


कालिकोट । शनिबार दिउँसो आफ्नै सुरमा कारगारभित्र एक बालक खेलिरहेका थिए । भित्र केही सञ्चारकर्मी पस्ने बित्तिकै उनी झस्किए । अनि आत्तिँदै भित्र दुगुरे । आमाले पाएको जेल सजाए आफू पनि भोगिरहेका तीन वर्षीय ती बालक बाहिरी संसारसँग यसै गरी झस्किरहन्छन् ।

ज्यान मारेको सजायमा कारागारमा परेकी नरहरीनाथ गाउँपालिका लालुकी २४ बर्षिया आमा नै ती बालकको सबै संसार हुन् । एक पटक अस्पताल लैजाँदा बाटोमा मोटर र मान्छे देखेपछि छोरा अताल्लिएर रोएको उनले बताइन् । निमित्त जेलरका अनुसार १५ महिने एक बालिका र तीन वर्षकै अर्का एक बालक पनि आमासँगै कारागारमा छन् ।

कानूनमा बालबालिकालाई कसुरै गरे पनि कारागारमा राख्न नपाइने व्यवस्था छ । अझ, कसुरै नगरी कारागारमा राख्न त झनै पाइन्न । यो आफैंमा बालअधिकारको हनन् हो । अचम्म त के भने, यी नाबालकलाई जेल बाहिर पुनस्र्थापना गर्ने सुरसारसम्म राज्यको छैन ।

उल्टै, कारागार प्रशासन बच्चालाई खेलौना नपुगेकाले तर्सिने गरेको अनौठो तर्क गर्छन् । ‘सिकाईका केही सामग्री त विभिन्न संस्थाले दिएका छन्’ जिल्ला कारागार कालिकोटका निमित्त जेलर जुना बुढा भन्छिन्, ‘अब यिनको पढ्ने उमेर सुरु भयो, त्यसका लागि सहयोगको पहल गर्न अन्य दात्री निकायलाई आग्रह गरेका छौं ।’

Write your Comment