आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024 Search
FLASH NEWS

‘प्रविधि उमेर समूहका किशोरी’ परियोजनाको बारेमा छलफल

    प्रकाशित २०७८ मंसिर २६, आईतबार (२ साल अघि)

ज्ञानु पंगेनी,कावासोती ।‘टेक्नोलोजी एज गर्ल (ट्याग) अर्थात् ‘प्रविधि उमेर समूहका किशोरी’ परियोजनाको बारेमा सरोकारवालाहरुसंग छलफल कार्यक्रम आईतबार कावासोती १६ डण्डामा भएको छ ।
अग्यौली सामुदायीक श्रोत पुस्तकालयको आयोजना तथा रिड नेपालको सहयोगमा सञ्चालित यस परियोजनाका बारेमा जानकारी दिने उदेश्यले आयोजना गरिएको छलफल कार्यक्रममा ट्याग परियोजना संयोजक रुपा भट्टराईले भए गरेका कार्यक्रमहरु , उपलब्धी , चुनौती तथा भावि कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले परियोजना अन्तरगत नेतृत्व, प्रविधि सम्बन्धि आधारभुत र एडभान्स तालिम,लैंगिक समानता तथा सामाजिक समाबेशिकरण सम्बन्धि तालिम , दोस्रो चरणको लागि २७ जना किशोरीहरुको छनौट , समुदायको आवश्यकताको पहिचान, विभिन्न संघसंसस्थामा आबद्ध व्यक्तिहरुसँग अन्तर्वार्ता , रेडियो कार्यक्रम , मनोपरामर्शकर्तासँगको अन्तरक्रिया कार्यक्रम भएको बताउनुभयो । यस्तै , कोभिड संक्रमणको समयमा राहत वितरण, शैक्षिक सामाग्री बितरण , ट्याग कशोरीहरुद्धारा समुदायमा मास्क वितरण , ट्याग सहभागीहरुको १५ दिने समिक्षा कार्यक्रम , मेन्टरद्वारा लैंगिक समानता र समाजिक समावेशीकरण तालिम , अभिभावकसंग अन्तरक्रिया कार्यक्रम , किशोरी नेतृत्व उप– समिति गठन लगातयका कार्यक्रम भएको जानकारी दिनुभयो ।
परियोजनाले किशोरीहरुमा समय व्यवस्थापन , नेतृत्व विकास , प्रविधिको सिप हासिल, विभिन्न संघसंस्थासंग समन्वय गर्ने , आवश्यकता अनुसार स्रोतको प्रयोग गर्ने , बजेट व्यवस्थापन , समुदायको आवश्यकता पहिचान गर्ने तथा सामाजिक सञ्जालको सदुपयोग गर्ने क्षमताको विकास भएको बताउनुभयो ।
यस्तै उहाँले परियोजनाका लागि पहिलो चरणमा चार लाख , ५६ हजार ३ सय ५० , दोश्रो चरणमा सात लाख , २१ हजार , ५४९ र तेश्रो चरणमा दुई लाख , ४१ हजार ६ सय रुपिँया बजेट आएको बताउनुभयो ।
छलफलका क्रममा किशोरी सहभागि भएका विद्यालयका शिक्षकहरुले ट्याग परियोजनामा आबद्ध भएका किशोरीहरुमा आत्मविश्वास बढेको बताउनुभएको थियो । कार्यक्रममा सहभागी नहुँदा आफ्नो नाम पनि भन्न डराउने किशोरीहरु अहिले मासमा नै उभिएर निर्धक्कसंग बोल्न सक्ने भएको बताउनुभएको थियो । परियोजनाले प्रविधीमा किशोरीको पहुँच वृद्धि गराउनुका साथै आत्मनिर्भर बन्नका लागि समेत भूमिका निर्वाह गरेको अन्य सहभागी सरोकारवालाहरुले बताउनुभयो ।
अग्यौली सामुदायीक श्रोत पुस्तकालयका अध्यक्ष सूर्य पाण्डेको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा कावासोती नगरपालिका महिला ,बालबालिका तथा जेष्ठ नागरिक शाखाकी महिला विकास अधिकृत शुसिला तिमिल्सीना , वडा नं १६ का वडा सदस्य आनन्द श्रेष्ठ , पुस्तकालयका सचिव बद्रीनाथ नेपाल , क्रियाशील पत्रकार महिला नवलपुर अध्यक्ष ज्ञानु पंगेनी , लिला भण्डारी लगायतका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै अग्यौली सामुदायीक श्रोत पुस्तकालयका अध्यक्ष पाण्डेले पहिचो चरण अन्तरगत ५० जना किशोरीहरुलाई १७ हप्तासम्म दैनिक जिवनमा आवश्यक पर्ने कम्युटर सम्बन्धि ज्ञान र शिप सिकाईएको बताउनुभयो । विषेश गरि किशोरीहरुलाई सुचना प्रविधिको पहुँचमा वृद्धि गर्दै यसको सही प्रयोगबाट हुने सकारात्मक फाईदा र यसलाई प्रयोग गर्ने नाममा दुरुपयोग बढ्दा जीवनमा हुन सक्ने नकारात्मक बेफाइदाका बारेमा तालिम मार्फत् जानकारी दिदै सजग र सचेत बनाएर उनीहरुका माध्यमबाट फेरी समुदायमा यी कुराको चेतना अभिबृद्धि गर्ने काम गरिएको बताउनुभयो ।
अग्यौली सहित देशभरका १० वटा पुस्तकालयमा सञ्चालन गरिएको यस परियोजनाले किशोरीहरुको समग्र विकासमा टेवा पुर्‍याउने लक्ष्य लिएको उहाँले बताउनुभयो । कार्यक्रममा मदन गिरीले सहजीकरण गर्नुभएको थियो ।

Write your Comment