आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024 Search
FLASH NEWS

वडाध्यक्ष कप फुटबल प्रतियोगिता :अभिषेक चर्च रजहर र फारम खेलकुद समिती विजयी

    प्रकाशित २०७८ कार्तिक ८, सोमबार (२ साल अघि)

राजु चापागाई, देवचुली । देवचुलीमा संचालित दोस्रो वडाध्यक्ष कप फुटबल प्रतियोगितामा सोमबार अभिषेक चर्च रजहर र फारम खेलकुद समिती विजयी हुँदै तेस्रो चरणमा प्रवेश गरेका छन् ।

देवचुली वडा नम्बर- ५ को सहयोगमा समाज सुरक्षा क्लबको आयोजनामा कदमपुरमा रहेको देवीस्थान मन्दिर पछाडीको खेल मैदानमा संचालित प्रतियोगिताको केउरानी र अभिषेक चर्च रजहरबीच भएको पहिलो खेलमा अभिषेक चर्च रजहर ३-० गोल अन्तरले विजयी भएको छ । खेलमा अभिषेक चर्च रजहरबाट राजकुमार भुसालले २ गोल र सुकलाल तामाङले १ गोल गरेका थिए ।
त्यस्तै फारम खेलकुद समिती र प्रगतिकला मन्दिर युवा क्लबबीच भएको दोस्रो खेलको निर्धारित समयमा दुवै टिमबाट २-२ को बराबर गोल हुँदै ट्राईबेकरमा फारम खेलकुद समिती ५-४ गोल अन्तरले विजयी भएको छ । निर्धारित समयको खेलमा फारम खेलकुद समितीका तर्फबाट सुरेश गोडामी र रोशन क्षेत्रीले १/१ गोल गरेका थिए भने प्रगतिकला मन्दिर युवा क्लबका तर्फबाट सुमन आले र समीर श्रेष्ठले १/१ गोल गरेका थिए ।

नवलपुर र चितवन जिल्लाका २६ टिमहरुको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद रु ५० हजार, प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गर्नेछ भने द्वितीय टिमले नगद रु २५ हजार, प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गर्नेछ । त्यस्तै खेलमा सर्वोत्कृष्ट गोलरक्षक, सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा मंगलबारको खेल भेडाबारी र सेन्ट्रल कलेज भरतपुर, बरटाँडी र चोरमारा साथै सारदानगर र शान्तिदिप युवा क्लबबीच हुने आयोजक क्लबका सफल लामिछानेले बताए ।

Write your Comment