आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024 Search
FLASH NEWS

मानव अधिकार एलायन्स नवलपुरको अध्यक्षमा बाबुराम पाण्डे

    प्रकाशित २०७८ फागुन १७, मंगलबार (२ साल अघि)


नवलपुर । मानव अधिकार तथा सामाजिक न्याय मञ्च (मानव अधिकार एलायन्स) नवलपुरको अध्यक्षमा बाबुराम पाण्डे निर्वाचित हुनुभएको छ । एलायन्सको मंगलबार चोरमारामा भएको दोस्रो अधिवेशनबाट पाण्डे पुनः अध्यक्षमा निर्वाचित हुनु भएको निर्वाचन समितिका संयोजक होमनाथ पाण्डेले बताउनुभयो ।
पाण्डेको अध्यक्षतामा दुई जना मनोनित गर्ने गरी १३ सदस्य रहेको जिल्ला कमिटी गठन गरिएको हो । समितिको उपाध्यक्षमा रेखा पौडेल, सचिवमा दिपक शर्मा, कोषाध्यक्षमा नम्सु सुनारी मगर, उप सचिवमा राजु चापागाईं, सदस्यहरुमा ढुण्डिराज के.सी., हिरा बस्याल, विपुल अर्याल, दिनेश थापा, तेज प्रसाद पाण्डे र पार्वती सुनार रहनु भएको छ । कार्यसमितिमा बौदीकाली गाउँपालिका र बुलिङ्गटार गाउँपालिकाबाट एक एक जना सदस्य मनोनित हुनेछन् ।
यस्तै अधिवेशनले एलायन्सको पाँचौ राष्ट्रिय महाधिवेशनको लागि तिन जना प्रतिनिधि समेत छनोट गरेको निर्वाचन समिति संयोजक पाण्डेले बताउनुभयो । जसमा रेखा पौडेल, दिपक शर्मा र हिरा बस्याल रहनु भएको छ ।
नेकपा एमाले निकट जनवर्गिय संगठन मानव अधिकार तथा सामाजिक न्याय मञ्च (मानव अधिकार एलायन्स) मा मानव अधिकार र सामाजिक न्यायको क्षेत्रमा क्रियाशिल रहेका विभिन्न संघसंस्थाहरु सदस्य हुने व्यवस्था रहेको एलायन्सका अध्यक्ष बाबुराम पाण्डेले बताउनुभयो ।
यसअघि जिल्ला अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले नवलपुरका अध्यक्ष मुक्तिराम पाण्डेले मानव अधिकारको रक्षा र प्रत्येक नागरिकलाई मानव अधिकारको प्रत्याभूति दिलाउन एलायन्स क्रियाशिल हुन आवश्यक रहेको बताउनुभयो । संविधानले मौलिक हकको रुपमा व्यवस्था गरेका अधिकारहरुको कार्यान्वयनको अवस्था कस्तो छ ?, अधिकारबाट नागरिकहरु बञ्चीत पो भएका छन् कि ?, आम कृषक, भूमिहिन, उपभोक्ताहरुले भोग्नु परेका समस्या के के छन् ? भन्ने विषयमा एलायन्समा आवद्ध सम्पूर्ण संस्थाहरुले चासो दिने र अधिकार प्राप्तिको लागि काम गर्नुपर्ने उहाँले बताउनुभयो ।
एमाले मानव अधिकार र सामाजिक न्यायको पक्षमा सदैव गम्भीर र प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले मनमोहन नेतृत्वको सरकारमा आएको सामाजिक सुरक्षा भत्ता सहित आफ्नो गाउँ आफै बनाउ अभियान यसको उदाहरण भएको बताउनुभयो । त्यसपछि बनेको सरकारले पनि विभिन्न समय र चरणमा मानव अधिकारको क्षेत्रमा कार्य गर्दै आएको भन्दै उहाँले सबै सदस्य संस्थाहरु मार्फत पार्टी नेतृत्व र नेतृत्वको सरकारले गरेका कामहरु आम नागरिक सम्म पुर्‍याउने दायित्व सदस्यहरुमा रहेको बताउनुभयो ।
निकट भविश्यमा हुन लागेको चुनावमा निर्वाचन आचार संहिताको कार्यान्वयन र उल्लंघनको अवस्थाको बारेमा एलायन्सले पर्यवेक्षकको रुपमा अनुगमन र रिर्पोटिङ्ग गर्न समेत उहाँले अनुरोध गर्नुभयो ।
कार्यक्रमका विशिष्ठ अतिथि एमाले नवलपुरका जिल्ला सचिव भिमलाल अधिकारीले एलायन्सको कार्यक्षेत्र धेरै रहेको भन्दै यसको विषयमा बृहत छलफल र आगामी योजना निर्माण गरेर अगाडी बढ्न जिल्ला कमिटीलाई सुझाव दिनुभयो । नेकपा एमाले नवलपुरले विभिन्न जनवर्गिय संगठनहरुको परिचालनको बिषयमा ठोस योजना सहित उद्देश्य प्राप्तीको लागि कार्य गर्ने योजना सहित योजना निर्माणको चरणमा रहेको भन्दै पार्टी र सबै जनवर्गिय संगठन बीचको सम्बन्ध र कार्यएकतामा जोड दिनुभयो ।
एलायन्स नवलपुरका अध्यक्ष बाबुराम पाण्डेको अध्यक्षतामा भएको उद्घाटन शत्रमा एमाले नवलपुरका अध्यक्ष मुक्तिराम पाण्डे प्रमुख अतिथि, पार्टी जिल्ला सचिव भिमलाल अधिकारी विशिष्ठ अतिथि, पार्टी जिल्ला उपसचिव भिमलाल कण्डेल विशेष अतिथि रहनु भएको थियो । यस्तै नेकपा एमाले जिल्ला कमिटी सदस्यहरु होमनाथ पाण्डे, विद्रोही गिरी, इन्द्र क्षेत्री, सुरज कोहार, राष्ट्रिय युवा परिषद् जिल्ला अध्यक्ष हिमाल सिं ठकुरी, युवा संघ जिल्ला इञ्चार्ज दिपक शर्मा, इन्सेक नवलपुर प्रतिनिधि तिर्थराज डुम्रे लगायतको आतिथ्यता रहेको थियो ।

Write your Comment