आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024 Search
FLASH NEWS

नेपालको विजुली बेच्न निफ्राले भारतको अडानी समूहलाई भित्र्यायो

    प्रकाशित २०७८ पौष २९, बिहिबार (२ साल अघि)


काठमाडौं। पश्चिम नेपालका परियोजनाहरुबाट उत्पादित बिजुली भारत हुँदै बंगलादेशसम्म पुर्‍याउन आवश्यक पूर्वाधार(ट्रान्समिसन लाइन) निर्माणका लागि नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले भारतको सबैभन्दा ठूलो उर्जा कम्पनी अडानी ट्रान्समिसन कम्पनीसँग सम्झौता गरेको छ।

सम्झौता लगत्तै अडानी पावरका दुई वरिष्ठ अधिकारीहरुले चार दिनअघि नेपालका उच्च अधिकारीहरुसँग काठमाडौंमा भेट गरेका छन्।नेपालमा उत्पादन हुने विजुलीका लागि बाटो (ट्रान्समिसन लाइन) अडानी पावरले बनाउने र खपत बंगलादेशले गर्ने गरी प्रक्रिया अगाडि बढेको छ। जलविद्युत निर्माणमा बंगलादेशी कम्पनीले लगानी गर्नेछ।

यसका लागि निफ्रा र अडानीसँगै बंगलादेशको कम्पनीसँग पनि साझेदारी हुने पक्का भएको छ। तीन देशका तीन वटै कम्पनीले यो परियोजना अगाडि बढाउन सेयर लगानी गरेर संयुक्त कम्पनी खोल्ने छन्।

कम्पनीमा बंगलादेश र भारतको मुख्य लगानी हुने छ। निफ्राले सेयरमा थोरै लगानी गर्ने छ भने ऋण लगानी उसको प्राथमिकतामा हुने छ। नेपालमा उसले नीतिगत सहजीकरणको सम्पूर्ण कामहरु गर्ने छ। अडानीका प्रतिनिधिलेे ट्रान्समिसन लाइन निर्माणका बारेमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टसँग पनि भेटेर छलफल गरिसकेका छन्।

निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले पश्चिमका तीन वटा करिडोरमा उत्पादित बिजुलीको बजार उपलब्धताका लागि ठूलो ‘क्रस बोर्डर’ ट्रान्समिसन लाइन निर्माणको तयारी भएको बताए। उनका अनुसार त्यसैका लागि अडानीसँग सम्झौता भएको हो।

निजी क्षेत्रका कम्पनीहरुले पनि ट्रान्समिसन लाइनमा लगानी गर्ने बाटो बजेटले खोलिदिएको छ। निफ्राकै पहलमा सरकारले ठूलो ट्रान्समिसनमा निजी क्षेत्रले लगानी गर्न सक्ने ब्यवस्था गरिदिएको हो।

Write your Comment